ग्यास लिक प्रकरण : दाहालको मृत्यु शंकास्पद

विराटनगर, २२ मंसिर । आइतबार बिहान आफ्नै घरमा मृत अवस्थामा भेटिएका जयप्रसाद दाहालको मृत्यु शंकास्पद भएको प्रहरीले बताएको छ । शनिबार साँझ विराटनगर– २ शनिहाट स्थित घरमा एक्लै बसेका ७४ वर्षीय दाहाल आइतबार बिहान आधा शरिर जलेको अवस्थामा मृत भेटिएका थिए ।

दाहालको घाँटीमा गहिरो चोट देखिएका कारण घटना शंकास्पद भएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी उपरीक्षक विश्व अधिकारीले बताए । शनिबार दिउँसो कामाडौंबाट विराटनगर आएका दाहाल साँझ राधेश्याम दराकको घरमा खाना खाएर घर आएका थिए । राधेश्यामले दाहालको  घरमा भाडामा प्रयोग गर्दै आएका थिए । दाहालले घर बिक्री गर्ने बताएपछि उनले केही दिनअघि मात्र घर खाली गराएका थिए ।

शनिबार आफ्नै घरमा खाना खाएर फर्किएका दाहाललाई आइतबार बिहान भेट्न आउँदा ढोका नखोलेपछि छिमेकीलाई बोलाएर ढोका खोल्दा मृत भेटिएको राधेश्यामले प्रहरीसमक्ष बयान दिएका छन् । काठमाडौं बसोबास गर्दै आएका दाहाल शनिबार विराटनगर आएका थिए । कटहरीमा रहेको खेती र विराटनगरको घर बिक्रीका लागि आएको बताइएको छ ।

आधा जलेको शरिरमा चोट पटक भएका कारण दुर्घटना नभइ हत्या भएको हुनसक्ने प्रहरीले बताएको छ । घटनास्थल नजिकै चक्कु भेटिएको छ । भान्सा कोठा नजिकै रहेको कोठामा सुतेका दाहालको ओछ्यान नजिकै ग्यासको सिलिण्डर लिक भएर जलेको अवस्थामा भेटिनुले पनि घटना शंकास्पद देखिएको अधिकारीले बताए ।

Loading...