birat ribon

यो समय (कविता)

Neuro
यो समय (कविता)

–मीनकुमार नवोदित
यो समय
अँध्यारोको भीरबाट हाम्फालेर
आत्महत्या गरेको छ सपनाले ।

cura insider

मानसिक सन्तुलन गुमाएको भगवान
तरबार बोकेर निस्किएको छ सडकमा
अनि,
आस्थाको मन्दिर, चर्च र गुम्बामा लामबद्ध
फूलहरूको गरिरहेछ हत्या ।

निराशा बोकेर दौडिरहेको भुइँकुहिरो
बाटोबाटै भएको छ बेपत्ता
इन्द्रेणीको लौरो टेकेर
वृद्ध साँझ चढिरहेछ
जीवनको अन्तिम उकालो ।

आँसुको पोखरीभित्र
नाङ्गै पौडी खेलिरहेछ घाम
आयुको काखमा बसेर
फिस्स हाँसिरहेछ मृत्यु
रातको बाढी पसेपछि
सुकुम्बासी भएको छ उज्यालो ।

बतासको झोलाभरि खुसी बोकेर
फनफनी घुमिरहेको पृथ्वीको छातीमा
लागेको छ आतंकको डँडेलो
त्यति नै बेला–
मानवता परेको छ एम्बुसमा
सिसाझैं टुक्रा–टुक्रा भएको छ संवेदना
बौलाएर ताराहरुको जंगल
पसेको छ जून
आगोसँग सम्भोग गर्न नपाउँदै
स्खलित भएको छ ब्रम्हाण्ड ।

jackson ribon