visit-nepal

ग्रामीण सौन्दर्यको प्रतिविम्व : पृथ्वीको आविष्कार (समालोचना)

saf
–प्रकाश कोइराला, सिन्धुली

कवि सुन्दर कुरुप सुरुमै भन्नुहुन्छ– ‘मलाई गाउँ असाध्यै प्यारो लाग्छ र गाउँका कविताहरू लेख्ने गर्छु । किनकी मेरी आमा गाउँमै बस्नुहुन्छ ।’ अतः पृथ्वीको आविष्कार गद्य कविता संग्रह पनि ३७ थान गाउँहरूको एउटै पृथ्वी आविष्कार गरेर सुरम्य बनेको छ । जोकोहीको विश्वभरिको यात्राको प्रथम प्रस्थानबिन्दु कुनै गाउँ नै हुन्छ, विश्वभरिबाट फर्केर आउने अन्तिमबिन्दु पनि गाउँ नै हुन्छ । यो पृथ्वीको जैविक आविष्कार गाउँहरूले नै गरेको हो भन्ने तर्क कविले अघि सारेका छन् ।

गाउँबेशी, मेलापात, घाँसदाउरा र गोठालो गर्दाखेरिका समयमा गाउँलेहरूका मनमा अङ्कुराउने पिरतीका मुनाहरू र जिन्दगीका जरुवाहरूलाई जस्ताको तस्तै खिपेर विम्व र प्रतीकको यथोचित प्रयोग गर्न कवि सफल भएका छन् । अफगानिस्तानमा सुरक्षा गार्ड बनेर उभिँदाउभिँदै पतिले ज्यान गुमाएपछि विक्षिप्त बनेकी बालसखालाई बाल्यकालको रोमान्टिक क्रियाकलापहरू स्मरण गराउँदै तिम्रो निम्ति पुनः सुन्दर, सुन्दर पृथ्वीको आविष्कार गर्न सक्छु भन्दै आशारूपी ढाडस दिने ‘पृथ्वीको आविष्कार’ शीर्षक कविता साह्रै घतलाग्दो र हृदयस्पर्शी बनेको छ ।

पृथ्वीको आविष्कारले गाउँ सम्झेर नोस्टाल्जिक बन्न मात्रै सघाउँदैन, यसले त गाउँभित्रै पृथ्वी रचेर रोमान्टिक बन्न पनि उत्साहित पार्छ । बाउ, बाँसझ्याङ, बाटो, भेट्न नसकेका साँझहरू, नयाँ ईश्वर, बाहुन बाजेको सम्झना, रक्सी नपिएको साँझ जस्ता अर्ग्यानिक कविताहरूले पृथ्वीको आविष्कारलाई गाउँमय बनाएका छन् । ‘रक्सी नपिएको साँझ’ कवितामा उनी आफ्नो मातृप्रेमलाई यसरी छताछुल्ल पोख्छन्ः

बेलैमा घर फर्किएँ
माथि
च्यानडाँडाबारीमा कोदो टिप्न गएकी
आमालाई लिन गएँ
थरथर काम्दै गरेको आमाको हात
चाउरिँदै गएको चेहेरा
रुग्ण शरीर
राम्ररी नियालेँ
आह ! कति दर्दनाक घाऊहरू बोकेर
अस्ताउँदो रहेछ मेरी आमाको घाम !
भित्रभित्रै बेस्सरी रोएँ !
(रक्सी नपिएको साँझ, पेज ९२)

वास्तविक धरातल र गाउँका अवशेषहरूलाई सुक्ष्मतवरले खिप्न कवि सफल भएका छन् । कवि प्रकृति प्रेम र संस्कृति प्रेममा चुर्लुम्म डुबेका छन् ।
कविमा विद्रोही चेतना छ । कुशाग्रबुद्धिका पात्रहरूले आज स्वार्थ पूर्तिपश्चात गाउँलाई हेला गरेको विषयप्रति कविले कवितामार्फत् असन्तुष्टि पोखेका छन् । एउटा गरिबको जीवनमा आइपरेको कहालीलाग्दो दुर्दशालाई उनले ‘दन्त्यकथा’ शीर्षक कवितामा यसरी खिपेका छन्ः

एक बिहान
मालिकको बञ्जर खेत जोत्दै गर्दा
अचानक भेट्यो उसले
उसकी सानी छोरीले गोठाला जाँदा हराएको
पेन्सिलको एक टुक्रा
जो महिना दिन अघिमात्र
बितेकी थिईन् निमोनियाले
पेन्सिलमा भेटेर छोरीको औँला
खुब् रोयो ऊ (दन्त्यकथा, पेज ३६)

‘फूलकुमार र काठमाण्डौंको साँझ’ जस्ता कविताहरूले नेपाली गाउँले र सहरिया संस्कृति र व्यवहारको कटु यथार्थ बोल्दछन् । प्रशासन र नीति निर्माताहरूको अकर्मण्यताप्रति कवि रुष्ट छन् । परिवर्तनको बहार समानुपातिक तबरले सीमान्तकृतहरूको दुःखसम्म पुग्न नसकेको कविको गुनासो छ ।

गृहयुद्ध र त्यसले पारेको दीर्घकालीन असर र गाउँबासीहरूले बगाएका रगत–पसिना र आँसुका फेहरिस्त पोखिएका कविताहरू जसको तिमीले हत्या गर्यौ, पन्ध्र वर्षपछि साथी, खतरनाक मान्छे इत्यादिले कविता संग्रहलाई गर्विलो बनाएको छ । युद्धले गर्दा गाउँ छाडेर विस्थापित हुन बाध्य परिवार, घाँस–दाउरा काट्न खुकुरी भिरेर जङ्गलतिर जाँदै गर्दा शहीद बनाएका मान्छेहरू, बेपत्ता पारिएका मान्छेहरू तथा तिनका परिवारहरू र अङ्गभङ्गभएका घाइतेहरूप्रति कवि विशेष सहानुभूति राख्दछन् । कविताका तत्वहरू, विम्व–प्रतीक, लय र सौन्दर्यबोधमा पनि पृथ्वीको आविष्कार खरो उत्रिएको छ । कवि सुन्दर कुरुप र उहाँको कलमलाई सलाम !

Loading...