संसारकै धनी बिल गेट्सको एक दिन

विराटनगर, १४ पुस । विश्वकै प्रतिष्ठित कम्पनी माइक्रोसफ्ट कम्पनीका संस्थापक बिल गेट्स संसारकै सबैभन्दा धनी व्यक्ति हुन् । ६४ वर्षका गेट्ससँग १ सय १० अर्ब अमेरिकी डलर अर्थात् १ सय २५ खर्ब ४० अर्ब सम्पत्ति रहेको छ ।

यति धेरै सम्पति हुँदाहुँदै पनि बिल गेट्स साधारण मानिस जस्तै आफ्नो जीवन जिउनमा विश्वास राख्छन् । बिजनेस इन्साइडरका अनुसार गेट्स प्रत्येक बिहान सबेरै उठ्छन् । तर, ब्रेकफास्ट गर्ने उनको बानी छैन । उनी ट्रेड मिलमा केही समय बिताएर हरेक दिन समाचार पढ्न भने छुटाउँदैनन् ।

जति नै व्यस्त भए पनि उनी एकपटक पत्रिका पढ्न बिर्सँदैनन् । द न्युयोर्क टाइम्स, वालस्ट्रिट जर्नल तथा द इकोनोमिस्ट उनको रोजाइका पत्रिकाहरू हुन् । उनी टेनिस खेल्न पनि असाध्यै मन पराउँछन् । गेट्स प्रत्येक दिनलाई व्यवस्थित बनाउनका लागि नोटहरू टिपेर त्यहीअनुसार अगाडि बढ्छन् । उनलाई मन पर्ने खाना हो, चिज बर्गर । गेट्स दैनिक चिज बर्गर खाने गर्छन् । पढेर मात्र राम्रो गर्न सकिने भन्दै दैनिक रूपमा पुस्तक अध्ययनलाई समय छुट्याउँछन् उनी ।

समय पाउनेबित्तिकै गेट्स लाइब्रेरीमा पुगछन् । उनले दुर्लभ पुस्तकहरू संकलन गरी आफ्नै घरमा लाइब्रेरी बनाएका छन् । आफू काममा अत्यन्त व्यस्त भएपनि छोरा र छोरीका लागि समय निकाल्ने गरेका छन् । छोराले आफूसँग सिक्न खोज्ने भएकाले आफूले पर्याप्त समय दिने गरेको उनी बताउँछन् ।

गेट्स परिवारसँगै बसेर तास खेल्न मन पराउँछन् । गेट्स हरेक साँझ आफ्नो घरको काम आफैँ गर्छन् । उनले आफ्नी पत्नीलाई पकाउन मद्दत गर्नुका साथै आफूले खाएका भाँडा आफैं माझ्ने गर्छन् । मद्दत गर्न आएपनि मलाई आफ्नै काम गर्न मन पर्छ र यसले पति–पत्नीबीचको सम्बन्ध पनि राम्रो हुने उनको भनाइ छ ।

गेट्सका अनुसार मानिसले राम्रो सुतेमात्र राम्रो कार्यसम्पादन गर्न सक्ने हुन्छ । त्यसैले उनी सधैँ सात घण्टा आरामले सुत्ने गर्छन् ।

Loading...