ख्रीष्टमस : प्रेमको उत्सव

dfg
रामप्रसाद पौडेल

ज विश्वभरका मानिसहरूको ध्यान एउटा व्यक्तितर्फ केन्द्रित भएको छ, त्यो व्यक्ति हुनुहुन्छ जिजस क्राइष्ट जसलाई नेपालीभाषी इसाईहरूले येशू ख्रीष्टको नाउँले पनि पुकार्दछन् । सतहमा देखिँदा एउटा पन्थको प्रतिपादकको रूपमा देखिए पनि येशू ख्रीष्ट समग्र मानव जातिका निम्ति प्रेमका प्रतीक हुनुहुन्छ । उहाँमा केन्द्रित रहेर लेखिएको इसाईहरूको दिव्य पुस्तक बाइबलको निचोड पनि अन्ततः प्रेम नै हो । आजको यस आलेखमा ख्रीष्टमस र ईश्वरीय प्रेमका बारेमा छोटो चर्चा गरिएको छ ।

येशू को हुनुहुन्छ : यो प्रश्नको जवाफ दिन त्यति सजिलो छैन । बुझ्नेहरूले उहाँलाई फरक–फरक किसिमले बुझेका कारण उहाँको व्यक्तित्व र ईश्वरत्वलाई एउटै परिभाषाभित्र अटाउन सहज पनि छैन । तथापि येशू एक महान, प्रगतिशील, क्रान्तिकारी, समाजसुधारक, अध्येता तथा परिवर्तनका सम्वाहक हुनुहुन्छ भन्ने कुरा सारा संसारले स्वीकारेको कुरा हो । विश्वमा भएका लगभग ३ अर्ब इसाईहरू भने येशूलाई त्योभन्दा पनि व्यापक दृष्टिकोणले हेर्छन् र उहाँलाई मानिसको पाप क्षमा गर्न र प्रेमको बिजारोपण गर्न आफैंलाई आहुति गर्ने महान बलिदानी ईश्वरको पुत्र मान्दछन् । आज यो मतलाई विश्वास गर्ने र अवलम्बन गर्ने मानिसहरूको संख्या दिनप्रतिदिन बढ्दै गएको छ र विश्वमा इसाई आस्था सबैभन्दा बलियो आस्थाको रूपमा स्थापित भएको छ ।

बाइबलअनुसार इशापूर्व ४ मा इजरायल देशको बेथलेहेम भन्ने गाउँमा येशूको जन्म भएको हो । उहाँ जन्मनुभन्दा ७०० वर्ष पहिले नै यशैया नाम गरेका एकजना भविष्यवक्ताले उहाँको जन्म कसरी हुन्छ र उहाँको नाउँ के राखिनेछ भन्नेसम्मको भविष्यवाणी गरेका थिए । बाइबल इतरका धर्मशास्त्रहरुमा पनि उहाँको जन्म, जीवन र मृत्युको बारेमा उल्लेख गरिएको कुरा आज चर्चाको विषय बन्न थालेको छ । आम मानिसजस्तै आमाको गर्भबाट जन्मिएका तर परमेश्वरको आत्माको शक्तिले गर्भमा आकृत हुनुभएका येशू, पुरुष विर्यविना नै स्वरुप धारण हुनुभएकोले उहाँमा पुख्र्यौली श्राप र पापको कुनै दाग नरहेको बाइबलले स्पष्ट बताउँछ । मान्छे मतिभ्रष्ट भएर बाटो बिराइरहँदा, उसका गलत हर्कतहरू दिनानुदिन बढ्दै गइरहँदा, स्वार्थी, अहंकारी र लोभी चरित्रको तीव्र विकास भइरहँदा संसार खराबीको जञ्जालले घेरिन पुग्यो । मान्छेले आफूले गल्ती गर्ने र त्यसको प्रायश्चितका लागि निर्दोष पशुको बलिदान गर्ने उटपट्याङ उपाय अपनाउन थाल्यो । यो पनि स्वार्थी चरित्रको अर्को पराकाष्ठा नै हो । यसरी स्वार्थ र घृणाले भरिएको संसारमा प्रेमको बिउ रोप्नका लागि येशू ख्रीष्टको निष्कलंक आगमन भएको हो ।

येशू किन मारिनुभयोः आज दुनियाँका मानिसहरूले गर्ने एउटा सङ्गीन प्रश्नचाहिँ येशू साँच्चै ईश्वर हो भने किन अपराधी झैं क्रूसमा टाँगिन पुग्यो ? किन उसले आफ्ना शत्रुहरूलाई दक्षिण भारतीय चलचित्रका नायकहरूले झैं ढिस्युँ ढिस्युँ पारेन ? भन्ने हो । यसको सहज उत्तर बाइबलमा छ । येशूले भन्नुभयोः “चोर त चोर्न, मार्न र नाश गर्न भनेर आउँछ तर म त तिनीहरूले जीवन पाऊन् र त्यो पनि प्रशस्त मात्रामा पाऊन् भन्ने हेतुले आएँ ।” पापीलाई नाश गर्न र स्वघोषित धर्मीहरूलाई बचाउनका लागि संसारमा धेरै फिल्मी भगवानहरू उदाएका छन् । उनीहरूले भनेका छन्ः जब जब धर्मको नाश हुन्छ, म पापीहरूको विनाश गर्न र धर्मीहरुलाई बचाउनका लागि अवतार लिएर आउनेछु । तर बाइबल फरक छ । बाइबलले भन्दछः धर्मी कोही छैन, एउटै पनि छैन । सबैले पाप गरेका छन् र परमेश्वरको महिमारहित भएका छन् । हुन पनि मानिस स्वभावैले पापी छ । जन्मने बित्तिकै मेरो र तेरोको भावना विकास भएको छ । छोटो समयको लागि पाहुनाको रूपमा यस संसारमा अवतरण गरेको मान्छेले आफ्नो सर्वस्व नै यही संसारलाई ठान्न पुग्दछ । यही भ्रमले उसलाई झनै बढी पाप कर्ममा लिप्त गराउँछ । हरेक पापी मानिसलाई उसको पापबाट फर्कन र उसले गरेका हरेक पापको मूल्य तिरिदिनका लागि येशू बलिदान हुनुभयो । उहाँ अपराधी भएकोले होइनतर तपाइँ र म अपराधी, पापिष्ठ र कुलड्डार भएकोले हाम्रो कुकर्मका खातिर उहाँ क्रूसमा टाँगिनुभएको हो । उहाँ कसैलाई मार्नका लागि आउनुभएको होइन, बरु ती मार्न तम्सिनेहरू समेतलाई बचाउन र अनन्त मृत्युमा पर्नबाट जोगाउन उहाँ आउनुभयो ।

जसरी एउटा मानिस बिरामी पर्दा उसलाई पशुको रगत चढाउन मिल्दैन, त्यसरी नै एउटा पापीलाई पापको दासत्वबाट छुटकारा दिनका लागि पशुको बलिदानले कुनै भूमिका खेल्न सक्दैन । त्यसैकारण एउटा निष्कलंक बलिदानको रुपमा येशूले आफैंलाई बलिदान गर्नुभयो । उहाँको क्रूसको मृत्यु नै आज उहाँमा विश्वास गर्ने हरेकका लागि अनन्त जीवन हो । उहाँ शक्तिहीन भएर होइन तर हरेक पापी, दुष्ट र अज्ञानी मानिसहरूलाई समेत प्रेम गरेका कारण उहाँले फिल्मी हिरोले जस्तो आफ्ना विरोधीहरूलाई ढिस्युँ ढिस्युँ पार्नुभएन । अर्को कुरा सम्पूर्ण मानव जातिलाई उहाँले आफ्नै स्वरुपमा सृष्टि गर्नुभएका कारण जति नै दुष्ट भए पनि मानवहरु उहाँकै सन्तान हुन् । एउटा असल र साँचो पिताले आफूलाई हेला गर्‍यो वा अपमान गर्‍यो भनेर आफ्ना सन्तानलाई मार्न वा उनीहरुलाई नाश गर्न सक्दैन । त्यसैकारण येशूले फिल्मी ‘हिरो’ बन्ने चेष्टा गर्नुभएन ।

ख्रीष्टमस के होः येशूको जन्म भएको समय जाडो समय थियो भनिन्छ । त्यसैकारण नै गोठालाहरु राति आगो तापेर बसेका थिए । जब येशू एउटा गरिब व्यक्ति झैं पशुलाई खाना खुवाउने डुँडमा जन्मिनुभयो, स्वर्गदूतहरू गोठालाहरूको माझमा देखा परे र येशू जन्मिनुभएको खबर उनीहरूलाई सुनाए । ठीक त्यसै बेला आकाशमा एउटा नयाँ तारा उदायो र पूर्वीय चिन्तनका ज्ञाता, खगोल शास्त्रीहरु त्यस तारालाई पछ्याउँदै केही दिन लगाएर बालक येशू जन्मिनुभएको ठाउँमा पुगे भन्ने कुरा बाइबलमा उल्लेख गरिएको छ । येशूलाई दिव्य बालकको रुपमा देखेर ज्योतिषहरूले उहाँको महिमा गरे अनि गोठालाहरूले एकजना मुक्तिदाता जन्मिएका छन् भनेर वरपरका मानिसहरूलाई सुनाए । उहाँ जन्मिनुभएको खुशियाली बाँड्नका लागि उनीहरूले नाचे, गाए अनि आनन्द गरे । पापको दासत्वमा फसेका ‘दासह’’ लाई सँधैका लागि छुटकारा दिनका लागि एउटा ‘मसिहा’ को आगमन यो संसारमा भयो भन्ने कुराले मानिसहरूमा अपार शान्ति र आनन्द छायो । जब मान्छे अति नै खुशी हुन्छ, उसले त्यो खुशी आफूभित्र मात्र सीमित गर्न सक्दैन, ऊ अरुलाई त्यो खुशी बाँड्न यति आतुर हुन्छ कि कसैले उसको मुख थुन्न खोजे पनि त्यसको कुनै परवाह गर्दैन । आज येशूलाई प्राप्त गर्ने मानिसहरू पनि त्यस्तै खुशी छन् । यो खुशी उनीहरू आफैंमा सीमित गर्न सक्दैनन् । अरुलाई बाँड्न र अरु पनि त्यो खुशीमा सहभागी भएको देख्न चाहन्छन् । त्यसैले कसैले रोक्न, थुन्न, छेक्न र बन्देज लगाउन खोज्दा पनि इसाईहरू चुप्प लागेर बस्दैनन् । वास्तवमा यही खुशीको खबर नै ख्रीष्टमस हो ।

येशूको आगमन केवल प्रेम बाँड्नका लागि हो कुनै धार्मिक पन्थ सुरु गर्न र मानिसहरूबीचमा दरार पैदा गर्नका लागि होइन । हरेक कुरामा राजनीति गर्न र नकारात्मक टिप्पणी गर्नका लागि यस संसारमा जन्म लिएका केही मानिसहरूले येशूको प्रेमलाई अपव्याख्या गर्न भ्याएका छन् । तर येशूले भन्नुभयो– “कसैले तिम्रो एउटा गालामा चड्काउँछ भने अर्को गाला पनि थापिदेऊ ।” इगो, बेइमानी र प्रतिशोधले भरिएको यस संसारमा योभन्दा ठूलो शान्तिकारी शिक्षा अरु के हुन सक्ला र ? येशूको यही महान शिक्षा र अरुका निम्ति गरिएको बलिदान नै संसार परिवर्तन गर्ने महत्त्वपूर्ण शुत्र हो । घृणा र आतंकले विनाश मात्रै ल्याउँछ । हिटलर, मुसोलिनी लगायतकाले आतंक फैलाएर संसार जित्न खोजे तर पूर्णतः असफल भए । उनीहरूको राज्य केही वर्ष मात्रै टिक्न सक्यो । तर येशूको प्रेमको साम्राज्य २००० वर्ष अगाडि सुरु भयो, अहिलेसम्म चल्दैछ र अनन्तकालसम्म चलिनै रहनेछ । किनभने सृष्टि रहुञ्जेल प्रेमको महत्त्व हराएर जानेछैन ।

                        –लेखक विराटनगर इसाई समाजका उपाध्यक्ष साथै अन्तर्राष्ट्रिय नेपाली ख्रीष्टियन मिडिया सञ्जालका सचिव हुनुहुन्छ ।
Loading...