birat ribon

सागमा भएको ‘मेक्सिकन वेभ’ र ‘भाइकिङ थन्डर क्ल्याप’ को प्रभावकारी छाप

Neuro
सागमा भएको ‘मेक्सिकन वेभ’ र ‘भाइकिङ थन्डर क्ल्याप’ को प्रभावकारी छाप

शिवहाङ राई
नेपालमा हालै सम्पन्न १३औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) को पुरुष फुटबलको फाइनल खेलमा नेपाल र भुटान भिड्दै थिए । त्यो फाइनल खेल ऐतिहासिक हुने पक्का थियो । नेपालले जिते साग फुटबलमा नेपालले लगातार स्वर्ण जितेको रेकर्ड बन्थ्यो भने भुटानले जिते पहिलो पटक साग फुटबलको फाइनलमा पुगेर स्वर्ण जितेको इतिहास भुटानले सुनौलो अक्षर लेख्थ्यो ।

रङ्गशालाभित्र उपस्थित १५ हजार दर्शकमाझ फाइनल खेल भइरहँदा नेपालमै पहिलो पटक दर्शकहरूबाट ‘मेक्सिकन वेभ’ र ‘भाइकिङ थन्डर क्ल्याप’ प्रस्तुत भयो र त्यो क्षण हेर्न लायक रह्यो । ‘भाइकिङ थन्डर क्ल्याप’ सन् २०१६ को युरो कपमा आइसल्यान्डका समर्थकहरूले आफ्नो टिमलाई समर्थनमा प्रयोग गरेसँगै विश्वभर चर्चित भएको थियो । रुसमा सम्पन्न फिफा विश्वकप २०१८ मा आईसल्यान्डका समर्थकहरूले पुनः यसको प्रयोग गरेपछि यो विश्वभर झनै प्रचलित भयो र अहिले विश्वभरका फुटबल फ्यानहरूले यसको प्रयोग गर्ने गरेको पाइन्छ ।

cura insider

सन् २०१६ बाट सञ्चार माध्यममा आएर चर्चित भएपनि यसको प्रयोग निकै अगाडिबाट नै भएको पाइन्छ । सन् २००६ मा प्रदर्शनमा आएको हलिउड फिल्म ‘थ्री हन्रेड’बाट प्रेरित भएको भनिने ‘भाइकिङ थन्डर क्ल्याप’मा टिमका समर्थकहरूले ताली बजाउँदै ठूलो स्वरमा ‘हुँ’ शब्द उच्चारण गरिन्छ । पोर्चुगिज भाषा बोलिने देशका समर्थकहरूले ‘हुँ’ शब्दको साटो ‘ओन्डा’ प्रयोग गर्छन् भने जर्मनी, इटाली र अन्य देशहरूमा ‘ला ओला’ वा ‘ओला’ शब्द प्रयोग भएको पनि पाइन्छ ।

विश्वमा सबैभन्दा पहिलो पटक यसको प्रयोग स्कटिस फुटबल क्लब मदरवेल एफसी वा फ्रेन्च क्लब लेन्सले प्रयोग गरेको भन्ने गरिन्छ । सन् २०१४ को युरोपा लिगको खेलमा मदरवेल एफसीले आईसल्यान्डको क्लब स्तारजनानविरुद्ध ‘भाइकिङ थन्डर क्ल्याप’ प्रयोग गरेपछि त्यसैको परिमार्जित रूप आइसल्यान्डले अहिले आफ्नो राष्ट्रिय टिमको समर्थनमा प्रयोग गर्दै आइरहेको छ ।

अब कुरा गरौं ‘मेक्सिकन वेभ’को बारेमा । ‘मेक्सिकन वेभ’ मेटाक्रोनल रिदमको एउटा उदाहरण हो । यसमा क्रमिकसँगै आउने दर्शकहरूको समूह रङ्गशालामा आफू बसिरहेको सिटबाट उठेर हात हावामा हल्लाउँदै ठूलो स्वरमा कराउँछन् र फेरि आफ्नो सिटमा तुरुन्त बस्छन् । यो प्रक्रिया रंगशालाको एक ठाउँबाट सुरु भएर फेरि त्यहीँ ठाउँमा नआइन्जेलसम्म चलिरहन्छ ।

‘स्टेडियम वेभ’ पनि भनिने ‘मेक्सिकन वेभ’को पहिलो प्रयोग कहाँ भयो भन्ने यकिन नभएपनि पहिलो पटक यसको भिडियो रेकर्ड भने अमेरिकास्थित ओकल्यान्ड सहरमा भएको पाइन्छ । व्यवसायीक चियरलीडर क्रेजी जर्ज हेन्डरसनले दर्शकमाझ पहिलो पटक यसको प्रयोग गर्दै गरेको अमेरिकाको राष्ट्रिय टेलिभिजनले प्रसारण गरेको थियो । त्यसको सोह्र दिनपछि हेलोवीन चाडको अवसरमा वासिङ्गटन विश्वविद्यालयको हस्कि रङ्गशालामा आयोजित रग्बी खेलमा अर्का व्यवसायीक चियरलीडर रोब वेलरले आफ्नो टिमको समर्थनमा यसको प्रयोग गरेपछि भने यसले व्यापकता पाएको थियो ।

सन् १९८४ को ग्रीष्मकालीन ओलम्पिकको फुटबलतर्फको फाइनल खेलमा समेत यसको प्रयोग भएपछि अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले यसलाई पहिलो पटक अमेरिकाभन्दा बाहिर प्रसारण गरेको थियो । प्यासाडेनास्थित रोसबल रङ्गशालामा एक लाख दर्शकद्वारा ‘मेक्सिकन वेभ’ प्रस्तुत गरिएको थियो । सन् १९८६ को मेक्सिको फुटबल विश्वकपका खेलहरूमा यसको व्यापक प्रयोग भएपछि भने उत्तर अमेरिकाभन्दा बाहेक महादेशहरूका मानिसहरूले यसलाई पहिलो पटक देख्न पाएका थिए । मेक्सिको विश्वकपमा पहिलो पटक दर्शकहरूले त्यस्तो ‘वेभ’ प्रस्तुत गरेको देखेपछि मानिसहरूले यसको नामकरण नै ‘मेक्सिकन वेभ’ गरिदिए र आजसम्म पनि यही नामले नै विश्वभर परिचित छ ।

(प्रशिक्षार्थी पत्रकार, कोशी अनलाइन)

jackson ribon