visit-nepal

भ्रमण वर्षको पैदलयात्रामा महिला टोली

झापा २८ मंसिर । ‘नेपाल भ्रमण वर्ष २०२०’ को प्रवर्द्धनको लागि झपाको मेचीनगरबाट महिलाहरुको एक टोली स्थानीय पर्यटकीयस्थलको पैदलयात्रा (ट्रेकिंग )मा निस्किएको छ ।

शनिबार बिहान धुलाबारी मोडबाट हरियो टी सर्ट, कालो पाइन्ट र रातो जुत्ता लगाएर यात्रामा निस्किएको महिला टोलीमा मेचीनगरका ३५ अगुवा महिला छन् ।

मेचीनगर नगरपालिकाकी उपप्रमुख मीना पोखरेल उप्रेतीले पैदलयात्रामा निस्किएका महिलालाई ‘साहसी महिला’को संज्ञा दिँदै अबिर टीका लगाएर यात्राको सुरु गरेकी थिइन् । उनले महिला मात्रै सहभागी पैदलयात्रा झापामा पहिलोपटक भएको भन्दै महिला चुलोचौकामा सीमित हुने जमाना नभएको बताइन् ।

पैदल टोलीले मेचीनगरको थोप्लेविरान पर्यटकीय क्षेत्र, शान्तिनगरस्थित भाषाशास्त्री महानन्द सापकोटाको जन्मस्थल देवानछाप हुँदै बुद्धशान्ति गाउँपालिकाको सुनमाईस्थित धारागोला दृश्यावलोकन स्तम्भसम्मको १९ किलोमिटर यात्रा सम्पन्न गर्ने टोलीप्रमुख रेणुका डाँगीले बताइन् ।

टोलीमा मेचीनगरको राजनीतिक, सहकारी, शिक्षा, पत्रकारिता, साहित्य र खेलकुद क्षेत्रमा क्रियाशील सङ्घसंस्थाका अगुवा रहेका छन् । राष्ट्रिय झण्डा र भ्रमण वर्षको लोगो बोकेर उनीहरुले पैदलयात्रा थालेका हुन् ।

Loading...