visit-nepal

कतार एयरवेजले ‘ए’ डिभिजन लिग प्रायोजन गर्ने

काठमाडौं, २६ मंसिर । विश्वका चर्चित क्लबलाई प्रायोजन गर्दै आएको कतार एयरवेजले शहिद स्मारक ‘ए’ डिभिजन लिग प्रायोजन गर्ने भएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले मुख्य प्रायोजकका रूपमा कतार एयरवेजसँग सम्झौता गरेको हो ।एन्फाका अनुसार कतार एयरवेजले एन्फालाई प्रायोजनस्वरुप रु एक करोड ७० लाख उपलब्ध गराउनेछ ।

कतार एयरवेजले एन्फालाई दुई चरणमा रकम उपलब्ध गराउनेछ । एयरवेजले पहिलो चरणमा रु एक करोड दुई लाख तथा दोस्रो चरणमा रु ६८ लाख प्रदान गर्नेछ । यसवापत एन्फाले हरेक सहभागी टोलीको जर्सीमा कतार एयरवेजको लोगो प्रयोग गर्नुपर्नेछ । एन्फा अध्यक्ष कर्माछिरिङ शेर्पा र एयरवेजका देशीय निर्देशक मोहमद इमानले बिहीबार सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् । एन्फा अध्यक्ष शेर्पाले कतार एयरवेजसितको सम्झौताले लिग आयोजना गर्न सहज भएको बताए ।

एन्फाले पहिलोपटक लिगका लागि विदेशी कम्पनीसँग सहकार्य गरेको हो । शनिबारबाट सुरु हुने ‘ए’ डिभिजन लिग त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुनेछ । फागुन ३ गते सकिने लिगमा १४ क्लबले प्रतिस्पर्धा गर्नेछन् । जसमा कूल ९१ खेल हुनेछ । हरेक राउण्डमा ७ खेल हुने उक्त प्रतियोगिताको शीर्ष टोलीले उपाधि जित्ने छ ।

Loading...