visit-nepal

बेरोजगार युवालाई विनाधितो सहुलियत ऋण

रंगेली, २६ मंसिर । युवा तथा साना व्यवसायी स्वरोजगार कोषले प्रदेश सरकार र स्थानीय सरकारसँग जोडिएर काम गर्ने भएको छ । विराटनगरमा बिहीबार कोषका कार्यकारी उपाध्यक्ष डा. प्रेम दंगालले कोष सञ्चालनका लागि संरचना सुधारको तयारी भइरहेको बताए ।

उनले कोष केन्द्रबाटमात्र सञ्चालन भएकोले संघीयताको मम अनुसार ढाँचा तयार गर्न लागिएको बताए । कोषले उपलब्ध गाराउने सहुलियत ऋण सबै बेरोजगार युवालाई सहज उपलब्ध गराउन व्यवस्था मिलाउन लागिएको उनले बताए । कोषसँग धेरै कार्यक्रम रहेकोले अब युवाले बैदेशिक रोजगारमा जानुपर्ने बाध्यतालाई हटाउने उनको भनाइ छ ।

कोषले सहकारीको माध्यमबाट युवा तथा साना व्यवसायीलाई विनाधितो ऋण उपलब्ध गराउँदै आएको छ । कोषले सहकारीलाई पहिलो चरणमा ५० लाख दिने गरेको छ । त्यसको सदुपयोग गर्ने सहकारीलाई दोश्रो चरणमा १ करोडसम्म दिने गरेको छ । यसको म्याद तीन वर्षे हुने कोषका सुनसरी कार्यक्रम संयोजक चिरञ्जिवी भट्टराईले बताए ।

सहकारीलाई कोषले दुई किस्तामा रकम उपलब्ध गराउने व्यवस्था गरेको छ । त्यसरी लिएको ऋण सहकारीले व्यक्तिलाई २ लाख र २५ जनाको समुहलाई ५० लासम्म मात्र दिनसक्ने छ । सहकारीले वेरोजगार युवालाई वार्षिक १० प्रतिशतमा ऋण उपलब्ध गराउनुपर्ने व्यवस्था कोषले गरेको छ । नियमित र समयमा ऋण चुक्ता गर्ने ऋणीलाई कोषले बुझाएको व्याजको ६० प्रतिशत अनुदान स्वरुप फिर्ता गर्ने छ ।

ऋणीले तिरेको कर्जाको ५ प्रतिशत सहकारीले राखेर बाँकी कोषलाई नै बुझाउनुपर्ने सहकारीकर्मी इश्वर बरालले बताए । आर्थिक रूपले पिछडिएका विपन्न वर्ग, महिला, दलित, आदिवासी, जनजाति, द्वन्द्वपीडित, आपाङ्ग, घाइते तथा शहीद परिवारलाई प्राथमितामा राखिएको छ ।

परम्परागत सीप भएका जात जातीहरूलाई व्यवसायिक खेती, कृषिजन्य उद्योग वा सेवामूलक स्वरोजगार कार्यक्रम सञ्चालन गर्न सहुलियत ब्याजदरमा प्रति दुई लाखसम्म आवधिक ऋण कोषले उपलब्ध गराउँदै आएको छ । उनीहरूलाई कोषले निःशुल्क तालिमको पनि व्यवस्था गर्दै आएको छ । कोषले १८ वर्ष पूरा भई ५० वर्ष ननाघेका बेरोजगार नेपाली नागरिकलाई ऋण उपलब्ध गराउँदै आएको छ ।

समृद्धिको यात्रामा सरकार

गाोष्ठीमा सहभागी प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले सरकार आर्थिक समृद्धिको यात्रामा रहेको बताए । संघीय सरकारको कार्यक्रमलाई प्रदेशसँग जोड्ने र कोषका कार्यक्रमा देखिएका समस्या हल गर्नुपर्ने उनले बताए ।

मुख्यमन्त्री राइले सबैलाई आर्थिक समृद्धिको यात्रामा सरकारले जोड्ने र त्यसको लागि वातावरण बनाउने बताए । सरकार र कोषले मात्र सम्भव नभएकाले सहकारीलागायतको माध्यमबाट सबैले आर्थिक समृद्धिमा जोडिनुपर्ने उनको भनाइ छ ।

Loading...