पत्रपत्रिकामा प्रदेश : गाउँपालिकाको गाडीमा चल्ला ढुवानी

विराटनगर १६ पुस । प्रदेश नम्बर १ मा स्थानीय तहका जनप्रतिनिधिहरुले सरकारी सवारी साधनको दुरुपयोग गर्ने क्रम बढेको छ ।

घरको काम र व्यापारको काममा समेत सरकारी गाडी प्रयोग गर्ने क्रम बढेको हो ।

संखुवासभाको सभापोखरी गाउँपालिका १ धुपू बजारमा स्थानीयले सोमबार साँझ सेतो नम्बर प्लेटको स्कारपियो रोके । सोही गाउँपालिकाको स्कारपियोमा पटक पटक व्यापारिक प्रयोजनको लागि ढुवानी भइरहेको पाएपछि उनीहरुले रोकेका थिए ।

को १ झ ५९२ नम्बरको स्कारपियोमा सभापोखरीको केही सरकारी कागजात र ३ काटूर्न चल्ला तथा भुस राखिएको थियो । चालक कमलध्वज लिम्बुसँग गाउँलेले सोधखोज गरे । सो चल्ला र भूस व्यापारिक प्रयोजनका लागि गाउँपालिकाको केन्द्र बाह्रबीसे बजार लगिँदै रहेछ ।

कान्तिपुर दैनिकले छापेको खबरमा गाँउपालिकाका अध्यक्ष रत्नबहादुर सुब्बाले निजी प्रयोजनका लागि सो गाडी लामो समयदेखि प्रयोग गर्दै आएको उल्लेख छ । प्रहरी चौकीमा मंगलबार आएर अध्यक्ष सुब्बाले अब सरकारी गाडीको दुरुपयोग नगर्ने प्रतिबद्धता जनाएका छन् ।

राष्ट्रिय सभा चुनावको तयारी शिर्षकमा उद्घोष दैनिकमा मुख्य समाचार छ । राष्ट्रिय सभा सदस्य निर्वाचनको लागि १ नम्बर प्रदेश स्तरीय निर्वाचन अधिकृतको कार्यालय स्थापना भएको छ ।

तीनटोलिया विराटनगरमा जिल्ला निर्वाचन कार्यालयको हाताभित्र राष्ट्रिय सभा सदस्य निर्वाचनको कार्यालय स्थापना गरिएको हो । राष्ट्रिय सभा निर्वाचनको लागि जिल्ला अदालत मोरङका न्यायाधीश मेदनीप्रसाद पौडेल मुख्य निर्वाचन अधिकृत तोकिएका छन् ।

९ माघमा राष्ट्रिय सभा सदस्यहरुको लागि निर्वाचन हुँदैछ । भोली (बिहीबार) मतदाताको नामावली प्रकाशन हुने छ ।

‘ न्यायिक समिति नै पीडकको पक्षमा लागेको आरोप’ शिर्षकमा ब्लाष्ट टाइम्समा खबर छ ।

विराटनगर महानगरपालिकाकी उपमेयर इन्दीरा कार्की संयोजक रहेको न्यायीक समितिले सुनुवाई नगरिदिँदा छिमेकीले घर र पर्खाल भत्काइदिएका पिडित क्षतीपूर्ति पाउनबाट बञ्चित भएकी छिन् ।

विराटनगर ५ मुनालपथकी पूजा खतिवडा दाहालको घर छिमेकी रौनक अग्रवालको घर बनाउने क्रममा डोजर लगाउँदा भत्किएको थियो ।

डोजरले खन्ने क्रममा उनको पर्खाल र घर नै भत्किएपछि सोही दिन अग्रवालको घर बनाउने जिम्मा पाएको उत्तरा कन्स्ट्रक्सनका कन्सलटेन्सी आलोक झा, टोल संगठनका सचिव दीपक सुवेदीको रोहवरमा पूजालाई ४ लाख ५० हजार रुपैयाँ क्षतिपुर्ति दिने सहमति भएको थियो ।

अग्रवालले क्षतीपूर्ति दिने मौखिक सहमति भएपनि नदिएपछि पूजाले न्यायीक समितिमा उजुरी दिएकी थिइन् । यस्तै उनले महानगरपालिकाको घरनक्सा शाखामा पनि घर निर्माण रोक्न समेत उजुरी दिएपनि अहिलेसम्म घर निर्माण रोकिएको छैन् ।

अहिले पिडक पक्षले ज्यान मार्ने धम्की दिने गरेको पूजाले बताइन् । यता उपमेयर कार्कीले भने अग्रवालले पर्खाल बनाइदिने भएपनि पूजाले पैसा दिनुपर्ने माग गरेपछि सहमति हुन नसकेको बताए ।

Loading...