काठमाडौं, ८ पुस । काठमाडौँमा स्वाइन फ्लु र हङकङ फ्लु सार्ने इन्फ्लुएन्जा ‘ए’ को सङ्क्रमण देखिएको छ । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा उपचारका लागि पुगेका १५ वर्षीय किशोरमा इन्फ्लुएन्जा ‘ए’ भएको पुष्टि भएको अस्पतालका सरुवा रोग विशेषज्ञ डा. शेरबहादुर पुनले जानकारी दिएका हुन् ।
ती किशोरलाई स्वाइन फ्लु तथा हङकङ फ्लुमध्ये एउटा भएको तर, यीमध्ये कुनचाहिँ भएको भन्ने टुङ्गो लाग्न बाँकी रहेको हुँदा परीक्षणको थप रिपोर्ट आएपछि थाहा हुने डा. पुनले बताए । ‘एन वन एच वन’ विषाणुका कारण हुने स्वाइन फ्लुमा ज्वरो, खोकी, नाकबाट पानी बग्ने, श्वास फेर्न गाह्रो हुने, घाँटी, शरीर, टाउको दुख्ने, काँप्ने, अल्छी लाग्ने, झाडापखाला र बान्ता हुने, रोग कडा हुँदै शरीरको कमजोर भइ निमोनिया भएर बिरामीको ज्यानै जानसक्ने डा. पुनले थपे ।
यो रोग सुँगुरबाट मानिसमा र मानिसबाट मानिसमा सर्ने तर, मासुलाई राम्ररी पकाएर खाँदा सर्दैन । अहिले मौसमी रुघाखोकी र फ्लुका बिरामी बढेकाले सावधानी अपनाउन पनि डाक्टरले आग्रह गरेका छन् ।
यो रोग मानिसमा लक्षण देखाउनुभन्दा एक दिन अगाडिबाट सात दिनसम्म सर्न सक्ने हुन्छ । स्वाइन फ्लु र हङकङ फ्लु सर्ने भएकाले बिरामीको स्याहार गर्नेले पनि सावधानी अपनाउनुपर्ने हुन्छ । त्यसैले, खोक्दा या हाच्छियुँ गर्दा नाक र मुख सफा रुमालले छोप्ने, साबुनपानीले हात धुने, संक्रमित व्यक्तिसंग हात नमिलाउने, भीडभाडमा नजाने, जानै परे मास्क लगाउने, सार्वजनिक ठाउँमा गएका बेला अनावश्यक ठाउँमा नछुने गर्नाले पनि यो रोगबाट बच्न सकिन्छ ।
बालबालिका, वृद्धवृद्धा, दम, मधुमेहलगायतका समस्या भएका दीर्घरोगीलाई रुघाखोकीले छिट्टै समात्ने भएकाले विशेष ख्याल गर्नुपर्छ । मौसम परिवर्तनको समयमा सक्रिय हुने इन्फ्लुएन्जा नामक भाइरसका कारण रुघाखोकीका बिरामी बढेका छन् । मौसमी रुघाखोकी र फ्लुको लक्षण उस्तै भए पनि फ्लु लागेका बिरामीले डाक्टरको सल्लाहअनुसार औषधि खाएर आराम गर्नुपर्ने हुन्छ ।