सहीद स्मारक लिगमा मछिन्द्रको विजयी सुरुआत

काठमाडौं २८ मंसिर। सहीद स्मारक ए डिभिजन लिगको उद्घाटन खेलमा मछिन्द्र क्लबले विजयी भएको छ । लिगको उद्घाटन खेलमा ब्रिगेड ब्वाइज क्लबलाई २- ० ले हरायो ।

उद्घाटन खेल दशरथ रंगशालामा हुने भनिएपनि मैदान हिलो भएको लिग आयोजक अखिल नेपाल फुटबल संघ एन्फाले एन्फा कम्प्लेक्समा आयोजना गरेको थियो । मछिन्द्रलाई विजयी बनाउन विशाल राई र दिपक राईले गोल गरे ।

जितपछि मछिन्द्रको दुई अंक भएको छ । खेल जित्दा ३ अंक हुने भएपनि गत वर्षको नन रेलिगेसन लिगमा सहभागी १४ वटा क्लब मध्ये १३ स्थानमा रहेको कारण उनको १ अंक घटाइएको हो ।

शनिबार उद्घाटन खेल भएपनि एन्फाले आइतबारको लागि तय भएको लिगको दुवै खेल स्थगित गरेको छ । आइतबार मनाङ मर्स्याङदी क्लबले जापानी फुटबल लिग यू २२ टिमसँग मैत्रीपूर्ण खेल खेल्ने भएको कारण भोलीका खेलहरु स्थगित गरिएको हो ।

आइतबार संकटा र च्यासल युथ क्लब तथा त्रिभुवन आर्मी र फ्रेण्ड्स क्लबबीच खेल हुने तय थियो ।

Loading...