युवतीको आँखाबाट ४ वटा जीवित मौरी निस्किएपछि

एजेन्सी, २७ मंसिर । ताइवानकी २८ वर्षीया युवती आँखामा समस्या आएपछि जाँच गराउन अस्पताल पुगेकी मिस हिको आँखाबाट डाक्टरले चारवटा जिवित मौरी फेला पारेका छन् । चीनमा हुने क्विंग मिङ्ग तम्ब स्विपिंग फेस्टिबलका लागि चिहान गएकी मिस हि हावाका कारणले आफ्नो आँखामा धूलो परेको कारणले समस्या आएको अनुमान लागेकी थिइन् ।

तर, केही छिनपछि आँखा रातो र सुन्निन थालेपछि उनी हतारिँदै फुयिन युनिभर्सिटी अस्पताल पुगेकी थिइन् । बिबिसीका अनुसार जब अस्पतालका अप्थोमोलोजी डिपार्टमेन्टका प्रमुख डा. हुङ चितिङले उनको आँखा जाँच गर्न थाले, उनको आँखा बन्द हुन नसकेको र माइक्रोस्कोपको सहायताले किराजस्तो केही कालो चलिरहेका स–साना खुट्टा देखेपछि उनले बिस्तारै फोर्सेपले एउटा निकाले । उनले एकपछि अर्को गर्दै आँखाबाट ४ वटा जीवित मौरीहरू निकालेका थिए ।

डा. हुङ का अनुसार हावाका कारण यी मौरीहरू उडेर आँखामा छिरेको र आँखामा टाँसिएका थिए । मौरीहरू उनको आँखाको आँशु खाइरहेको डाक्टरले पत्ता लगाए । मानिसहरूलाई आक्रमण नगर्ने यी मौरीहरू पसिना खान मनपराउने हुँदा यिनीहरूको नाम स्वेट बिज रहेको छ ।

मिस हिले कन्ट्याक्ट लेन्स लगाएका कारण आफ्नो आँखा मिच्न पाएकी थिइनन् । तर, यदि उनले आफ्नो आँखा मिचेकी भए उनको लेन्स भाँचिएर मौरीहरूले निकालेको विष उनको आँखाभित्र छिर्न सक्ने भएकाले उनी अन्धोसमेत हुन सक्थिन् । अस्पतालका डाक्टरहरूले आँखामा मौरी भेटिएको यो विश्वकै पहिलो घटना भएको बताएका छन् । र, उक्त जीवित मौरीहरूलाई रिसर्चको लागि पठाइएको छ ।

Loading...