पत्रपत्रिकामा देश : नेकपाको बन्धक बन्यो संसद

विराटनगर १६ पुस । सत्तासीन नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले सभामुख चयन गर्न नसकेपछि संसद बन्धक बनेको छ ।

अन्नपूर्ण पोष्टमा छापिएको खबरमा सभामुख कसलाई बनाउने भन्ने विषयमा प्रधानमन्त्री एंव नेकपा अध्यक्ष केपी ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच सहमति नजुटेपछि १० दिनलाई संसद स्थगन गरिएको छ ।

सभामुख कस्लाई बनाउने भन्ने विषयमा नेकपामा तीव्र विवाद छ । पूर्व एमालेकै नेताहरुले पनि साथ दिएपछि अध्यक्ष दाहाल अर्का अध्यक्ष ओलीसँग सभामुख पूर्व माओवादीहरुबाट हुनु पर्ने अडान राखिरहेका छन् ।

सभामुखको विषयमा मंगलबार ओली र दाहालबीच व्यक्तिमै केन्द्रीत भएर छलफल भएको थियो । प्रधानमन्त्री ओलीले पूर्वसभामुख सुवासचन्द्र नेम्बाङलाई सभामुख बनाउन प्रस्ताव गरेका थिए तर अर्का अध्यक्ष दाहालले इन्कार गरेका छन् ।


२५ हजार रुपैयाँभन्दा बढीको सरकारी खरिद गर्दा बिल वेबसाइटमा राख्ने व्यवस्था बन्द गरिएको समाचार नयाँ पत्रिकाले छापेको छ ।

मुख्यपृष्ठमा छापिएको खबरमा तत्कालीन प्रधानमन्त्री सुशिल कोइरालाले सुरु गरेको २५ हजार रुपैयाँमाथिको सरकारी बिल सार्वजनिक गर्ने व्यवस्था वर्तमान सरकारले बन्द गरेको छ ।

मन्त्रालयहरुले वेबसाइटबाट सो प्रणाली नै हटाएका छन् । २५ हजार रुपैयाँ माथिको खरिद गर्दा ७२ घण्टा भित्र बिल वेबसाइटमा प्रकाशन गर्नु पर्ने निर्णयलाई हटाइएको हो ।

‘गुटगत स्वार्थले कांग्रेसमा कलह’ शिर्षकमा नागरिक दैनिकमा मुख्य समाचार छ । प्रमुख प्रतिपक्षी कांग्रेसको आन्तरिक कलह झन झन बढ्न थालेको छ ।

पार्टीका सबै नेताहरुको ध्यान संगठन भन्दा १४ औँ महाधिवेशनबाट कसरी नेतृत्वमा पुग्ने भन्नेमा केन्द्रीत हुँदा समस्या बढेको हो ।

राष्ट्रिय सभा सदस्य निर्वाचन र सभामुख निर्वाचनका विषयमा छलफल गर्न सभापति शेरबहादुर देउवाले बिहीबारका लागि बोलाएको बैठकमा असन्तुष्ट पक्षले मंगलबार भेला गरी बैठकमा सहभागी नहुने निर्णय गरे ।

पार्टी कार्यालय सानेपामै भएको भेलाले एकपक्षीय ढंगबाट सार्वजनिक गरिएको १४ महाधिवेशन कार्यतालिका नसच्याएसम्म सभापतिसँगको छलफलमा नबस्ने असन्तुष्टहरुको अडान छ ।

नयाँ पत्रिकामा चिनी उद्योगले उखुको मूल्यमात्र हैन, किसानका नाममा आएको अनुदानपनि बीचमै खाइदिएको समाचार मुख्य समाचार बनाएर छापेको छ ।

सरकारले उखु किसालाई प्रतिक्विन्टल ६५ रुपैयाँ २८ पैसा अनुदान दिने भएपनि अनुदान चिनी उद्योगीमार्फत बाँढ्ने हुँदा उखु किनेको भुक्तानी नदिएका उद्योगीले अनुदानको रकम पनि हिनामिना गरेका हुन् ।

Loading...