visit-nepal

‘विद्रोही’ हटाएर ‘मित्र’ टाइटल राखेपछि सबै मित्र भए : लव प्रधान (बामपन्थी राजनीतिज्ञ)

वि.सं. १७ फागुन २०२० चुलाचुली गाउँपालिका ६ मा जन्मेका हुन् लव प्रधान ‘मित्र’ । सानैदेखि विद्रोही स्वभावका उनी स्वाभिमानी कम्युनिष्ट नेताको रूपमा परिचित छन् । जीवनमा राजनीति गरेर जनताको माया मात्रै कमाएका प्रधानको राजनीतिक यात्राबारे कोशी अनलाइनका लागि शिवहाङ राईले यसरी कुराकानी गरेका छन्…

sdag

‘मित्र’ टाइटल किन राख्नु भएको ?

पहिले मेरो टाइटल ‘विद्रोही’ थियो । मधुमल्ला हाई स्कूलको जागिरबाट निकालिएपछि व्यापार सुरु गर्दायता मैले मेरो टाइटल परिवर्तन गरेको हुँ । नाममा लव प्रधानसँगै ‘विद्रोही’ टाइटल देखेपछि अफिसका हाकिमहरू शीर उठाएर मलाई घुरेर हेर्थे । त्यतिबेला नाममा ‘विद्रोही’ झुण्ड्याउन निकै आँट गर्नुपर्थ्यो । जागिर नभएको बेला टाइटलकै कारण गरिखान गाह्रो भएपछि ‘विद्रोही’ परिवर्तन गरेर ‘मित्र’ बनाएको हो । मित्र टाइटल राखेपछि सबैजना मित्र भए ।

राजनीतिमा कसरी प्रवेश गर्नुभयो ?

म सानैबाट अन्याय, अत्यचारविरोधी थिए । अलि हक्की, अनुशासित, सत्य बोल्ने र कडा स्वाभावको भएकाले मलाई स्कूलमा कक्षा २ देखि कक्षा १० सम्म कक्षा मनिटर राखिएको थियो । सात वर्षको हुँदा नै दलितहरूले छोएको खान सुरु गरेको थिएँ । १५ वर्षको हुँदा गाउँका जाली, फटाहा मानिसहरूको विरोध गर्दै हिँड्थेँ । १६ वर्षका उमेरमा मैले झ्यालखानाको अनुभव गरिसकेको थिएँ । मलाई अत्याचार, अन्याय र शोषणविरुद्ध आवाज उठाउन थियो त्यसैले म त्यस्तै कामहरू गर्दै हिँडिरहेको हुन्थेँ । अहिले आइपुग्दा मैले त राजनीति पो गरिरहेको रहेछु भन्ने बुझ्दैछु । किनभने म त्यति सानो उमेरमा नै समाज, राज्यका गलत नीतिहरूविरुद्ध आवाज उठाइरहेको हुँदोरहेछु । राजनीति के हो भन्ने थाहा नहुँदै म राजनीतिक क्षेत्रमा प्रवेश गरिसकेको थिएँ, अहिले त्यसैको निरन्तरता मात्र हो ।

त्यति सानो उमेरमा नै झ्यालखाना कसरी पुग्नुभयो ?

वि.सं. २०१७ सालतिर सामन्तहरूले अत्याचार गरेको पर्चा छापिएको थियो । पर्चामा बडाहाकिम र जिल्लाका प्रहरी निरीक्षकले घुस लिएको कुरा पनि लेखिएको रहेछ । देशमा भर्खरै संसदीय व्यवस्था खारेज गरिएको अवस्था थियो त्यतिबेलाका बडाहाकिम कोशी अञ्चलको राजा बराबर हैसियत भएका मानिस हुन्थे । अञ्चलकै बडाहाकिम र जिल्लाका प्रहरी निरीक्षकजस्ता मानिसहरूले नै घुस लिएको भनेर लेखिएको पर्चा मैले प्रहरीहरूलाई बाँड्न थाले । कतिले लिएर पढे कतिले लिन पनि मानेनन् । म लिनुहोस् न, पढ्नुहोस् न भन्दै जबर्जस्ती दिन खोज्थेँ । बडाहाकिम र जिल्लाका प्रहरी निरीक्षकविरुद्ध झुटा आरोप लेखिएको पर्चा बाँड्दै हिँडेको आरोपमा मलाई फक्राउ गरेर जिल्ला प्रहरी कार्यालय धनकुटाको हिरासतमा लगिएको थियो ।

कम्युनिष्ट बन्न के कुराले प्रेरित गर्‍यो ?

वि.सं. २०१५ सालको चुनावतिर पहाडमा धेरै मान्छेलाई खुवाउन, बसाउन सक्ने घर हाम्रो मात्रै थियो । जुनसुकै दलका मान्छेहरू आए पनि हाम्रो घरमै खाने र बस्ने व्यवस्था हुन्थ्यो । यसरी विभिन्न दलका मानिसहरूको आवत–जावत भइरहने भएकाले मैले सबैखाले राजनैतिक विचारहरू बाल्यकालबाट नै सुन्ने अवसर पाइरहन्थेँ । यसै क्रममा एकदिन धनकुटा घर भएका मगर थरका मानिस आफ्नो लिम्बू साथीलाई माइक बोकाएर आएका थिए, उनी पनि त्यसैगरी हाम्रो घरमा नै आएर खाना खाई उनी आवद्ध भएको पार्टीको बारेमा भन्न थाले । उनले व्यक्त गरेका विचारहरू मेरा आफ्ना विचारहरूसँग मेल खाएको हो कि जस्तो पनि लाग्यो । हाम्रो घरमा आएका मानिसहरूमध्ये उनको व्यवहार सबैभन्दा असल पनि थियो । उनी र उनले प्रवाह गरेका विचारबाट थोरबहुत कम्युनिष्टप्रति प्रभावितचाहिँ भएको हो तर तोकेर भन्नुपर्दा न्यायप्रतिको निष्ठा र अन्यायप्रतिको घृणाले नै कम्युनिष्ट हुन प्रेरित गरेको हो । यो देशका शोषकहरूलाई कसरी ठीक पार्न सकिन्छ भन्ने घृणाले नै कम्युनिष्ट बनाएको हो ।

आफ्नो सैद्धान्तिक गुरु कसलाई मान्नुहुन्छ ?

मेरा कोही गुरु छैनन् । तपाईंसँग केही सिक्छु होला, श्रीमती, छोराछोरी, मानिसहरू, चराचुरुङ्गी, जनावर, प्रकृति सबैबाट म केही कुरा सिकिरहेकै हुन्छु र यो सिक्ने यात्रा जीवन रहेसम्म चलिरहन्छ । अहिलेसम्म जे छु, जस्तो स्थितिमा आइपुगेको छु आफैंले खोजेर, भोगेर, पढेर र अनुसन्धान गरेर नै हो ।

२०४८ सालमा गिरिजाप्रसाद कोईरालासँग चुनाव पनि लड्नुभयो किन ?

त्यो २०४८ सालको संसदीय चुनाव थियो । म त्यति बेला पार्टीको जिल्ला कमिटी सदस्य मात्र थिएँ र मेरो चुनावी क्षेत्र, क्षेत्र नं २ पर्थ्यो । मेरो क्षेत्रमा मैले मितेरी साइनो लगाइ–लगाइ मानिसहरूसँग सम्बन्ध राम्रो बनाइसकेको बेला माथिको निर्णय भन्दै क्षेत्र नं २ मा भरतमोहन अधिकारीलाई उम्मेदवार बनाइयो र मलाई जानबुझ हराउनको निम्ति क्षेत्र नं १ मा गिरिजाविरुद्ध उम्मेदवार खडा गराइयो । भरतमोहन त्यतिबेला पोलिटब्युरो सदस्य थिए र उनको कोशी अञ्चलका अञ्चलाधीशसँग राम्रो सम्बन्ध थियो भन्ने सुन्नमा आएको पनि थियो ।

गिरिजाले चुनावमा जालझेल गरेर जसरी भएपनि चुनाव चित्ने थाहा पाएपछि मेरो क्षेत्रमा भरतमोहनलाई र उनको क्षेत्रमा मलाई उम्मेदवार खडा गरिएको थियो । त्यो निर्णय एमाले नेतृत्त्वले म प्रति गरेको ठूलो बेइमानी थियो । मैले पार्टीप्रति पुर्‍याएको योगदानको कदर नै नगरी, मसँग एकपटक पनि सल्लाह नै नगरी मलाई अपमानित गर्दै गरेको दूर्भाग्यपूर्ण निर्णय थियो । त्यसका बाबजुद पनि मैले सम्मानजनक भोट ल्याएरै चुनावी मैदानमा दोस्रो भएको थिएँ ।

मार्क्सवादी कोर्डिनेसन केन्द्र (माले) हुँदै एमालेमा लामो समय क्रियाशील रहनु भएको तपाईंले २०५४ सालमा पार्टी फुटेसँगै धेरै पटक पार्टी परिवर्तन गर्नुभयो किन ?

आम मानिसले हेर्दा नराम्रो तरिकाले बुझ्छन् तर यसको कारण छ । समय परिवर्तनशील हुन्छ र समयसँगै हरेक कुराको विकास हुनुपर्छ भन्ने मान्यता मेरो हो । मैले समर्थन गर्दै आएको राजनीतिक दल समयसँगै विकास होइन विनाश हुँदै गयो । मैले ३२ वर्ष योगदान गरेको पार्टीले नै मलाई एकपछि अर्काे धोका र षड्यन्त्रको भुमरीभित्र धकेल्यो । पार्टीभित्र मेरो योगदानको वेवास्ता गरियो, मेरो बेइज्जत गर्न खोजियो त्यसैले मैले पार्टी परित्याग गरेँ ।

जानेको, सिकेको कुरा आफूभित्र मात्रै सीमित हुनुहुँदैन, ज्ञान जति बाढ्यो त्यत्ति नै बढ्छ । मैले जानेको नै निष्ठाको राजनीति गर्न थियो त्यो नै सिकाउन सक्छु कि, पार्टीलाई मार्ग निर्देशन गर्न सक्छु कि भन्ने धारणा आइरहेको थियो । पार्टी परित्याग गरे पनि मैले मेरो सिद्धान्तमा कुनै परिवर्तन गरेको थिइँन त्यसैले सैद्धान्तिक विचार मिल्ने पार्टीहरूको समर्थन गरेको हुँ तर मैले सोचेजस्तो विकास कुनैमा पनि आइसकेको रहेनछ ।

विप्लव नेतृत्त्वको माओवादीसँग लव प्रधानको सम्बन्ध सुरुआत कसरी भयो ?

म त्यतिबेला पार्टीको केन्द्रीय कमिटी सल्लाहकार थिएँ, केन्द्रीय कमिटीको हरेक बैठक सल्लाहकारसमेत राखेर हुने गर्थ्यो । एउटा बैठकमा विप्लव समूहका कार्यकर्ताहरूले अध्यक्ष मोहन वैद्यजीलाई जनयुद्धको जगमा जनविद्रोह भन्ने मात्रै ? विद्रोह कहिले सुरु गर्ने ? भनेर प्रश्न तेर्स्याए । वैद्यजीले रातोपीरो हुँदै रहर गर्दैमा मात्र हुन्छ भन्ने ओठे जवाफ फर्काए । तर त्यसपछिका हरेक बैठकमा वैद्यमाथि विद्रोह कहिले सुरु हुन्छ भन्ने प्रश्नहरू मात्र आउन थाले ।

वैद्य इमान्दार हुन्, कर्तव्यनिष्ठ पनि छन् तर उनमा क्रान्ति हाँक्न सक्ने क्षमता भने नभएकै हो, उनी बुढो भइसके । म र वैद्यबीच धेरै पटक छलफल पनि भएको हो अब पार्टीलाई कुन दिशातर्फ लैजाने भन्ने विषयमा, विद्रोह कसरी सुरु गर्ने विषयमा ? यसैबीच पार्टीमा क्रान्ति नेतृत्त्व गर्नसक्ने क्षमतावान मानिस खोजी गर्दा विप्लव नेतृत्त्वको माओवादी सुरुआत भएको हो ।

क्रान्तिकारी कम्युनिष्ट तपाईंले क्रान्तिकारी विप्लव नेतृत्त्वबाट राजीनामाचाहिँ किन दिनुभएको ?

माओले दुई वटा कुरा भन्नुहुन्छ, दम्भ र हथैयताबाट सर्तक रहनु र तनमनले राज्यको जनताको सेवा गर्नु, जनताले नमागेसम्म हतियार उठाउन लगाउनु अवसरवाद हो भने हतियार माग्दा नदिनु क्रान्तिप्रतिको धोका हो । यी दुवै कुराहरूमा विप्लव चुक्नुभएकै हो । नीतिगत रूपमा विप्लवले प्रस्तुत गर्नुभएको विचारहरूप्रति असहमति हुनपर्ने अवस्था त हैन तर वहाँहरू माओले भनेका कुराबाट टाढा रहनुभयो त्यसैले मैले विप्लव नेतृत्त्वबाट राजीनामा दिनु ठीक ठानेँ ।

२१ वर्षपछि तपाईं आफ्नो पुरानै घर नेकपामा फर्किनु भएको छ, अपेक्षा के छ ?

मैले ३२ वर्ष लगानी गरेर बनाएका धेरै मानिसहरू छन्, मसँगै हिँड्नु भएका, मलाई सुख–दुःखमा साथ दिनुभएका धेरै मानिसहरू हुनुहुन्छ । उहाँहरूसँग भेटघाट, गफगाफ भइरहँदा दाइ अब विगतमा जे भयो ति कुराहरूलाई भुलेर पार्टीलाई मार्गनिर्दिष्ट गर्ने अभिभावक बनेर आउनुपर्‍यो भन्ने किसिमको आग्रह भएपछि साथै नेपालका दुई ठूला कम्युनिष्ट पार्टीहरू एक भएकाले पनि मैले पार्टीमा उत्साहप्रद सहभागिता जनाएको हो । म पार्टीमा बसेर कुम्ल्याउन आएको हैन । मैले नेकपा प्रवेश गर्दा ५ बुँदे विज्ञप्ति जारी गरेको छु, पार्टीका राम्रा, सकारात्मक पक्षलाई सफल र सुदृढ गर्दै लैजाने र नकारात्मक पक्षलाई निर्मूल पार्ने मेरो प्रयत्न रहनेछ ।

ओली सरकारबाट उपचार खर्चवापत १० लाख पनि लिनुभएछ हैन ?

हो, मैले पाएको छु । मेरो कम्युनिष्ट पार्टीप्रति लगभग ५७ वर्षको योगदान र लगानी छ । ५७ वर्षसम्म मैले आजसम्म कोहीसँग पनि सहयोगको लागि हात फैलाएको छैन । सकेसम्म मागेर, चन्दा उठाएर खानु हुँदैन आफ्नै खुट्टामा उभिनुपर्छ भन्ने मान्छे हो म । पार्टीमा लागेर धनी पो हुन पाइएन, गरिब त हुन पाइयो नि !

म मुटुको रोगी हुँ, मेरो पित्तथैली पनि फ्याँकिएको छ, घाँटीमा समस्या छ, मलाई अल्जाईमर, इनडाईजेसन रोग छ । मेरी श्रीमतीलाई ७–८ वटा रोगहरू छ । आर्थिकस्थिति त्यति राम्रो छैन । राजनीतिमा होमिएर मलाई माया गर्ने जनताबाहेक अरु केही कमाएको पनि छैन । त्यसैले प्रधानमन्त्री ओलीलाई म आफैंले भेटेर सरकारबाट उपचारखर्च पाइन्छ कि भनेर निवेदन गरेको थिएँ । खानलाई मागेको होइन, उपचार गर्न नसक्ने भएपछि उपचार खर्च पाएको हो, त्यसैमा खर्चिएको छु । अझै धेरै पाउँछु कि भन्ने आशा थियो तर १० लाख मात्र पाएँ ।

अहिले त स्वास्थ्य अवस्था कस्तो छ ?

अवस्था ठीकै छ भन्नुपर्छ, पूर्ण रूपमा स्वस्थ भइसकेको छैन । सरकारलाई फेरि निवेदन पेश गरेको छु । अब के निर्णय गरिन्छ, हेर्नै पर्छ ।

२०७४ फागुनतिर विराटनगर–६ सरौचियाका विजय मल्लसँगको जग्गा विवाद सर्वोच्च अदालतसम्म पुगेको थियो, के फैसला भयो ?

फैसला भइसकेको छैन । म आफैं सानो उमेरबाट सामन्त र भूमाफियाविरुद्ध उभिएको मान्छे मलाई नै एकधुर जग्गाको लागि ३ वर्षदेखि अदालत धाइरहनु परेको छ (हाँस्दै) ।

पञ्चायत कालमा पञ्च, बहुदलमा एमालेबाट पीडित हुनुभएको थियो, अहिले अवस्था के छ ?

अहिले म कतैबाट पनि शोषीत, पीडित भएको छैन । नेकपामा सबै साथीहरू मेरो सहभागिताले खुशी हुनुहुन्छ । विशेषगरी मेरो कम्युनिष्ट सिद्धान्तप्रतिको निष्ठा र आर्थिक स्वच्छतालाई सबैले मन पराउनुभएको छ ।

वर्तमान राजनीतिक अवस्थालाई कसरी विश्लेषण गर्नुहुन्छ ?

अहिलेको अवस्थालाई हेर्ने हो भने देशमा स्थिर सरकार आएसँगै जनताको आकांक्षा ह्वातै बढेको र त्यसअनुरुप सरकारले काम गर्न नसकेर जनातामा नैराश्यता हावी भएको देखिन्छ । तर कुरा के हो भने कोही मानिससँग पनि जादुको छडी हुँदैन र यो कुरा सबैले बुझ्न जरुरी हुन्छ । हामीसँग कम्युनिष्ट सरकारको विकल्प पनि नरहेकोले सबैजना मिलेर नै राष्ट्रको हितका लागि लाग्नुपर्ने अवस्था देखिन्छ ।

अब तपाईंको नेपाली राजनीतिमा भूमिका कस्तो रहन्छ ?

म बाँचुन्जेल सक्रिय रूपमा निष्ठाको राजनीति गर्छु । म जहिल्यै पनि कम्युनिष्ट रहनेछु र अरुलाई पनि कम्युनिष्ट बन्न प्रेरित गरिरहनेछु ।

शिवहाङ राई (कोशी अनलाइनका लागि प्रशिक्षार्थी पत्रकार)

Loading...