सिद्धबाबालाई थप तीन दिन थुनामा राख्न अदालतको आदेश

विराटनगर, २७ मंसिर । बलात्कारको आरोप लागेका सिद्धबाबा भनिने कृष्णबहादुर गिरीलाई थप तीन दिन थुनामा राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको छ । जिल्ला अदालत सुनसरीले तेस्रो पटक तीन दिन अनुसन्धानका लागि हिरासतमा राख्न अनुमति दिएको हो ।

जिल्ला प्रहरी कार्यालय सुनसरीले बलात्कार प्रकरणका प्रमाणहरु अनुसन्धानका लागि रिपोर्ट आउन समय लाग्ने भएकाले १० दिनको समय मागेको थियो । तर शुक्रबार अदालतले तीन दिनको म्याद थप गरेको सुनसरीका डिएसपी विनोद शर्माले जानकारी दिए ।

विराटनगरको विराट नर्सिङहोममा उपचाररत गिरीलाई तेस्रो पटक म्याद थप गरिएको हो । सुनसरी अदालतले २० मंसिरमा बलात्कार मुद्धामा अनुसन्धानका लागि सात दिनको म्याद थप गरेको थियो । त्यसअघि पनि चार दिन म्याद थप गरेको थियो ।

म्याद थपपछि उनलाई उपचारका लागि पुनः अस्पतालमै राख्न अदालतले आदेश दिएको छ । महिला अनुयायीले ४ कात्तिकमा आफूलाई बलात्कार गरेको भन्दै सिद्धबाबाविरुद्ध किटानी जाहेरी दिएपछि सुनसरी प्रहरीले उनलाई १६ मंसिर बिहान पक्राउ गरेको थियो ।

उनी छाती, मुटु तथा प्रोस्टेट तथा मिर्गौलाको पत्थरीको उपचारका लागि भर्ना भएका थिए । १० दिनसम्म बिनाअक्सिजन समाधिमा बसेर आफूलाई सिद्ध पुरुष कहलाएका कृष्णदासलाई अझै अक्सिजनमा राखिएको छ ।

Loading...