वसन्तपुरको युमा संग्राहलयको उद्घाटन, चोलुङ पार्कमा ४ दिनको बृहत मेला आयोजना हुँदै

सवीन घिमिरे
वसन्तपुर, २४ मंसिर । नेपालको रमणीय पर्यटकीयस्थल तेह्रथुमको वसन्तपुरमा अवस्थित चोलुङ पार्कमा बनेको युमा संग्राहलयको उद्घाटन आगामी ५ पुसमा हुने भएको छ । लालिगुराँस नगरपालिकाको सहयोगमा निर्माण गरिएको ‘चोलुङ’ पार्कमा अवस्थित यस संग्राहलयको उद्घाटन नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्वकुलपति तिलविक्रम नेम्बाङ्ग (बैरागी काइँला) को वाहुलीबाट हुन लागेको लालीगुराँस नगरपालिकाको प्रमुख अर्जुन माबुहाङ्गले जानकारी दिए ।

उनका अनुसार सो दिन नेम्बाङ्गले अओना (वास्तु ) पूजा गरेर यसको उद्घाटन गर्ने छन् । सो दिन संग्राहलयको घर पैचो हुने जसको लागि ५०–६० वटा च्याब्रुङ्ग नृत्य प्रदर्शन साथै प्रतिस्पर्धा गराइने प्रमुख माबुहाङ्गले बताए । त्यसका साथसाथै उक्त दिन छेलो हान्ने, हाम फाल्ने, धाननाच जस्ता प्रतियोगिता आयोजना गरिनेछ ।

यस अवसरमा लालीगुराँस नगरपालिकाले चोलुङ पार्कमा  ४ दिनको महोत्सव आयोजना गरेको छ । उक्त महोत्सवमा विभिन्न राष्ट्रिय कलाकारहरूको प्रस्तुति रहनुका साथै विभिन्न खेलहरू र स्टलहरू राखिने छन् । यस महोत्सवमा देश तथा विदेशबाट पनि हजारौँको संख्यामा पर्यटकहरू यहाँ उपस्थित हुने विश्वास गरिएको छ ।

युमा संग्रहालयमा लिम्बू जातिको आदिम सभ्यताहरू प्रतिबिम्बित हुने र यसलाई अवलोकन र अध्ययन गर्न नेपालका विभिन्न ठाउहरू तथा संसारका विभिन्न देशबाट मानिसहरू आउने हुँदा यहाँबाट उठेको रकम लालीगुराँस नगरपालिकाको हित र विकासको लागि प्रयोग गरिने प्रतिवद्धता रहेको नगर प्रमुख माबुहाङ्गले जानकारी दिए । चोलुङ पार्कले यस क्षेत्रको पर्यटन प्रवर्धनमा महत्वपूर्ण योगदान पु¥याउने विश्वास रहेको उनले बताए ।

Loading...