नेपालमा महिलाको अवस्था

विष्णु शर्मा
सभापति एबीसी नेपाल, मोरङ

नेपाली समाजमा जन्मनेबित्तिकै छोरीहरूले घर परिवारमा विभेदको सामना गर्नुपर्दछ । हाम्रो सामाजीकरणको प्रक्रियाममा छोरीले बिस्तारै बोल्नु पर्ने, सहनु पर्ने, घरको कामकाजमा आमालाई सघाउनु पर्ने जस्ता कुराहरू सिकाउने गरिन्छ । छोरीहरू बाहिर गएको बेलामा घर फर्कन केही अबेर हुँदा उनीहरूमाथि अनेकौँ प्रश्नहरू गर्ने गरिन्छ तर त्यही कुरा छोराले गर्दा उमाथि प्रश्न गरिँदैन । मानौं यो सबै कुरा गर्न उसलाई छुट छ, किनभने ऊ छोरा हो । सानै उमेरदेखि ‘तिमी अर्काको घरमा जानुपर्ने जात’ जस्ता कुराहरू छोरीहरूको मन र मष्तिष्कमा बाबुआमाहरू र आफूभन्दा ठूलाहरूले भरिदिएका हुन्छन्, भने अर्कोतिर छोराहरूलाई निडर हुनुपर्ने, बाबुआमा र परिवारलाई पाल्नुपर्ने, जस्ता कुरा भनेर छोराहरू छोरीभन्दा बढी महत्त्वपूर्ण भएको कुरा अनुभूत गराइन्छ । छोरीप्रतिका यी धारणाहरू समाजमा अझै व्याप्त छन् । केही पढेलेखेकाहरूको सोचमा निकै परिवर्तन आएपनि अधिकांश गाउँघरमा छोरीप्रतिको धारणा त्यति सकारात्मक देखिँदैन ।

नेपालमा पनि हामीहरूले महिलाको आर्थिक स्वतन्त्रतामा बढी ध्यानदिनु जरुरी छ । किनभने आजपनि बहुसंख्यक महिलाहरू पुरुषमा नै निर्भर छन् । महिलाहरूले आर्थिक क्षेत्रमा गरेका क्रियाकलापको मूल्याङ्कन गर्नु जरुरी छ । महिलाले भूमिमा अत्यधिक काम गर्दछन् तर उनीहरूको कामको मूल्याङ्कन हुँदैन । महिलाले गरेको घरायसी कामको पनि कुनै मूल्याङ्कन भएको छैन । बराबर कामको लागि बराबर ज्याला पाउनुपर्नेमा अझै धेरै निजी क्षेत्रहरूमा महिलाहरूले बराबर कामको लागि बराबर ज्याला नपाएको अवस्था छ । महिलाहरू जमिनमा अहोरात्र काम गर्दछन् तर महिलाहरूको भू–स्वामित्व दस प्रतिशत मात्र छ । अर्कोतिर अत्यधिक गरिबी र अभावले गर्दा महिलाहरू विदेसिने क्रमपनि बढ्दै गइरहेको छ ।

अहिले वैदेशिक रोजगारमा महिलाहरूको पनि आर्कषण दिनदिनै बढ्दैै गइरहेको छ । वैदेशिक रोजगारी महिलाहरूका लागि कति सुरक्षित छ ? यो विषयअहिले प्रशस्त चर्चाको विषय भएको छ । हालैको एउटा तथ्यांकअनुसार अहिले खाडी मुलुकमा मात्रै काम गर्ने नेपाली महिलाको संख्या दुई लाख चालीस हजार भएको अनुमान गरिएको छ । यसरी वैदेशिक रोजगारीमा जानेव्रmम सँगै विविध समस्याहरू पनि बढ्दै गइरहेको देखिन्छ । घरेलु कामदारको रूपमा जाने ६७ प्रतिशत महिलाहरूले विभिन्न शारीरिक र मानसिक समस्याहरूबाट पीडित भएका समाचारहरूले पनि यो कुराको पुस्टि गर्दछ ।

यी सम्पूर्ण हिंसाका पछाडि सामाजिक, आर्थिक, कुरीति र संस्कार नै प्रमुख कारण देखिन्छन् जसलाई निर्मुल गर्नु त्यति सजिलो छैन । अहिले तराईको धेरै जिल्लाहरूमा धर्म र संस्कृति र प्रचलनको रूपमा रहेको बालविवाहले धेरै बालिकाहरूकोे जीवनमा दुष्प्रभाव पारेको छ । पहिलो कुरा त उनीहरू शिक्षाको अवसरबाट वञ्चित छन् । विवाह भइसकेपछि सकेसम्म बाबुआमाले छोरी स्कुल नजाओस् भत्रे चाहन्छन् । स्कुल जाँदा केही तलमाथि भएको खण्डमा समाजले कुरा काट्ने डरले सकेसम्म पठाउन चाहँदैनन् । छोरीहरूको स्कुल जाने प्रवल इच्छा हुँदाहुँदै स्कुल छाड्न बाध्य हुनुपर्दछ यसले कैयौं बालिकाको जीवनमा नकारात्मक प्रभाव पनि परेको देखिन्छ ।

आजको एक्काईसौं शताब्दीमा पनि परम्परागत संस्कृति र संस्कारले यदि महिलाहरूलाई दमनमा पारेको छ भने त्यसको बन्धनबाट पनि महिलाले मुक्ति लिनुपर्दछ । नेपालको सन्दर्भमा हेर्ने हो भने परम्परा र संस्कृति धात्रे सबै जिम्मा महिलाले नै लिएको देखिन्छ । हुनतः वर्षौंदेखिको प्रचलनमा रहेको संस्कार, संस्कृतिलाई परिवर्तन गर्नु त्यति सजिलो छैन । यसको लागि निरन्तर प्रयास गरिरहनु पर्दछ र समय पनि लाग्दछ । तर प्रयासचाहिँ गरिनै रहनुपर्दछ । नेपाली समाजमा सामाजिक विकृतिको रूपमा रहेको दाइजोको कारणबाट कयौं महिलाहरू कुटिने, जिउँदै जलाइने, अनेक हिंसाको शिकार हुने गरेका छन् ।

दाइजोको कारणले कैयौँ महिलाहरूले शारीरिक र मानसिक पीडा मात्र होइन, जिउँदै अग्नि दाहहुनु परेको कैयौँ घटनाहरू समाचारमा आएका छन् । आफ्नो खुशी र गच्छेअनुसारले छोरीलाई केही उपहार दिनु ठीक कुरा हो तर विवाह गर्दा कुनै वस्तुजस्तै मोल तोल हुनु, केटीका बाबुआमालाई मानसिक तनाव दिनु पूर्णरूपमा मानवअधिकार विरोधी कार्य पनि हो जसलाई आजको सभ्य समाजले गर्न र गराउन हुँदैन ।

सबैभन्दा सुरक्षित मानिएको घरमा समेत बालिकाहरूको बलात्कार भएका कैयांै समाचार प्रकाशमा आएका छन् । आफ्नै नजिकैका नातेदारहरूले बालिकालाई बलात्कार गरेका समाचारहरू बेलाबेलामा आइनै रहन्छन् । तीन वर्षकी छोरी बलात्कृत हुँदा पनि बाबु आमाहरू समाजले के भन्ला ? भत्रे डरले चुपचाप मुखबन्द गरेर बस्दछन् । आफ्नै छोरीलाई बाबुले बलात्कार गर्दा आमाहरू मौन भएर बस्दछन् । यो मौनताको संस्कृतिको अन्तको लागि अहिले महिलाहरू पनि सक्रिय हुनथालेका छन् । परिवर्तनको सुरुवात हामी आफैंबाट हुनुपर्छ । हिंसामुक्त समाज बनाउन हामी आफैं अगाडि आउनुपर्दछ । अन्धविश्वास र परम्पराको नाउँमा महिलाहरूमाथि बोक्सीको आरोप लाग्ने र उनीहरू कुटिने, मारिने र जिउँदै जलाइनेसम्मका घटनाहरू तीव्र भइरहेको देखिन्छ । नेपालमा कानुनी रूपमा छुवाछुतप्रथाको अन्त भइसके पनि झन्डै पाँच दशक भइसकेको छ तर ब्यवहारिक रूपमा जातिप्रथा हाम्रो समाजबाट पूर्णरूपमा हराइसकेको छैन । दलितजातिका ८० प्रतिशत महिलाहरू निरक्षर छन्भने ९० प्रतिशत गरिबीको रेखामुनि छन् । घरेलु हिंसा, यौनजन्य हिंसा, यौनदासताको निम्ति बेचबिखनको शिकार भएका महिलाहरूको संख्या यो समूहमा धेरै छन् । नेपालको संविधानले प्रजनन् अधिकारलाई महिलाको मौलिक अधिकारको रूपमा मान्यता दिए पनि महिलाहरूले यो अधिकारलाई उपयोग गर्न सकेका छैनन् । यसको कारकतत्व उहीँ पितृसत्तात्मक सामाजिक संरचना नै हो जुुन संरचनामा कुनै पनि महत्त्वपूर्ण निर्णयमा महिलाको सहभागिता हुँदैन ।

महिलाहरूमा पनि अपाङ्गता भएकाहरूले समाजमा भोग्नु परेको सामाजिक, सांस्कृतिक र अन्य विभेद अझ पीडादायक छ । नेपालमा पनि पितृसत्तात्मक सामाजिक सोचले एकदमै दरो जरो गाडेको छ । हाम्रा सम्पूर्ण धार्मिक पुस्तकहरूमा महिला प्रतिव्यक्त गरिएका नकारात्मक कुराले यसलाई पुस्टि गरेको छ । महिलाहरूले पालना गर्नुपर्ने कडा नीति नियम बनाएर महिलालाई सँधै आफ्नो अधीनमा राख्न हाम्रा धर्मशास्त्रहरू निर्माण गरिएको छ । ती धार्मिक र सामाजिक वन्देजलाई फुकाउने कुरा त्यति सजिलो छैन । कडा धार्मिक आस्था, विश्वास र असमान कानूनका विरुद्ध नेपालमा पनि महिलाहरूले अभियान चलाएका छन् । मानव सृष्टिकालमा समान हैसियतमा रहेका भएता पनि महिला र पुरुषहरूमा समयको अन्तरालले महिलाहरूलाई पछाडि पारेको छ । अन्तर्राष्ट्रिय क्षेत्रमा भएका महिला उत्थानका कार्यहरूले नपाललाई पनि प्रभावनपारी रहन सकेन । नेपालमा महिलाहरूका लागि समय सापेक्ष रूपमा कानूनमा संशोधन गरी अधिकारहरू थप गरिँदै आएको छ तापनि तीअधिकारहरूलाई महिलाहरूले अपेक्षित रूपमा उपभोग गर्न पाएका छैनन् । प्रथमतः ९० प्रतिशत महिलाहरूलाई आफ्नो अधिकारप्रति जानकारी नै रहेको छैन । केही बुझ्ने महिलाहरू पनि उक्तअधिकार प्रयोग गर्नका लागि विभिन्न चुनौतीहरू रहेको हुनाले त्यसलाई सामना गर्न सक्षम भएका छैनन् । राज्यले निर्माण गरेको कानून कार्यान्वयन गर्नतर्फ उदासिन देखिएको कारणबाट व्यवहारमा महिलाहरू आफ्नो अधिकारको उपभोग गर्न असक्षम भएका छन् ।

Loading...