विराटनगर, १० पुस । गायक रामकृष्ण ढकालले आफ्नो पारिवारिक कुराहरूलाई केही दिनदेखि मिडियाले उचालेर शीर्ष समाचार बनाएको भन्दै दुःख प्रकट गरेका छन् । आज आफ्नो औपचारिक सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै गायक ढकालले आफ्नो सम्बन्ध नाचिसिएको र मिडियाले अनावश्यक कुरालाई उचालेको कारण दर्शकहरूले समेत नराम्रो टिप्पणी गरेको प्रति गुनासो गरेका हुन् ।
उनले आफ्नो स्टाटसमा लेखेका छन्, ‘आफूले आफ्नो बोध भएदेखि नै गाउन थालेको र आजसम्म कति गाए त्यो अंकमा गनेको पनि छैन । जीवनको यो लामो अन्तरालमा कति दर्शक कमाएँ भन्ने कुराको कहिल्यै लेखाजोखा नगरेपनि नेपाली मिडियाले मेरो पारिवारिक विषयलाई शीर्ष समाचार बानाएदेखि मलाई मेरा आफ्ना आलोचक र प्रसंशक कति रहेछन् भन्ने कुराको आभाष भएको छ । सम्पूर्ण दर्शक श्रोता प्रति सधै कृतज्ञ छु र रहिरहने छु ।’
गायक रामकृष्णले पछिल्लो समय जसरी मिडियामा सम्बन्ध विच्छेदलाई लिएर समाचारहरू बने, ति सबै आफ्नो परिवारको आत्मसम्मान विपरीत बताएका छन् । ‘त्यसैले समाचारलाई विश्वास गरी मेरो परिवार र मेरी पत्नी निलमप्रति कुनै पनि नकारात्मक टिप्पणी नगरिदिनु हुन सबैमा अनुरोध छ ’, उनले लेखेका छन् ।
यस्तै उनले आफ्नो प्रेरणा, हौसला र हिम्मत दिने आफ्नी पत्नी निलमलाई जोडेर एक महिलाप्रतिको न्युनतम सम्मान समेतको ख्याल नराखी अत्यन्त निम्न स्तरमा उत्रिएर अनुमानका भरमा कपोलकल्पित भ्रामक अड्कलबाजी र ठोकुवा गरेर उनको चरित्र हत्या हुने गरी प्रतिक्रिया दिनेहरू प्रति खेद प्रकट गरेका छन् ।
सार्वजनिक चासोको विषय बन्दाबन्दै पनि सबैका आ–आफ्नै पारिवारिक विषय हुने बताउँदै उनले लेखेका छन्, ‘त्यस्ता नितान्त व्यक्तिगत विषयमा नकारात्मक तरिकाले गरेको टिप्पणी समाचारको केन्द्र बन्ने व्यक्तिलाई कति मानसिक असर पर्छ भन्ने कुरा सबैले सोच्नु पर्ने विषय हो । निलम र म सँधै झैँ हाँसी खुशी परिवारमा संगै छौँ र हाम्रो सम्बन्धमा कुनै चिसो आएको छैन ।’