visit-nepal

महेन्द्रनगरमा बम विस्फोट : प्रहरी निरीक्षकसहित तीनजनाको मृत्यु

जनकपुरधाम २८ मंसिर । धनुषामा भएको बम विस्फोटनमा परि प्रहरी निरीक्षकसहित तीन जनाको मृत्यु भएको छ ।

धनुषाको छिरेश्वरनाथ नगरपालिका ५ महेन्द्रनगर बजार नजिक बम विष्फोट हुँदा घाइते भएका प्रहरी निरीक्षक (इन्स्पेक्टर) अमिरकुमार दाहालको उपचारको क्रममा आज बिहान मृत्यु भएको छ । उनको सुनसरीको धरानमा रहेको बिपीकोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारको क्रममा मृत्यु भएको हो ।

महेन्द्रनगर बजार नजिकैको कुचाइ टोलका राजेश साहको घर बाहिर पोलमा राखिएको बम गएराति विष्फोट हुँदा राजेश र उनको छोरा आनन्दको घटनास्थलमै मृत्यु भएको थियो । इन्स्पेक्टर दाहालको पनि मृत्यु भएपछि बम विष्फोटमा ज्यान गुमाउनेहरुको संख्या तीन पुगेको छ ।

राजेश साहको घर बाहिरको पोलमा शंकास्पद वस्तु रहेको जानकारी पाएपछि इलाका प्रहरी कार्यालय महेन्द्रनगरबाट प्रहरी निरीक्षक दाहाल नेतृत्वको टोली खटिएको थियो । पोलमा बम भएको आशंकामा भिडभाड हटाउँदै गर्दा विष्फोट भएको थियो । बम विष्फोटमा दाहालको कोखामा छर्रा लागेको थियो ।

घटनामा घाइते भएका राजेश साहकी छोरी अञ्जली, छोरा प्रकाश र प्रहरी जवान रिजनाथ कुमार महतोको उपचार जारी छ । बम विष्फोट गराउनेको पहिचान हुन सकेको छैन् ।

Loading...