‘एल क्लासिको’ खेल्नुअघि मेस्सीले भने, ‘रियल अहिले बलियो छ’

एजेन्सी, २७ मंसिर । बार्सिलोनाका कप्तान मेस्सीले रियल मड्रिड बलियो टोली रहेको बताएका छन् । स्पेनिस ला लिगाअन्तर्गत डिसेम्बर १८ मा हुने पहिलो ‘एल क्लासिको’ अगाडि अर्जेन्टिनीले यस्तो बताएका हुन् ।

एल क्लासिको साबिकको विजेता बार्सिलोनाको मैदान क्याप नोउमा हुनेछ । हाल ला लिगाको अंक तालिकामा बराबरी अंक रहेका यी टोली यस सिजन पहिलो पटक आमने–सामने हुन लागेका हुन् ।

यस खेलअगाडि बोल्दै मेस्सीले रियल बलियो टोली भएका कारण खेलमा जे पनि हुन सक्ने बताएका हुन् । ‘एडिडास नेमेसिस १९ बुट्स’ नामक कार्यक्रममा क्रममा मेस्सीले भनेका छन्, ‘मलाई लाग्छ रियल अहिले धेरै बलियो भएको छ । उनीहरू पछिल्ला खेलमा धेरै सभ्य भइसकेका छन् ।’

मेस्सीले बार्सिलोना र रियल दुवै राम्रो फर्ममा भएको बताए । ‘पछिल्लो समय रियल र हामी दुवै राम्रो लयमा छौँ,’ उनले थपे, ‘तर उनीहरू बलिया देखिन्छन् । विशेष खेलमा उनीहरू अरु क्लबहरू कसरी आएका छन् भन्ने कुरा हेक्का राख्दैनन् ।’

Loading...