पत्रपत्रिकामा प्रदेश : भ्रमण वर्षका कार्यक्रमबारे प्रदेश सभाका सांसदै बेखबर

विराटनगर १५ पुस । भ्रमण वर्ष २०२ बारे प्रदेश १ का सांसदहरुले नै अहिलेसम्म जानकारी पाएका छैनन् ।

सत्तारुढ नेकपाकै प्रमुख सचेतक वुद्धिकुमार राजभण्डारीले नै भ्रमण वर्ष सुरु हुन लागेपनि अहिलेसम्म सांसदहरुलाई जानकारी नभएको बताए । उनले हालसम्म प्रदेश १ को उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयले तयारी नै नगरेको उनको आरोप छ ।

प्रदेश सांसदको भ्रमण वर्षमा के कस्तो भूमिका हुने भन्ने नै तय नभएको उनले बताए । मन्त्रालयले हालसम्म प्रदेशका पर्यटकीय गन्तव्यहरु समेत तोक्न नसकेको उनले बताए ।

यो समाचार कान्तिपुर दैनिकले प्रदेश १ पृष्ठमा छापेको छ । यस्तै कान्तिपुरमै अग्ला सडकले बस्ती डुबानको खतरा शिर्षकमा अर्काे समाचार छापेको छ ।

सडक र नाला निर्माण गर्दा उचाइ धेरै बनाएपछि सर्वसाधारणका घर डुबानमा पर्ने जोखिम बढेको छ । मोरङका विभिन्न स्थानमा बनेका सडकको कारण उठीबास लाग्ने अवस्था आएको सर्वसाधरणले बताए ।

घिनाघाट विराटचोक सडक विस्तार गरी चार लेनको बनाउने क्रममा सडक र नाला अग्लो बनाएपनि सर्वसाधारणको घर डुबानमा पर्ने भन्दै चिन्ता व्यक्त गरे ।

तर सडकको पानी बस्तीमा पस्न नदिने गरी सडक नाला बनाएको भौतिक पूर्वाधार विकास मन्त्रालयका प्रवक्ता रेवतीरमण पराजुलीले बताए ।

बलात्कारको अभियोग लागेका कृष्णदास धरौटीमा छुटेको खबरलाई प्रदेश एकबाट प्रकाशन हुने पत्रिकाहरुले प्रमुखताका साथ छापेका छन् ।

‘कृष्णदास धरौटीमा छुटे’ शिर्षकमा उद्घोष दैनिकमा खबर छ । २९ वर्षीया महिलाले आफूलाई सिद्धबाबा भनिने कृष्णबहादुर गिरीले जवरजस्ती करणी गरेको आरोपमा उजुरी दिएपछि प्रहरीले उनलाई पक्राउ गरेको थियो ।

गिरीलाई तीन लाख रुपैयाँ धरौटी लिएर सुनसरी जिल्ला अदालतले छोड्न आदेश दिएको हो । उनलाई पुर्पक्षको लागि थुनामा राखेर कारबाही गर्न औचित्यपूर्ण नरहेको भन्दै अदालतले उनलाई धरौटीमा रिहा गरेको हो । ‘कृष्णदास तीनलाख धरौटीमा रिहा’ शिर्षकमा ब्लाष्ट टाइम्सले मुख्यपृष्ठमा समाचार छापेको छ ।

Loading...