visit-nepal

अब सूर्तीजन्य पदार्थ बिक्री गरे कारवाही हुने

डोटी, २९ मंसिर । डोटी जिल्लाका विद्यालयवरपर सूर्तीजन्य र मादक पदार्थ बिक्री वितरण गरे कारवाही हुने भएको छ । जिल्लाको दिपायल–सिलगढी नगरपालिकाले यहाँका विद्यालय क्षेत्र वरपर सुर्तीजन्य र मादक पदार्थ बिक्री वितरण गर्नेलाई कारवाही गर्ने भएको हो ।

पछिल्लो समय नगरपालिकाले विद्यालय वरपर सुर्तीजन्य र मादक पदार्थ निषेध क्षेत्र बनाउन लागि परेको छ । विद्यार्थीहरुलाई सुर्तीजन्य र मादक पदार्थको लतबाट टाढै राख्नका लागि उक्त अभियानको थालनी गरिएको बताइएको छ । विद्यालय वरपर खुलेआम सुर्तीजन्य र मादक पदार्थको बिक्री वितरण हुन थालेको गुनासो बढेपछि नगरपालिकाले उक्त अभियानको शुरुआत गरेको हो ।

विद्यालय वरपर रहेका पसलहरुमा सुर्तीजन्य पदार्थ भए–नभएका बारेमा नगरपालिकाका कर्मचारीले दिनहुँ अनुगमनसमेत गर्न थालेका छन् । नगरपालिकाका उपप्रमुख शिवराज खड्काको नेतृत्वको अनुगमन समितिसमेत गठन गरी नगरपालिकाले दिनहुँ अनुगमन गर्न थालेको हो । विद्यालय क्षेत्र आसपासमा सञ्चालनमा रहेका होटल तथा किराना पसलमा सुर्तीजन्य पदार्थ तथा मदिरा नराख्न नगरपालिकाले सबैमा आग्रह गरेको छ ।

नगरपालिकाको आग्रहलाई अटेर गरी मदिरा तथा सुर्तीजन्य पदार्थ बिक्री वितरण गर्नेलाई कानूनी दायरामा ल्याइने नगर उपप्रमुख खड्काले बताए । हामीले पहिलो चरणमा विद्यालय वरपर मदिरा तथा सुर्तीजन्य पदार्थ नराख्न आग्रह गरेका छौँ, हाम्रो आग्रहलाई बेवास्ता गर्नेलाई कानूनी दायरामा ल्याउनेछौँ’, उनले भने ।

विद्यालय वरपरका केही पसलमा अनुगमनका क्रममा भेटिएका चुरोट, सुर्ती, गुट्खालगायतका सुर्तीजन्य पदार्थ अनुगमन समितिले नियन्त्रणमा लिनुका साथै मादक पदार्थ बिक्री वितरण नगर्न निर्देशन जारी गरिएको अनुगमन टोलीले जनाएको छ ।

सुर्तीजन्य पदार्थ सामग्रीको प्रयोगले ससाना विद्यार्थीमा लत बस्ने र भविष्यमा गम्भीर असर पार्ने हुँदा विद्यालय क्षेत्रको करिब १०० मिटर वरपर बेचबिखन नगर्न सचेत गराइएको दिपायल–सिलगढी नगरपालिकाका निमित्त कार्यकारी प्रमुख भोजराज शर्माले बताए । उनले भने, ‘सुर्तीजन्य पदार्थको प्रयोगले ससाना विद्यार्थीमा नराम्रो असर पर्छ, त्यसैले विद्यालय वरपर उक्त पदार्थ बेच्ने नगरौँ, अभिभावक पनि सचेत हुनु जरुरी छ ।’

सुर्तीजन्य र मदिराजन्य पदार्थ १८ वर्षभन्दा मुनिका बालबालिकालाई बिक्री वितरण नगर्न जिल्ला प्रशासन कार्यालय डोटीले यहाँका व्यापारीहरुलाई निर्देशनसमेत दिएको छ । प्रजिअ टेकनारायण पौडेलले सुर्तीजन्य र मदिराजन्य पदार्थ १८ वर्षभन्दा मुनिका बालबालिकालाई बिक्री वितरण नगर्न आग्रह गरेको बताए ।

‘१८ वर्षभन्दा मुनिका बालबालिकालाई सुर्तीजन्य र मदिराजन्य पदार्थ नबेच्न सार्वजनिक सूचना निकालेका छौँ, नियम मिच्नेमाथि कडा रूपमा प्रस्तुत हुनेछौँ’, प्रजिअ टेकनारायण पौडेलले भने ।

नगर उपप्रमुख खड्काका अनुसार स्थानीय सरकारलाई अनुगमनको जिम्मा दिएपछि नगरले विभिन्न समयमा बजार अनुगमन गर्दै आएको र यस क्रममा विद्यालय क्षेत्र वरपर सुर्तीजन्य र मदिराजन्य पदार्थ हटाउनका लागि तीव्ररूपमा बजार अनुगमन गरिन लागिएको छ । रासस

Loading...