visit-nepal

च्याम्पियन्स लिग : रोनाल्डो र हिगुइनको गोलमा युभेन्टसको जित

विराटनगर, २६ मंसिर । युरोपियन च्याम्पियन्स लिगअन्तर्गत उपाधि दाबेदार टोली युभेन्टसले जित निकालेको छ । बुधबार भएको समूह चरणको अन्तिम खेलमा इटालियन क्लब युभेन्टसले जर्मन क्लब बायर लिभरकुसेनविरुद्ध २–० गोलको जित निकालेको हो ।

बायरकै घरेलु मैदानमा भएको उक्त खेलमा युभेन्टसलाई जिताउन स्टार खेलाडी क्रिस्टियानो रोनाल्डो र गोन्जालो हिगुइनले समान एक–एक गोल गरे । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको उक्त खेलको दोस्रो हाफमा रोनाल्डोले युभेन्टसलाई सुरुआती अग्रता दिलाएका थिए । उनले ७५औं मिनेटमा पाउलो डेबालाको पासमा गोल गर्दै युभेन्टसलाई १–० गोलको अग्रता दिलाए । यस्तै खेलको इन्जुरी समयमा हिगुइनले गोल गर्दै युभेन्टसलाई २–० गोलको जित दिलाए ।

यससँगै समूह ‘डी’को युभेन्टसले समूह चरणका ६ खेलबाट १६ अंक बनाएको छ । यसअघि नै समूह विजेता बनेर अन्तिम १६ मा प्रवेश गरिसकेको ऊ च्याम्पियन्स लिगमा अपराजित छ । यता, बायर भने च्याम्पियन्स लिगको समूह चरणबाटै आउट भएको छ ।

Loading...