विवाह गरेको तीन मिनेटमै भयो डिभोर्स, बन्यो देशको इतिहासकै छोटो बिहे

एजेन्सी, २९ मंसिर । विवाह बन्धनमा बाँधिएको तीन मिनेटभित्रै एक जोडीले ‘डिभोर्स’ गरेका छन् । रिपोर्टसका अनुसार बेहुलाले बोलेको एक शब्दका कारण बेहुलीले विवाहलगत्तै आफ्नो सम्बन्ध तोडेको बताइएको छ ।

कुवेतमा बस्ने यो जोडी विवाह गरेर श्रीमान्–श्रीमतीको रुपमा कोर्टहाउस बाहिरसमेत पुग्न सकेनन् । यो विवाह कुवेतमा अहिलेसम्मको इतिहासमा सबैभन्दा छोटो विवाह बताइएको छ । विवाहको कानूनी प्रक्रिया समाप्त भएपछि यो जोडीले कोर्टहाउसबाहिर निस्कनै लाग्दा बेहुलीले आफ्नो विवाह अन्त्य गरेकी हुन् ।

कोर्टबाट बाहिर निस्किरहेको बेला–बेहुली हिँड्दाहिँड्दै लडेकी थिइन् । लडेपछि बेहुलाले उनलाई ‘स्टुपिड’ अर्थात् मूर्ख भनेका थिए । ‘क्यू एट न्यूज’को दाबीअनुसार बेहुलाले आफूलाई मूर्ख भनेपछि बेहुली एकदम रिसाइन् र उनको रिसको सीमा नरहेपछि उनले जजसँग तत्काल सम्बन्धविच्छेद गराइदिने माग राखिन् ।

जजले पनि उनको मागलाई सम्बोधन गरे । ती जोडीको विवाह दर्ता गराएको जजले नै तीन मिनेटपछि उनीहरूको सम्बन्धविच्छेद पनि गराएका हुन् । उक्त समाचार भाइरल भएपछि अधिकांश मानिसहरूले बेहुलीको पक्ष लिएर उनले सही निर्णय लिएको बताएका छन् ।

ट्वीटरमा आदर विनाको विवाहलाई सुरुदेखि नै असफल मानिन्छ भनेर एक व्यक्तिले कमेन्ट गरेका थिए । अर्कोले सुरुमै व्यवहार राम्रो छैन भने छोड्नु नै राम्रो हो भनेर थपेका छन् ।

Loading...