visit-nepal

नेपाल छिटो विकास गर्ने मुलुकको सूचीमा : अर्थमन्त्री खतिवडा

भद्रपुर २७ मंसिर । अर्थमन्त्री युवराज खतिवडाले नेपाल अहिले सबैभन्दा छिटो विकास भइरहेका विश्वका दश मुलुकको सूचीमा पर्ने बताएका छन् । उनले यो आर्थिक समृद्धिका लागि यो सकारात्मक सूचक हुने समेत बताए ।

मेची बहुमुखी क्याम्पसको प्रशासनिक भवनको शुक्रबार उद्घाटन कार्यक्रममा बोल्दै अर्थमन्त्री खतिवडाले दक्षिण एशियामा नेपाल र बङ्गलादेशको आर्थिक वृद्धिदर अन्य देशको भन्दा माथि भएको बताए।

वर्तमान सरकारले मुलुकको आर्थिक क्षेत्रमा लिएका नीतिको सकारात्मक नतिजा विस्तारै देखिने बताउँदै उनले अघिल्लो सरकारले सुरु गरेका अधुरा विकासका आयोजनालाई समेत पूर्णता दिन बजेट छुट्याइएको बताए ।

अन्तर्राष्ट्रियस्तरमा बिक्ने र प्रतिस्पर्धा गर्नसक्ने शिक्षाको विकास गर्न सरकारले प्राविधिक, वैज्ञानिक र व्यावसायिक शिक्षामा लगानी गर्ने नीति लिएको उनको भनाइ छ । अर्थमन्त्री खतिवडाले मेची बहुमुखी क्याम्पसको बन्न लागेका भौतिक संरचना निर्माणमा आर्थिक अभाव हुन नदिने प्रतिबद्धता पनि जनाए ।

अर्थमन्त्री खतिवडा र पूर्वउपप्रधानमन्त्री कृष्णप्रसाद सिटौलाले शुक्रबार झापाको भद्रपुर–८ मा रहेको क्याम्पस परिसरमा नवनिर्मित प्रशासनिक भवनको उद्घाटन र बन्न लागेको महिला छात्रावासको शिलान्यास गरे । त्रिभुवन विश्वविद्यालय अनुदान आयोग र नेपाल सरकारको सहयोगमा क्याम्पसका सबै संरचना निर्माण हुने भएका छन् ।

Loading...