मन्त्री परिवर्तन भएपछि वैदेशिक रोजगारीको क्षेत्रमा चलखेल बढ्यो, कांग्रेसले संसद्मा आवाज उठाउने

काठमाडौं १ पुस । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सङ्घीय संसद्मा श्रम तथा वैदेशिक रोजगारीमा देखिएका समस्याका विषयमा संसदमा आवाज उठाउने भएको छ ।

कांग्रेसको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय हेर्ने संयोजक डा. डिला सङ्ग्रौलाले मंगलबार पत्रकार सम्मेलन गरी ४ पुसदेखि शुरु हुने संसद्को हिउँदे अधिवेशनमा वैदेशिक रोजगारीका विषयमा कांग्रेसले आवाज उठाउने बताइन् ।

सरकारले युएई, मलेसिया, जापान र मरिससलगायतका श्रम गन्तव्य मुलुकसँग श्रम सम्झौता, सम्झदारी, सहमति गरे पनि प्रतिबद्धतालाई प्रभावकारी कार्यान्वयन गर्न नसकेको उनको आरोप छ । सांसद सङ्ग्रौलाले मलेसिया जाने कामदारसँग मेनपावर कम्पनीले सेवा शुल्क नलिने भने पनि कानूनी छिद्र प्रयोग गर्दै विचौलियामार्पmत ठूलो रकम असुली रहेको बताइन् ।

यसैगरी जापानसँग श्रम सम्झौता गरिएकोमा भाषा परीक्षा र सीप परीक्षणका प्रक्रिया झन्झटिला भएको कारण सोचेअनुसार नेपाली कामदार जान नपाएको टिप्पणी गरिन् ।

सङ्ग्रौलाले  सरकारले पुनः श्रम स्वीकृतिलाई अझ सहजीकरण गर्न नियोगबाट दिने सेवालाई सहजीकरण गर्न नसकेको, पुनः श्रम स्वीकृति लिने नेपालीका लागि प्रदेशस्तरमा सेवा विस्तार गरे पनि प्रक्रियागत झन्झट भएकोमा मन्त्रालयले सहजीकरणका लागि आधिकारिक निकायलाई निर्देशन गर्न नसकेको बताइन् ।

सांसद सङ्ग्रौलाले वैदेशिक रोजगार विभागको सेवालाई अनलाइन प्रक्रियामा लगिरहेको बेला व्यवसायीले विभाग र मन्त्रालयमा अनावश्यक दबाब दिने काम मन्त्री परिवर्तनसँगै सुरु गरेको आरोप लगाइन् ।

वैदेशिक रोजगार, सामाजिक सुरक्षा तथा प्रधानमन्त्री रोजगार कार्यक्रमको वर्तमान अवस्थाबारे तत्काल एउटा श्वेतपत्र जारी गर्न सरकारसँग सङ्ग्रौलाले माग गरिन् । गत वर्ष नै कार्यक्रम ल्याएको भए पनि सबै श्रमिकले न्यूनतम पारिश्रमिकसमेत पाउन नसकेको बताउँदै उनले यसका लागि मन्त्रालयले गर्नुपर्ने श्रम अडिटको प्रक्रिया मन्त्री परिवर्तनसँगै सुस्ताएको धारणा व्यक्त गरिन् ।

Loading...