चिट्ठा जितेपछि प्रत्यक्ष प्रशारणमै टीभी रिपोर्टरले छाडिन् जागिर

एजेन्सी, १३ पुस । स्पेनकी एक टिभी रिपोर्टरले चिट्ठा जितेपछि प्रत्यक्ष प्रशारणकै क्रममा उत्साहित हुँदै आफ्ना सबै सहकर्मीलाई भोलिदेखि आफू काममा नआउने बताएकी थिइन् । बीबीसीका अनुसार सार्वजनिक प्रशारक आरटीभीईमा कार्यरत नतालिया एस्कुदेरोले चिट्ठा जितेपछि प्रत्यक्ष प्रसारणमै चिच्याउँदै आफ्नो जागिर छोडेको बताइन् ।

उनको यसप्रकारको अचानकको घोषणाले सबैलाई अचम्ममा पार्यो । तर, वास्तविकता थाहा पाएपछि उनले सबै समक्ष माफी माग्दै पुनः काममा फर्किन अनुरोध गर्नुपरेको थियो । क्रिसमसको अवसरमा सञ्चालन गरिएको लोट्रीको सबैभन्दा उत्कृष्ट पुरस्कार ४० लाख डलरभन्दा धेरै रहेको थियो तर, सो रकम अन्य साना विजेताहरूमा पनि बाँडिने गरिएको नतालियालाई थाहा नभएपछि उनले शर्मनाक अवस्थाको सामना गर्नुपरेको हो ।

पूरै चिट्ठा जितेको भनेर झुक्किएकि उनी, उनको भागमा केबल ५,५५० डलर मात्र परेको थाहा पाएपछि उनले प्रत्यक्ष प्रशारणकै समयमा आफ्नो जागिर छोडेकोप्रति सबैसमक्ष माफी मागेकी हुन् ।

पूरै लोट्री जितिसकेको भन्ठानेर भावुक हुँदै दशर्कसामु त्यस किसिमको व्यवहार देखाएकाप्रति अत्यन्तै पछुतो लागेको बताउँदै यसमा आफू कसैबाट ठगिएको जस्तो महसुस भएको बताइन् । सामाजिक सञ्जालमा उनको भिडियो भाइरल भएपछि उनको यस्तो हर्कतलाई ‘अनप्रोफेसनल’ भएको आरोप लगाइएको थियो ।

उनले यस विषयमा ट्वीटरबाट व्यापक विरोधको सामना गर्नुपरेपछि पछिल्ला केही महिना व्यक्तिगत कारणले गर्दा अधिक कठिन रहेको स्पष्टिकरण दिएकी हुन् । सबैले झुट बोल्ने र धूर्त सञ्चारकर्मी भनेर बोलाइरहेको हुँदा उनले २५ वर्ष कर्मठ पत्रकारका रूपमा काम गरिसकेकाप्रति आफू गर्व रहेको र त्यो समयमा आफूलाई वास्तविकता थाहा नभएको ट्वीट गरेकी थिइन् ।

Loading...