इन्टर मिलान च्याम्पियन्स लिगबाट बाहिरिँदा बुफोन दुःखी

एजेन्सी, २७ मंसिर । इटालियन क्लब युभेन्टसका गोलरक्षक जियानलुइगी बुफोन इन्टर मिलान च्याम्पियन्स लिगबाट बाहिरिँदा निराश बनेका छन् । इटालियन क्लब इन्टर च्याम्पियन्स लिगको समूह चरणबाटै आउट भएपछि बुफोन दुःखी भएको उनी आफैंले बताएका हुन् ।

समूह चरणको अन्तिम खेलमा स्पेनिस क्लब बार्सिलोनासँग २–१ गोलले पराजित भएपछि इन्टर च्याम्पियन्स लिगबाट बाहिरियो । ऊ समूह ‘सी’मा तेस्रो हुँदै आगामी सिजन युरोपा लिग खेल्न बाध्य भयो । सो समूहबाट समूह विजेता हुँदै बार्सिलोजा र उपविजेता हुँदै जर्मन क्लब बोरुसिया डर्टमुण्ड अन्तिम १६ मा पुगे ।

इन्टरको च्याम्पियन्स लिगको यात्रा सकिएपछि बुफोनले आफू दुःखी भएको बताए । उनले इटालियन समाचार एजेन्सी ‘एएनएसए’सँगको कुराकानीमा भने, ‘म क्षमाप्राथी छु । इन्टर प्रतियोगिताबाट बाहिरियो । इन्टर इटालियन फुटबलको एक शानदार क्लब हो । तर, ऊ अन्तिम १६ मा प्रवेश गर्नु पर्थ्यो । यसमा मलाई दुःख लागेको छ ।’

‘सोमबार यसको अघिल्लो चरणको ड्र घोषणा हुनेछ’, उनले थपे, ‘म व्यक्तिगत रूपमा नापोली र एटलान्टालाई बधाई दिन चाहन्छु । र, अघिल्लो राउण्डका लागि शुभकामना पनि दिन्छु ।’

Loading...