फोक्सो क्यान्सरका केही लक्षणहरू यस्ता छन्

विराटनगर, २७ मंसिर । जाडोको समयमा श्वासप्रश्वासमा गडबडी हुने, दम बढ्ने, तथा पुरानो दम बढ्ने हुने हुँदा फोक्सोमा समस्या देखा पर्नसक्छ । अहिलेको समयमा महिला र पुरुष दुवैमा हुने फोक्सोको क्यान्सर मृत्युको प्रमुख कारण बन्दै आएको छ ।

फोक्सोमा रहेका कोषहरूको असामान्य रूपमा वृद्धि भएर परिवर्तन भएमा फोक्सोको क्यान्सर हुन्छ । फोक्सोमा क्यान्सर भएमा फोक्सोको कोशिका अनियन्त्रित रूपमा बढ्न गइ ट्यूमरको रूपमा परिणत हुँदै जान्छ । धुम्रपान, मदिरापान तथा सूर्तीजन्य पदार्थको सेवनका कारण पनि मानिसहरुमा फोक्सोको क्यान्सर बढ्दै गएको छ । धुम्रपानलाई फोक्सोको क्यान्सरमा प्रमुख कारक तत्त्व मानिने गरिन्छ ।

चिकित्सक तथा वैज्ञानिकहरूका अनुसार हरेक १० जना धुम्रपान गर्नेमध्ये ८ जनालाई फोक्सोको क्यान्सर हुने सम्भावना देखिन्छ । जोखिम भने धुम्रपान गर्नेमा धेरै हुने हुँदा धुमपान नगर्नेलाई फोक्सोको क्यान्सर नहुने भन्ने हुँदैन । प्यासिभ स्मोकर अर्थात् चुरोट पिउनेहरूको अगाडि बस्दा हावासँगै चुरोटको धूँवा पनि तानिने हुँदा फोक्सोको क्यान्सरको खतरा हुने गर्छ ।

फोक्सोको क्यान्सर वंशानुगत रूपमा सर्दैन । नसर्ने भए पनि लाग्ने सम्भावना बढाउने हुँदा वंशाणुगत कारणले पनि फोक्सोको क्यान्सर निम्त्याउन सक्छ । चिसो मौसम, वायु प्रदुुषण, कमजोर रोग प्रतिरोधात्मक क्षमता, फोक्सोसम्बन्धी दीर्घकालीन रोग, एचआइभी संक्रमण भएका व्यक्तिहरूलाई पनि फोक्सोको क्यान्सर हुन सक्छ ।

फोक्सोको क्यान्सर भएमा खोकी लाग्ने, कफ आउने, स्वाँस्वाँ हुने, खकारमा रगत देखिने, एक्सरे गर्दा छातीमा दाग देखिनेलगायतका लक्षणहरू देखा पर्दछ । फोक्सोको क्यान्सरको प्रमुख लक्षण भनेको कफ आउने खोकी भएकोले बारम्बार खोकी लागेमा तुरुन्तै चिकित्सकका जानु आवश्यक हुन्छ । कसैलाई लक्षणहरू नदेखिन पनि सक्छ ।

फोक्सोको क्यान्सर जटिल भएकाले यो रोग सजिलै पत्ता लगाउन नसक्ने हुँदा धुम्रपान धेरै गर्ने मानिस, लक्षण देखापरेमा, दमको रोगिहरू तथा निश्चित उमेर कटेपछि फोक्सोको क्यान्सर भए नभएको हेर्न बेलाबेलामा डाक्टरलाई देखाएर एक्स रे, सिटी स्क्यान, पेटको स्क्यान तथा रगतको जाँच गरेर फोक्सोको क्यान्सर भए नभएको पत्ता लगाउनुपर्छ ।

Loading...