visit-nepal

साहित्य समाज परिवर्तनको प्रथम संवाहक हो : इरनकुमार राई (साहित्यकार)

इरनकुमार राई बेलबारीस्थित सगरमाथा बोर्डिङ स्कूलको प्रधानाध्यापक हुन् । आफूलाई ‘सेवक’उपनामले चिनाउने राई साहित्य, समाजसेवा, राजनीति र शिक्षण पेशामा उत्तिकै सक्रिय छन् । २०५४ सालमा साहित्यकार रेखा सुवेदीसँग प्रगतिशिल अन्तरजातीय विवाहगरेका राई हाइकु लेखनमा अब्बल छन् । उनी झण्डा कविताका लागि पनि चर्चित छन् । आफ्नो वर्तमान र भविष्यबारे उनी कोशी अनलाइनसँग यसरी कुरा गर्छन्….

साहित्य र राजनीति दुवै क्षेत्रमा क्रियाशील तपाईं आफूलाई के भन्न रुचाउनुहुन्छ ?

खासमा भन्नुपर्दा म अहिले दुवै क्षेत्रमा सफल भइसकेको छैन । मेरो अहिलेको अवस्थामा आफूलाई सङ्घर्षी नै भन्छु म । यद्यपि, स्थापितकै कुरा गर्ने हो भने साहित्य र राजनीति बाहेक म सामाजिक सेवा र शैक्षिक क्षेत्रमा पनि उत्तिकै सक्रिय छु जस्तो लाग्छ ।

समाज रुपान्तरणको निम्ति साहित्यको भूमिका कस्तो रहन्छ ?

अत्यन्तै महत्वपूर्ण । अझ भनौं अहम् भूमिका रहन्छ साहित्यको । साहित्यविना समाज रुपान्तरण असम्भव छ । समाज परिवर्तनका निम्ति हरेक मानिसले साहित्यलाई बुझ्न र जान्न जरुरी हुन्छ । साहित्य भनेको कविता, गजल, कथा लेखन, उपन्यास आदि मात्र बुझ्छन् मान्छेले । तर त्यस्तो होइन । साहित्य भनेको आम मानिसहरूको दैनिक जीवनसँग सम्बन्धित कुराहरू हो । जस्तैः हाम्रो आमाले कस्तो बोल्नुहुन्छ त्यो पनि साहित्य हो, अर्काकी आमाले कस्तो बोल्नुहुन्छ त्यो पनि साहित्य नै हो । बोलिने शब्दहरू, लवजहरू हाम्री आमाको अर्काकी आमासँग मिल्न पनि सक्छ अथवा विपरीत हुन पनि सक्छ । मानिसलाई गाली गर्नु, आशीर्वाद दिनु सबै साहित्य हो । तर आम मानिसहरूले चाहिँ हामीले सुनिरहेको शब्दहरूलाई अलि घुमाएर लेख्नुलाई नैे साहित्य बुझेका छन्, यो कुरा परिवर्तन हुन जरुरी छ । साहित्य भनेको मानिसको शरीरमा रहेको अदृश्य अंग हो यसको सही उपयोगले समाज परिवर्तन सम्भव रहन्छ ।

साहित्य सकारात्मक भयो भने समाज अगाडि बढ्दछ, साहित्य स्थिर रह्यो भने समाज पनि स्थिर रहन्छ । साहित्य पश्चगामी (उच्छृङ्खल) भयो भने समाज भ्रष्ट हुन्छ । त्यसैले साहित्य समाज परिवर्तनको पहिलो संवाहक हो ।

के कुराले लेख्न प्रेरित गर्‍यो तपाईंलाई ?

मलाई दुई चिजहरूले साहित्य सिर्जनामा प्रेरित गरिरहेको हुन्छ । पहिलो प्रकृतिको नियम, दोस्रो सामाजिक विभेद अथवा सङ्कटहरू । किनभने संसारकै सबैभन्दा ठूलो भण्डार भनेको प्रकृति हो । यसमा हरेक कुराहरूको उपस्थिति पाइन्छ, प्रकृतिमा रमाउँदै गर्दा कहिलेकाँही समाजमा रहेका विभेद, समस्या र अन्य होचा–अग्ला कुराहरूले हस्तक्षेप गरी सामाजिक मर्यादा भड्ड पनि हुने गरेका छन् । प्रकृतिको सौन्दर्यलाई शब्दमा पोत्न र सामाजिक सङ्कटविररुद्ध आवाज उठाउन मैले साहित्य सिर्जनालाई रोजेको हुँ ।

२२ वर्षअघि नै अन्तरजातीय विवाह गर्नुभयो, सामाजिक, पारिवारिक समस्या आएनन् ?

हामीले त्यस्तो कुनै प्रकारको समस्या भोग्नु नै परेन । मेरो परिवारको त प्रत्यक्ष सहभागिता थियो । हाम्रो विवाहमा जम्मा २१ जना उपस्थित थियौं । मेरी श्रीमतीको माइतीतर्फबाट पनि त्यस्तो कुनै प्रकारको विरोधहरू थिएन । हामीले प्रगतिशील विवाह गरेका हौं । त्यति बेलाका गा.वि.स.का उपाध्यक्ष, दुई विद्यालयका प्रधानाध्यापक, वडाध्यक्ष साथै अन्य विशिष्ट मानिसहरू पनि हाम्रो विवाहमा सहभागी हुनुहुन्थ्यो ।

तपाईं झट्ट हेर्दा कहिल्यै नहाँस्ने कडा स्वभावको मानिस जस्तो देखिनुहुन्छ, तपाईं आफूलाई चाहिँ के गर्दा रमाइलो लाग्छ ?

मलाई सबैखाले चिज गर्न रमाइलो लाग्छ । झट्ट हेर्दा नहाँस्ने देखिए नि म संसारकै धेरै हाँस्ने व्यक्तिमध्ये एक पर्छु होला । जिन्दगीमा मानिसलाई तीन वटा चिज चाहिन्छ भन्ने मेरो व्यक्तिगत बुझाई हो । ड्राइभिड्ड, स्विमिङ र संगीत, यी तीनै वटा जान्ने मानिस जिन्दगीमा जहिल्यै सुखी हुने गर्दछ । उसलाई सुख हुन भीड पनि चाहिँदैन, एक्लै बस्न पनि पर्दैन । खासमा भन्ने हो भने म ओखरशैलीको मान्छे हुँ, बाहिर हेर्दा कडा भित्रबाट नरम ।

तपाईँलाई हाइकु लेख्न के कुराले प्रेरित गर्‍यो ?

अहिले मान्छे निकै व्यस्त छ, ठूल–ठूला महाभारत, रामायण, गीता जस्ता धार्मिक ग्रन्थहरू, वार एण्ड पिस, पुँजीजस्ता ठूला अनि मोटा किताबहरू पढ्ने पहिलो कुरा त क्षमता नै छैन मान्छेसँग, क्षमता छ भने नि त्यसको लागि धैर्यता छैन यदि कसैसँग धैर्यता पनि छ भने पनि उसँग फुुर्सद पक्कै छैन । त्यसैले एकैसासमा पढिसकिने र एकपटक पढ्दा नै प्रस्ट बुझ्न सकिने साहित्यको छोटो विधा भएकाले हाइकु लेख्न प्रेरित भएको हुँ । पूर्वाञ्चल क्षेत्रमा हाइकु सङ्ग्रह प्रकाशन गर्ने सायद म नै पहिलो सर्जक पनि हुँला । मैले २०५७ सालमा पहिलो हाईकु सङ्ग्रह ‘जिउँदो लास’ प्रकाशन गरेको हो ।
पहिलो हाइकु सङ्ग्रह प्रकाशन गरेको हो ।

कस्तो विषयमा हाइकु लेख्न मन पराउनुहुन्छ ?

मेरो हाइकुमा समसामयिक राजनीतिक व्यंग्य, विद्रोह, द्वन्द्व र त्यसको असर, प्रगतिवादी चेत, विकृति–विसंगतिप्रति सुधारात्मक आव्हान अभिव्यक्त गरिएको हुन्छ, यस्तै विषयमा लेख्न रुचाउँछु ।

तपाईँ सबैभन्दा सानो आकारको हाइकु प्रकाशनको लागिप निचर्चित हुनुहुन्छ, यस्तो सोच कसरी आयो ?

नेपाली भाषामा लेखिएका हाइकुले नेपालीपन लिनुपर्छ । विम्ब हाइकुको मुटु हो, यसले मात्र हाइकुको मर्म बोक्न सक्छ । हाइकुलाई तोडमोड गरेर केवल बाहिरी खोल मात्र निमार्ण गर्नु हाइकुको मर्म होइन । म सधैं यो कुरामा सर्तक रहने गरेको छु । म सधैं नेपाली साहित्यमा केही नौला प्रयोग गर्न चाहन्थें, यसैको नतिजा नै सानो आकारको हाइकु सङ्ग्रह प्रकाशन हो । पहिलो सानो आकारको हाइकु सङ्ग्रह ‘सङ्कटकाल’ वि.सं.२०६२ सालमा प्रकाशन गरिएको हो । यसको लम्बाई ४.८ से.मी. छ भने चौडाई ४.२ से.मी. छ । अर्को हाइकु सङ्ग्रह ‘दहीचिउरे’ भने ०६६ सालमा प्रकाशन गरिएको हो । त्यसको लम्बाई ३ से.मी. छ भने चौडाई २.५ से.मी. रहेको छ ।

df

तपाईंको ‘झण्डा कविता’ के हो ? कहिले कहाँबाट प्रकाशन भएको थियो ?

हाइकु जापानी परम्परागत काव्य साहित्यबाट विश्वभर फैलिएको काव्यविधा हो, गजल अरबी साहित्यको काव्यविधा हो । त्यसैगरी विश्वमा नेपाली साहित्यको काव्यविधा के हो कसैले सोध्यो भने उत्तर दिन सकिने अवस्था अहिलेसम्म छैन । किनकि नेपाली साहित्यको विधा नै छैन । धेरै साथीभाइहरूले धेरै किसिमको प्रस्ताव गर्नुभएको पनि हो । त्यसमा डम्बर पहाडीले ‘एलाक’ प्रस्ताव गर्नुभएको छ । एलाक भनेको एक लाइनको कविता हो । यसैक्रममा मैले सिर्जना गरेको ‘झण्डा कविता’ कविताकै एउटा रूपमा विकास गरेको नेपाली विधा हो भनेर प्रस्ताव गरेको हो । झण्डा कविता सङ्ग्रह वि.सं. २०६० सालमा छावा प्रकाशन बेलबारीबाट प्रकाशन गरिएको हो ।

कविताको संरचनाबारे पनि केही भनिदिनुहोस् न ?

नेपालको राष्ट्रिय झण्डाको आकारमा रहेको यो कविताको ढाँचा ३, ५, ७, ९, ११, ९, ७, ५, ३ भएर विस्तार भएको छ । सूर्यखण्ड र चन्द्रखण्ड गरी कवितालाई दुई खण्डमा विभाजन गरिएको छ । चन्द्रखण्डमा समस्याकथन गरिन्छ भने सूर्यखण्डमा समस्याको नतिजा अथवा प्रतिक्रिया उजागर गरिन्छ । चन्द्रखण्डमा ९ हरफ र सूर्यखण्डमा ९ हरफ गरी जम्मा १८ हरफमा झण्डा कविता टुड्डिन्छ । झण्डा कविताको अर्को खासियत भनेको यसको शीर्षक छुट्टै लेखिँदैन, कविताकै कुनै हरफमा शीर्षकलाई बोल्ड अक्षरमा लेखिने गरिएको छ । यस कवितालाई म आफैंले नेपाली राष्ट्रिय झण्डाको अनौपचारिक आकार पनि भन्ने गरेको छु ।

राष्ट्रिय झण्डाको अनौपचारिक आकारचाहिँ किन ?

नेपालको औपचारिक राष्ट्रिय झण्डा दुई त्रिकोण मिलेर बनेको छ, झण्डाको आधार सिधा छ । माथिल्लो र तल्लो दुवै भागका त्रिभुजहरू सुताएको जस्तै देखिन्छन् भने त्रिभुजका भुजाहरू समान हुँदैनन् । तर झण्डा कविताको त्रिभुजहरूका भुजा समान हुन्छन् । अहिलेको घोषित औपचारिक राष्ट्रिय झण्डा जुन आकारको छ त्योभन्दा पहिलेको झण्डाको आकारजस्तै कविताको आकार भएकाले झण्डा कवितालाई राष्ट्रिय झण्डाको अनौपचारिक आकार भन्ने गरेको हुँ ।

बेलबारी साहित्य विकास समितिको प्रमुख सल्लाहकार हुनुहुन्छ, यसले के काम गर्छ ?

यसको अनौपचारिक गठन २०६६ सालमा भएको हो, गठनपश्चात यसले बेलबारीमा अकल्पनीय कार्यहरू सफलतापूर्वक सम्पन्न गरेर देखाएको पनि छ । यस संस्थाले केन्द्रभड्ड गर्ने तरिकाले काम गरेको छ । देशका दिग्गज व्यक्तित्त्वहरू,राजधानी काठमाडौंबाहिर साहित्यिक कार्यक्रममा सहभागी हुन कतै पुग्नुभएको छ भने त्यो बेलबारी साहित्यक विकास समितिले बेलबारीमा आयोजना गरेको कार्यक्रममा पुग्नुभएको छ र यो कुरा गर्व गर्नलायक छ । विभिन्न समयमा विभिन्न कार्यक्रमहरू गर्नुका अलावा पुस्तक प्रकाशनमा पनि यस संस्था लागिपरिरहेको छ ।

साथै संस्थाले साहित्य पुरस्कार र कला पुरस्कारको सुरुआत पनि गरेको छ । प्रथमपटक साहित्य पुरस्कारबाट साहित्यकार हर्कमान तामाङलाई सम्मान गरिएको छ भने कला पुरस्कारबाट श्यामगौतमलाई सम्मान गरिएको छ ।

तपाईं एउटा विद्यालयको प्रधानाध्यापक, समाजसेवा, राजनीति र साहित्यमा पनि सक्रिय हुनुहुन्छ, समयको व्यवस्थापनमा समस्या हुँदैन ?

पहिलो कुरा मानिसले काम कति गर्ने, कति खटिने भन्ने कुरामा भर पर्छ । म प्रायः दिनमा १५–१६ घण्टा नै काम गरिरहेको हुन्छु, कुनै दिन १८ घण्टासम्मै पनि काम गरिरहेकै हुन्छु । अन्तर्राष्ट्रिय रूपमा हेर्ने हो भने २४ घण्टालाई तीन भागमा विभाजन गरिएको हुन्छ, ८ घण्टा काम, ८ घण्टा मनोरञ्जन हुन्छ भने ८ घण्टा आराम भनिएको हुन्छ तर हाम्रो समाजलाई यो सुहाउँदैन । हाम्रो समाज तीव्र विकास गर्नुपर्नेमा पर्छ ।

a

यतिबेला हामी १५–१६ घण्टा काममा खटेनौँ भने हामीले सोचेअनुरुपको विकास हँुदैन । यदि यसो गर्न सकेनांै भने हाम्रो भावी सन्ततिले सही समाज पाउँदैनन् अथवा विश्वका अरु मुलुकहरूको दाँजोमा धेरै पछि पर्छन् । चिनियाँहरू किन विकसित छन् भने उनीहरू हरबखत काममा व्यस्त हुन्छन्, काम गर्न थालेपछि उनीहरू संसारलाई भुलेर काम गर्छन् र आफ्नो काम के हो त्यसैमा खुशी खोजेर रमाउन थाल्छन् ।

हामीले पनि त्यसै नै गर्ने हो । म जुनकामहरू गरिरहेको छु त्यसैमा रमाइरहेको हुन्छु र प्रायःजसो कार्यक्रमहरू पूर्वनिर्धारित पनि हुने गर्छन् त्यसैले समय व्यवस्थापनमा खासै गाह्रो पर्दैन ।

आगामी दिनमा तपाईंको साहित्यर समाजसेवाको योजना के छ ?

साहित्य क्षेत्रमा ०७६/७७ सालमा तीनदेखि पाँच वटा पुस्तकहरू प्रकाशन गर्ने पक्षमा छु, । त्यसमा हाइकुसङ्ग्रह, व्यङ्ग्य–निबन्धसङ्ग्रह, गजलसङ्ग्रह, कथासङ्ग्रह र कवितासङ्ग्रह हुनेछन् । सामाजिक क्षेत्रमा समग्र बेलबारी नगर क्षेत्रभित्र रहेका प्राकृतिक स्रोतहरूको पहिचान गरी, भइरहेको विकास निमार्ण कार्यहरूको निरीक्षण, पहरेदारी गरी, नगर क्षेत्रभित्र रहेका बेथिति एवम् समस्याहरूको उचित समाधान खोज्दै भएका जनशक्तिहरूको व्यवस्थापन गरी बेलबारीलाई एउटा सभ्य विकसित क्षेत्र बनाउन नेतृत्त्वदायी भूमिका निर्वाह गर्नेछु ।

प्रस्तुति : बबिता लिम्बू (प्रशिक्षार्थी पत्रकार कोशी अनलाइन)

Loading...