साग सफल र ऐतिहासिक : प्रधानमन्त्री ओली

काठमाडौं २४ मंसिर । प्रधानमन्त्री केपी शर्मा ओलीले १३औँ दक्षिण एशियाली खेलकूद (साग) प्रतियोगिता सफलतापूर्वक सम्पन्न भएको बताएका छन् ।

उनले साग सफल भएकोमा खेलाडी, खेलप्रेमीलगायत सबैलाई शुभकामना समेत दिए । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा भव्य समापन समारोहलाई भिडियो कन्फरेन्समार्फत सम्बोधन गर्दै प्रधानमन्त्रीले साग प्रतियोगिता सफलतापूर्वक सम्पन्न भएकामा खुशी व्यक्त गरे ।

यस पटकको खेलमा पहिले कहिलेभन्दा बढी खेलाडीको सहभागिता, पहिलेभन्दा बढी खेलहरु समावेश भएको उल्लेख गर्दै उनले पहिलेभन्दा साग प्रतियोगिता सफल र ऐतिहासिक रहेको बताए ।

प्रधानमन्त्री ओलीले दक्षिण एशियाली खेलकूदले दक्षिण एशियाली देश र जनताका बीचमा एकता र मित्रता अभिवृद्धि गर्ने कुराको अपेक्षा गरिएकामा त्यो अपेक्षा यस पटकको तेह्रौँ दक्षिण एशियाली खेलकूदले अत्यन्तै सफलतापूर्वक पूरा गरेको बताए । उनले संलग्न सबै पक्षलाई सफल आयोजना र खेलका निम्ति बधाई ज्ञापन गर्दै धन्यवाद दिए ।

Loading...