सुत्केरीको मृत्युपछि नाेवेल मेडिकल कलेजमा प्रदर्शन, प्रहरीकाे बल प्रयाेग

विराटनगर, २२ मंसिर । उपचारमा लापरवाही हुँदा सुत्केरीको मृत्यु भएको भन्दै आफन्तले विराटनगर स्थित नोवेल मेडिकल कलेजमा नाराबाजी गरेका छन् ।

शुक्रबार दिउँसो प्रसूतिका लागि भर्ना भएकी मोरङको लेटाङ नगरपालिका ६ की २८ वर्षीया जानुका श्रेष्ठको उपचारकै क्रममा शनिबार मृत्यु भएपछि आफन्तले आइतबार दिनभर विराटनगर ४ स्थित नोवेल मेडिकल कलेज अस्पताल घेराउ गरी नाराबाजी गरेका हुन् ।

शुक्रबार भर्ना भएकी जानुकाको साँझ १० बजे अप्रेशन भएको थियो । उनले छोरा जन्माएकी थिइन् । तर अप्रेसनपछि उनलाई अत्यधिक पिडा भएको थियो । त्यसबारे पटक पटक जानकारी गराउँदा पनि डाक्टरले हेरचाह गर्न वेवास्ता गर्दा उनको मृत्यु भएको आफन्तको आरोप छ ।

अप्रेसनमा लापरवाही भएकोले सुत्केरीको मृत्यु भएको भन्दै आफन्तले उपचारमा संलग्न डाक्टरलाई कारवाहीको माग गरेका छन् । लेटाङबाट आएका एक सय बढी आफन्त तथा छिमेकीले दिनभर अस्पताल घेराउ गरेपछि नोवेल प्रशासनले प्रहरीसँग गुहार मागेको थियो ।

प्रहरीले घेराउ गर्नेहरुलाई सामान्य बल प्रयोग गरेर साँझ अस्पताल बाहिर निकालेको छ । उपचारमा लापरवाही गर्ने चिकित्सकलाई कारवाही नगरेसम्म संघर्ष जारी राख्ने र कानुनी कारवाहीमा जाने आफन्तले बताएका छन् ।

Loading...