अलग्गै पहिचान बोकेको सुन्दर देश नेपाल

संसारका सम्पूर्ण देशका नागरिकहरूको आ–आफ्नै धर्म हुन्छ, संस्कार र संस्कृति हुन्छ, भाषा र भेषभूषा हुन्छ, रहनसहन हुन्छ, रीतिरिवाज र परम्पराहरू हुन्छन् र आ–आफ्नै मूल्य र मान्यताहरू पनि हुन्छन्, यहीँ नै सबैको पहिचान, चिनारी, परिचय, वा अपनत्व हो र स्वाभिमान पनि हो । पहिचान वा चिनारी स्थापित हुने कुरामा सम्बन्धित देशको भौगोलिक अवस्था, प्राकृतिक जलवायु, नागरिकहरूको चेतना, राष्ट्रिय शिक्षा नीति, परम्परागत सँस्कृति, सभ्यता र सामाजिक वातावरणले प्रभाव पारेको हुन्छ ।

विश्वका शक्तिसम्पन्न राष्ट्रहरूले आ–आफ्नो पहिचान, अस्तित्व, धर्म, भाषा, सँस्कृति र परम्परालाई आफ्नो देशमा मात्र नभएर विश्वमै स्थापित गर्न संंसारका गरिब मुलुकहरूमा विभिन्न संघ सँस्थाको नामबाट र अन्य विभिन्न सहयोगको माध्यमबाट ठूलो धनराशी लगानी गरिरहेका छन् । यो सबै उनीहरूको आफ्नो पहिचान विस्तार गर्ने महाअभियान हो ।

safd
उद्धवकुमार घिमिरे

विश्वमा हाम्रो देश नेपाल अलग्गै पहिचान बोकेको दुनियाँको मनलाई लोभ्याउन सक्ने विविधताले भरिपूर्ण भएको सुन्दरतम देश हो । यो देश आराध्यदेव भगवान शिव र पार्वतीको तपस्थलसँगै अत्यन्त प्रियभूमि पनि हो । त्यसैगरी यो भूमि संसारले स्वीकारेको र संसारकै सबभन्दा पुरानो ग्रन्थ ऋग्वेदको उत्पत्तिस्थलसँगै वैदिक सनातन धर्मको प्रारम्भिक स्थल र देवदेवीहरूको तपस्थल पनि हो । त्यस्तै श्रीमद्भागवत महापुराणमा उल्लेख भएअनुसार जुन देशमा कृष्णसार मृग पाइन्छ त्यही देश स्वर्गभूमि हो भनिएको छ जस्तै “अकृष्णसारो देशानाम ब्रह्मण्यो शुचिर्भवेत्, कृष्णसारस्त्वसौ वीर इत्यादि” नेपालका विभिन्न स्थानका वन्यनिकुञ्ज र जङ्गलहरूमा प्रशस्त कृष्णसार मृगहरू पाइन्छन् । अतः नेपाल स्वर्गभूमि पनि हो ।

त्यसैगरी अर्को प्रमाण—बाजुरा जिल्लामा बडीमालिका देवीको मन्दिर छ । यस क्षेत्रमा यीनको धेरै ठूलो मान्यता रहेको छ । यस मन्दिरदेखि तल त्रिवेणीधाम छ । श्रीमद्भागवतमा वर्णित मन्दाकिनी (आकाशगङ्गा)यहीं छन् । मन्दाकिनी, स्थीरनदी र वेदुरूद्रा यी तीन नदीहरूको सङ्गम स्थल हो यो । यहाँ आई त्रिवेणीमा स्नान गरेर बडीमालिकाको पूजा अर्चना गर्नाले सबै मानिसले आफूले चाहेको फल प्राप्त गर्न सक्दछन् भन्ने जनविश्वास रहँदै आएको छ । त्यसैले यस पवित्रस्थलमा नेपालका विभिन्न जिल्ला र भारतसमेतबाट तीर्थ यात्रीहरूको आगमन भइरहन्छ । पुराणमा उल्लेख भएअनुसार मन्दाकिनी (आकाशगङ्गा) जहाँ बग्छिन्, त्यही देश नै स्वर्गभूमि हो भन्ने छ । अतः नेपालमै मन्दाकिनी गङ्गा हुनाले यो देशलाई स्वर्गभूमि भनिन्छ ।

विश्वका सबै मुलुकहरूले आ–आफ्नै परिचय झल्काउने गरी आफ्ना विशेष चिह्नसहितका झण्डा बनाएका हुन्छन् । यसरी बनाइने विश्वका अरु देशका झण्डाहरूको रूपाकार चारकुने छ । तर हाम्रो राष्टिय झण्डाको रूपाकार विल्कुलै भिन्न प्र्रकृतिको त्रिकोणी छ । त्रिकोणी हुनुको अर्थ –पौराणिक कथाअनुसार आर्यहरूका प्रथम राजा वैवस्वत मनुले वेदको प्रथम अक्षर ॐ हो । ॐ ले ब्रह्मा, विष्णु र महेश्वर त्रीदेवलाई बुझाउँछ र वेदका सम्पूर्ण कण्डिकाको अगाडि यही ॐ अक्षर प्रयोग गरिन्छ । जस्तै ॐ भूर्भुवः स्वः इत्यादि । वेदको द्वितीय अक्षर श्री हो । यसको अर्थ पनि ऐश्वर्य, समृद्धि र सौभाग्य गरी तीन नै हुन्छ र यो श्री अक्षर सबै भगवानका नाम र सबै पुरुषवाचक शब्दको अगाडि प्रयोग गरिन्छ । जस्तै श्रीगणेश, श्रीराम र श्रीकृष्ण आदि । यी दुवै अक्षरको अर्थ तीन तीन छ र आकार पनि त्रीकोणी छ ।

त्यसैगरी ज्योतिषशास्त्र संसारको अध्ययन र गणना गर्ने पूर्ण वैज्ञानिक शास्त्र हो । त्यसअन्तर्गतको ज्यामिति विद्या संसारका सबैखाले संरचना निर्माणसम्बन्धी काममा आउने महत्त्वपूर्ण गणित विद्या हो । यस विद्याको पढाईको सुरुआत पनि त्रिभुजबाट हुन्छ । यो त्रिभुजभित्र बनेका तीन कोणको जम्मा योग १८० डिग्री हुन्छ । यही १८० डिग्री कोणअन्तर्गत रहेर संसारका सबैखाले संरचनाका नक्साहरू बन्छन् । यही गहनतम् विचार गरेर उक्त मनुले त्रिकोणी झण्डा बनाएका थिए ।

हाम्रो झण्डाको रूपाकारसँगै चिह्न र रङ्क पनि अतुलनीय छ । अरु देशका झण्डामा राखिएका चिह्नहरू प्रायशः ताराहरू नै छन् भने हाम्रो झण्डामा सूर्य र चन्द्र राखिएको छ । तारा र सूर्य चन्द्रमामा जति महत्त्व र विशेषतामा फरक छ । त्यत्ति नै फरक चारकुने र तीनकुने झण्डामा रहेको छ । झण्डामा रहेको रातो रङ्ग हाम्रो वीरताको प्रतिक हो भने नीलो रङ्ग आकाशको प्रतिक हो । यो सबै ब्रह्माण्ड नै गोलाकार आकाशभित्र समेटिएको छ । आकाश भन्दाबाहिर केही पनि छैन । झण्डामा रहेका सूर्य र चन्द्रमामा राखिएको सेतो रङ्ग शान्तिको प्रतिक हो । हामी वीर हुँदाहुँदै पनि सधैँ शान्तिको पक्षमा उभिने भएकोले सेतो रङ्ग राखिएको हो । त्यसैगरी झण्डामा अङ्कित सूर्य र चन्द्रको अर्थ यो देशले सूर्य र चन्द्रले जस्तै सबैलाई न्यानो र शीतलता प्रदान गर्दछ भन्ने हो । अतः परार्पूवकालदेखि नै हाम्रो झण्डाको आकार सेतो, रातो र नीलो रङ्गसँगै त्रिकोणी रहेको छ । अतः भण्डाकै कारणले पनि यो देशलाई विशिष्ट भूमि भनिन्छ ।

यो देश बुद्धको जन्मभूमि हो । विक्रमादित्यभन्दा करिब २५५० वर्षपूर्व लुम्बिनीमा जन्मनु भएका भगवान् गौतम बुद्धले प्रतिपादन गरेको दर्शन बौद्धदर्शन हो । यसको मूलभूत उद्देश्य संसारमा शान्तिको प्रवद्र्धन गर्नु हो । यही उद्देश्यअनुसार यो शान्तिको सन्देश संसारका अधिकांश मुलुकहरूमा अत्यन्त दु्रत गतिमा फैैलिएर सबैले आत्मसात गरेका थिए र आज पनि संसारमा बुद्धधर्मका अनुयायीहरू अरबौँको संख्यामा रहेका छन् । मानवताको निम्ति अत्युत्तम मानिने यस धर्मको विस्तार हुनेक्रम आज पनि जारी छ र यसको महत्त्व अरु बढ्दै गइरहेको पनि छ । संसारका शान्तिको चाहना गर्ने मानव जाति र सम्पूर्ण बौद्ध धर्मावलम्बीहरूको एकमात्र पवित्र तीर्थस्थल लुम्बिनी हो । अतः प्रत्येक वर्ष लाखौँको संख्यामा बुद्धभूमि लुम्बिनीमा दर्शनार्थीहरू आउनेक्रममा अरु वृद्धि हुँदै गएको छ। बौद्धावतार भगवानको नवौं अवतार हो । त्यस्तै यो देशमा भगवानका अन्य अवतारहरू—शिव ज्योतिर्लिङ्गको प्रादुर्भाव, ब्रह्माजीको उत्पत्ति, बाराह अवतार र विष्णु अवतारसमेत भएका थिए । त्यसैले यो देशलाई अवतार भूमि पनि भनिन्छ ।

हिमालयको काखमा अवस्थित हाम्रो देशको दामोदर हिमालको दामोदरकुण्डदेखि निसृत काकनदी र मुक्तिनाथ क्षेत्रदेखि निसृत गण्डकीको सम्मिलनबाट नामाङ्कित भएकी कालीगण्डकी (कृष्णा गण्डकी) जसको गर्भबाट संसारमा कहीँकतै प्राप्त गर्न नसकिने (दुर्लभ) शालिग्राम (हिरण्यगर्भ)चक्र पाइन्छन् । पुराणमा उल्लेख भएअनुसार शालिग्राम चक्रलाई साक्षात् विष्णुको रूप मानिन्छ र शालिग्राम रहेको स्थानदेखि वरिपरिको २० कोशको एरिया पुण्यक्षेत्र हुन्छ भने यस क्षेत्रमा बस्ने सबै मानिसले मृत्युपछि मोक्ष प्राप्त गर्दछन् भन्ने कुरा पनि उल्लेख भएको छ ।

यी नै कृष्णागण्डकी र शिव त्रिशूलबाट निर्मित गोसाईँकुण्ड मुहान् भएकी त्रिशूली नदीको उत्पत्ति स्थलसमेत यी दुई नदीले परिवेष्टित मुस्ताङ, मनाङ, म्याग्दी, पर्वत, स्याङ्जा, तनहुँ, लम्जुङ्, गोर्खा र रसुवासमेतको भूभागलाई शैवक्षेत्रसँगै वैष्णवक्षेत्र (अर्थात् हरिहरक्षेत्र) भनिन्छ । हरिहरक्षेत्रको विषयमा श्रीमद्भागवत् महापुराणमा विस्तृत वर्णन गरिएको छ । यीनै कृष्णागण्डकीले संसारकै सबभन्दा गहिरो गल्छी पनि निर्माण गरेकी छन् । अतः कृष्णागण्डकी संसारमै अलग पहिचान बोकेकी सर्वोत्तम नदी हुन् । यीनको गर्भबाट उत्पन्न हुने शलिग्राम चक्रका कारण यो देशलाई शालिग्राम भूमि पनि भनिन्छ ।

उक्त दुई कृष्णागण्डकी र त्रिशूली नदीको मिलन विन्दु (वेणी) देवघाट हो । यो स्थल, यी दुई नदीसँगै अरु रुद्रावती, सेती, मादी, मर्स्याङ्दी, बुढी, दरौंदी र चेपेसहित ९ वटी नदीको सङ्गमस्थल हो । यसपछि सबै नदीको संयुक्त नाम नारायणी भएको छ । यो देवघाटक्षेत्र सत्ययुगदेखि नै अत्यन्त पवित्रस्थल मानिँदै आएको छ । सत्ययुगमा देवताहरू यहीँ आएर स्नान, सन्ध्या र यज्ञ यागादि गर्ने थलो भएकोले नै यो स्थान वा घाटको नाम देवघाट रहन गएको हो । यो स्थान तनहुँ जिल्लामा पर्दछ । पौराणिक कथनअनुसार यो देवघाटधाम संसारको सर्वोत्तम धाम हो । यो क्षेत्र वेदव्यास, बशिष्ठ, वाल्मीकी आदि ५० औँ ऋषि महर्षि र सीताजी समेतको तपोभूमि पनि हो । यो भूमि ब्रह्मा, विष्णु, महेश्वर आदि देव र देवीहरूको विचरणस्थलसँगै आर्यावर्त क्षेत्रको मूलस्थान पनि हो । नेपालमा रहेका विभिन्न तीर्थस्थल र देवताहरू अवतरित हुने र विचरण गर्ने स्थल पनि भएकोले यो देश देवभूमि पनि हो ।

यसैगरी पूर्वी नेपालको अरुण नदी जसको किनारमा जामुनाको जङ्गल रहेको छ । यी नै जामुनाका फल नदीमा झरेर स्वादिष्ट भएको जल पान गर्दै विचरण गर्ने देवताहरूले यसै ठाउँमा बसी जाम्बुनद नामक सुन निर्माण गरेर लगाउने गरेका थिए भन्ने कुरा श्रीमद्देवीभागबत पुराणमा उल्लेख भएको छ जस्तै—“जाम्बुनद सुवर्णञ्च प्रोक्तं देव विनिर्मितम् इत्यादि” अर्थात् देवताहरूले बनाएको सुनलाई जाम्बुनदसुन भनिन्छ । धेरै समय पछिसम्म पनि उक्त नदीका किनारमा त्यही जाम्बुनदसुनका अवशेष प्राप्त गर्ने गर्थे भन्ने किम्वदन्ति छ । अतः उक्त नदीलाई जम्बुफल र देवगणद्वारा निर्र्मित सुनका कारणले पनि प्राचीन कालदेखि नै जम्बुनदी भन्ने गरिएको थियो । यसैजम्बुनदीको नामबाट षट्द्वीपमध्येको सबभन्दा ठूलो र सर्वोत्तम मानिने सृष्टिको पहिलो मुहान जम्बुद्वीपको नामकरण भएको हो भन्ने भनाइ छ । प्रायः संसारका धेरैजसो आर्य जातिका मानिसहरूले यसै द्वीपमा बसोबास गर्ने हुनाले यसलाई आर्यभूमि पनि भनिन्छ ।

संसारकै सर्वोच्च शिखर सगरमाथासहित विश्वमा रहेका १५वटा उच्च हिम श्रृङ्खलामध्ये ९० प्रतिशत नेपालमै छन् भने नेपालको पूृर्व–पश्चिम सीमा क्षेत्रभित्र रहेको सम्पूर्ण भू–भागमध्ये उत्तरतर्फको करिब १५ प्रतिशत जमिन हिमाच्छादित पर्वत मालाले सुशोभित भइरहेको छ । यहीँ हिमालय क्षेत्रमा रहेका विभिन्न तालहरू र हिउँ पग्लेर बनेका जलधाराहरूबाट निर्मित नदीनालाहरू, मध्यपहाडीक्षेत्रमा रहेका रारा, फेवा आदि गरिएका बीसौंँ तालहरू र तराईमा रहेका विभिन्न ताल र सिमसार क्षेत्रहरूका कारण यो देश संसारमा जलश्रोतको दोस्रो धनी भनेर चिनिन्छ । यीनै हिमशृङ्खलाहरूको अर्को नाम कैलाश पर्वत हो । यहीँ भगवान शिव–पार्वतीको बासस्थान हो भने अधिकांश देवताहरू र ऋषिमुनिहरूको तपस्थल पनि हो । त्यसैले यो देश महर्षिहरूको तपोभूमिसँंगै साधनाभूमि पनि हो ।

Loading...