visit-nepal

अदालतमा घुस नियन्त्रण गर्ने मुख्य न्यायाधीशको प्रतिवद्धता

विराटनगर २६ मंसिर । उच्च अदालत विराटनगरका मुख्य न्यायाधीश तिलप्रसाद श्रेष्ठले अदालतमा हुने ढिलासुस्ती र भ्रष्टचार नियन्त्रण गर्न सक्रिय भएर लाग्ने बताएका छन । भर्खरै नियुक्त्त भएर आएका मुख्य न्यायाधीश श्रेष्ठले बिहिबार पत्रकार र नागरिक समाजसँग अन्तरक्रिया गर्दै अदालतको सेवामा सुधार ल्याउन आफू पनि घुस नखाने भएकोले अग्निपरीक्षामा उत्तीर्ण हुन सधैँ तैयार रहने भएकोले अरुलाई पनि सोहीअनुसार काम गर्न गराउन लागिपर्ने बताएका हुन् ।

उनले अदालतको सेवामा सुधार ल्याउन आफूले दैनिक मूल्याङ्कन प्रणाली सुरु गरिसकेको र बिचौलिया नियन्त्रण गर्न पास प्रणाली लागू गराएको जानकारी गराए । न्यायाधीश श्रेष्ठले जानकारीलाई जनस्तरसम्म पुर्‍याएर सेवालाई प्रभावकारी बनाउन उच्च अदालत विराटनगरले पालिकाहरूमा पुगेर अन्तर्क्रिया गर्न थालेको बताए । अदालतले उपलव्ध गराएको नि:शुल्क सेवाबारे गरिब र निमुखाहरूलाई थाहा नहुँदा अझै अदालतको सेवा प्रभावकारी बन्न नसकेको उनको भनाइ थियो ।

उनले अदालत सुधार अभियानका लागि निरन्तर कानून व्यवसायी, पत्रकार, नागरिक समाज र सेवाग्राहीहरूसँग छलफल गरिरहने अदालतको योजना पनि सुनाए । अदालतको कामकाजबारे जानकारी गराउन सूचना डेस्क स्थापना गराउने र महिला, बालबालिका र हिंसा पीडितहरूको मुद्धा अग्राधिकारमा राखेर हेर्ने बताए । न्यायाधीश श्रेष्ठले १८ महिनाभित्रका पुराना सबै मुद्धाहरू फर्छ्यौट गराउनका लागि चालु वर्षमा ३ हजार ३ सय ३६ वटा मुद्दा हर्ने जानकारी पनि गराए ।

सुधारका लागि पत्रकार र नागरिक समाजको अदालतलाई सुझाव

अन्तर्क्रियामा नेपाल पत्रकार महासंघका एक नम्बर प्रदेश अध्यक्ष विक्रम लुइँटेलले पत्रकारहरूलाई अदालती सूचनामा पहुँच सहज बनाउन आग्रह गरे । पत्रकार गणेश लम्सालले अझै अदालमा धेरैपटक पेशी हटाउन प्रचलनमा सुधार आउन नसकेको, बेच्न समयमा बस्ने नगरेकोले सुधार गर्नुपर्ने बताए । मोरङ अध्यक्ष बन्धु पोखेरेलले पनि स्वथ्य आलोचनालाई अदालले सहज रूपमा लिनुपर्नेमा जोड दिए ।

संविधानसभा सदस्य तथा उद्योगी पवन सारडाले समयमै न्याय पाउन सकेमात्रै न्यायको अनुभूति हुन्छ भने । मोरङ व्यापार संघका अध्यक्ष प्रकाश मुन्दडा, विराट व्यपार संघका अध्यक्ष सुजन थापा प्राध्यापक डाक्टर भेषप्रसाद धमला, बृद्धिजिवी सुरेशराज शर्मा, ताराचन्द खेतान, उद्योगी प्रदीप मुरारका, एबिसी नेपालकी विष्णु शर्मालगायतले अदातलले गनुपर्ने सुधारकाबारे सुझाव दिएका थिए ।

Loading...