नक्कली ऋणी बनाएर लघुवित्तको झण्डै दुई करोड हिनामिना, सातजनाबिरुद्ध मुद्दा दायर

विराटनगर २५ मंसिर । नाडेप लघुवित्तका कर्मचारीले झण्डी दुई करोड रुपैयाँ हिनामिना गरेका छन् । धादिङ केन्द्रीय कार्यालय रहेको लघुवित्तको विराटनगर शाखा नम्बर ०२१ र ०२४ बाट १ करोड ९३ लाख २६ हजार १ सय १९ रुपैयाँ हिनामिना भएको हो ।

लघुवित्तको शाखा कार्यालयका प्रमुखसहित सात जना कर्मचारीको संलग्नतामा फर्जी सदस्य खडा गरेर १ करोड ९३ लाख हिनामिना गरेको खुलेपछि प्रहरीले सातजना विरुद्ध बैंकिङ कसुर अन्तरगत मुद्दा दर्ता गरेको छ ।

फर्जी ऋणी खडा गरेर तत्कालिन विराटनगर शाखा प्रमुख बाराका ५२ वर्षीय विजयचन्द्र प्रसाद, रङ्गेली नगरपालिका १ का ३९ वर्षीय इन्द्रमणि बस्नेत, लेखा सहायक अधिकृत विराटनगरका ३ का ४७ वर्षीय नारायण खराल, सोही ठाउँकी ३२ वर्षीया लुना पराजुली, फिल्ड सहायक विराटनगर– १ का ३५ वर्षीय दिपक भट्टराई, लघुवित्त विराटनगर शाखाका २१ नम्बर केन्द्र प्रमुख विराटनगर १४ की ४५ वर्षीया मन्जुलादेवी यादव र २४ नम्बर केन्द्र प्रमुख सोही ठाउँकी ४९ वर्षीया बेबीकुमारी यादवलाई बैकिङ कसुर अन्तरगत मुद्दा दायर गरेको हो । मुद्दा दायर गरिएका मध्ये पाँच जना फरार छन् ।

लेखा साहयक अधिकृत नारायण खराल र लेखा साहायक अधिकृत लुना पराजुलीलाई २१ कात्तिकमा प्रहरीले पक्राउ गरेको थियो । सातजनाले नाडेप लघुवित्तय संस्थाको केन्द्र नं. २१ बाट ८७ लाख २५ हजार २ सय २३ रुपैयाँ र केन्द्र नं. २४ बाट १ करोड ५ लाख ९७ हजार ८ सय ९६ रुपैयाँ अपचलन गरेको अनुसन्धानबाट खुलेको थियो ।

प्रहरीले पक्राउ गरेको सहायक लेखा अधिकृत पराजुली र खराललाई ‘बैकिङ्ग कुसर’ मुद्दामा अनुसन्धान गरेको थियो । अनुसन्धानपछि शाखा प्रमुख सहित ५ जनालाई फरार र पक्राउ परि हिरासतमा रहेका दुई जना गरि ७ जनालाई मुद्दा दर्ता गरेको थियो ।

मंगलबार उच्च अदालतको बाणिज्य इजलासमा न्यायधिशद्वय लेखनाथ घिमिरे र महेश शर्माको संयुक्त इजालसले पराजुली र खराललाई जनही १५÷१५ लाख धरौटीमा छोडन आदेश दिएको छ ।

नाडेपको केन्द्रीय कार्यालयमा गरेको उजुरीका आधारमा छानविनपछिको निष्कर्षसहित नाडेपका प्रमुख कार्याकारी अधिकृत उपेन्द्रबहादुर कार्कीले जिल्ला प्रहरी कार्यालय मोरङमा जाहेरी दिएका थिए ।

Loading...