हिमपातका कारण परीक्षामा लेख्न नसकेर रोए विद्यार्थी

हुम्ला, २७ मंसिर । हुम्लामा दोस्रोपटक बिहीबारदेखि हिमपात हुँदा सरदमुकाम सिमकोटका विद्यार्थीले आगोको सहायतामा परीक्षा दिन बाध्य भएका छन् ।

सदरमुकाम सिमकोटमा रहेको बालमन्दिर माध्यामिक विद्यालयमा आजदेखि एकसाथ सञ्चालन भएको वार्षिक परिक्षामा परिक्षार्थीले बाहिर हिमपात हुँदा कक्षाकोठाभित्र चिसोले थरथर काम्दै परीक्षा दिनुपर्ने बाध्यता रह्यो । आज पहिलो दिन सञ्चालन भएको वार्षिक परीक्षामा कक्षा १ र २ मा अध्ययन गर्ने विद्यार्थीले वार्षिक परीक्षा आगोको सहायताले परीक्षा दिएका छन् ।

कक्षा १ मा २५ विद्यार्थी रहेका छन् भने कक्षा २ मा १२ विद्यार्थीले आगोको नजिक बसेर परीक्षा दिएका छन् । बालमन्दिर माविका शिक्षिका पार्वती रावतका अनुसार हिमपातमा सहभागी विद्यार्थीका लागि अन्य वैकल्पिक उपाय नहुँदा आगो बालेर पालैपालो विद्यार्थीलाई आगो तपाउँदै लेख्न लगाउने गरेको बताइन् ।

स्थानीय तहस्तरीय भएका कारणले सिमकोट गाउँपालिकाले वडा नं १ देखि ८ सम्म रहेका सबै विद्यालयमा आजदेखि परीक्षा सञ्चालन गर्ने निर्णय गरे अनुसार आजदेखि परीक्षा एकसाथ सञ्चालन गरिएको शिक्षिका रावतले बताइन् ।

लेख्न नसकेर कक्षा १ र २ का विद्यार्थी रुन थाले पनि कक्षाकोठमाभित्रै आगो बालेर समूहसमूहमा राखी आगो तपाउँदै लेख्न लगाउने गरेको शिक्षिका रावतले बताइन् । आजदेखि सञ्चालन भएको वार्षिक परीक्षामा हिमपातले लेख्न कठिनाइ भएको बालमन्दिर माविका विद्यार्थी ममता भण्डारीले बताइन् ।

यस्तै सदरमुकाम सिमकोटमा रहेका मानसरोवर माध्यामिक विद्यालय, बालमन्दिर मावि, भीमसेन आधारभूत विद्यालय, कालाशिल्ता प्राविमा परीक्षा दिने विद्यार्थीले चिसोले गर्दा वार्षिक परीक्षा दिन समस्या बनाएको मानसरोवर माविका प्रधानध्यापक अमरबहादुर शाहीले बताए । कक्षा ९ को वार्षिक परीक्षा दिइरहेका सन्दिप जेठाराका अनुसार बिहीबारदेखि हिमपात हुँदा आजदेखि सञ्चालन भएको वार्षिक परीक्षामा चिसोले लेख्न कठिनाइ र लेख्दालेख्दै हातका औँला बाउडिने गरेका बताए ।

हिमपातले चिसो बढ्ने भएका कारण आफूहरुले हातेपञ्जा, बाक्लो कपडा लगाएर परीक्षा दिन कक्षाकोठामा गए पनि लेख्न नै समस्या बनाएको उनले जानकारी दिए । यस्तै वडा नं ८ मा रहेका सबै विद्यालयले विद्यालय र विद्यार्थी टाढा भएका कारण आवतजावतमा समस्या देखिएकाले वार्षिक परीक्षा स्थगन गरेको छ । बिहीबारबाट निरन्तर हिमपात हुम्ला घाम नलाग्दा थुरथुर काप्दै विद्यार्थी परीक्षामा सहभागी भएको वडा ३ मा रहेको रलिङ माविका शिक्षक सूर्यमणि बोहराले बताए ।

जिल्लाको उत्तरी नाम्खा गाउँपालिकामा हिमपातका कारण पशुचौपाया, बालबच्चा, वृद्धवृद्धालाई बढी समस्या बनाएको छ । चिसोले गर्दा उत्तरी नाम्खा गाउँपालिकाका तिल, जाङ्ग, हल्जी, यारी, मुचु, गाउँका स्थानीयलाई घर बाहिर निस्केर काम गर्न कठिन भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । रासस

Loading...