visit-nepal

विराटनगर बाल सुधारगृहभित्र विद्यालयको बिजोग

विराटनगर, २२ मंसिर । विराटनगरस्थित बाल सुधारगृहभित्र रहेको विद्यालय बिजोग अवस्थामा सञ्चालन भइरहेको छ । बाल बिज्याइँको आरोपमा कैदीबन्दी रहेका बालकहरूलाई पढाउन स्थापना भएको विराटनगरस्थित सुधारगृहभित्र रहेको माध्यमिक विद्यालय बिजोग अवस्थाले सञ्चालन भइरहेको हो ।

विद्यालयमा भौतिक पूर्वाधार, शैक्षिक सामग्री, शिक्षक कर्मचारी, पाठयपुस्तक सबैको चरम अभाव छ । सुधारगृहभित्र रहेको विद्यालयमा कक्षा ५ देखि १२ सम्मका विद्यार्थीलाई पढाउने जम्मा दुई जना मात्र शिक्षक छन् । विद्यालयमा कर्मचारी एक जना पनि छैनन् । विद्यालयको न त अफिस छ न त विद्यार्थीलाई पाठयपुस्तक र कापी कलम नै । जेनेतन जुटाएका पायठपुस्तकहरूको सहयोगमा शिक्षकहरूले पढाउँदै आएका छन् । विद्यालयमा विद्यार्थीहरू सबै भुइँमा बसेर पढ्ने गर्छन् । विद्यालयमा भएका तीन वटा कक्षा कोठा पनि अति नै साँघुरा छन् । विद्यार्थी कोचमकोच भुइँमा बसेर पढ्ने भएकोले शिक्षकहरूले हिँडडुल पनि गर्न पनि पाउँदैनन् ।

कक्षा कोठा, शिक्षक अनि शैक्षिक सामग्री र पाठयपुस्तक अभावले पठनपाठनमा अति गाह्रो भइरहेको शिक्षक कृष्णराज चौधरी बताउँछन् । उनका अनुसार शिक्षक नभएकोले साना कक्षाका विद्यार्थी पढाउन सुधारगृहभित्रै कैदीबन्दी रहेका बालकहरूबाट सहयोग लिने गरिएको छ । विद्यालयमा नेपाली, गणित, अंग्रेजी र विज्ञान पढाउने शिक्षक नै छैनन् । सबै विषयगत शिक्षक नभएकोले विद्यालयमा पाठयक्रमअनुसार पढाइ हुन पाएको छैन । नियुक्त भएका दुई जना शिक्षकहरूले नै जेनतेन जम्मा चारवटा विषयलाई फोकस गरेर पढाउँदै आएका छन् ।

सामुदायिक विद्यालयको स्वीकृती पायो तर सुबिधा पाएकै छैन

सुधारगृहभित्र हाल १ सय ५२ जना बालकहरू कैदीबन्दी छन् । तीमध्ये १ सय ३२ जना नियमित विद्यालयमा पढिरेहका छन् । कक्षा ५ मा पढ्ने विद्यार्थी सबैभन्दा बढी हुने गरेका छन् । यसैगरी एसईई र कक्षा ११ र १२ को परीक्षा दिने विद्यार्थीहरू पनि मनग्गे हुने गर्दछन् । पढ्ने कक्षा कोठाको अभावमा विद्यार्थीहरूलाई चौरमा राखेर पढाउन थालिएको छ ।

शिक्षकहरूका अनुसार सुधारगृहभित्र भएको विद्यालयले सामुदायिक विद्यालयको अनुमति यसै वर्षबाट प्राप्त गरेको छ । तर पाठयपुस्तक, शैक्षिक सामग्री, पोशाक र छात्रवृत्तिबापतको रकम भने पाउन थालेको छैन । न त शिक्षक र कर्मचारीको दरबन्दी नै प्राप्त गरेको छ । कापी कलम, पाठयपुस्तक र केही शैक्षिक साम्रागीका लागि महानगरपालिकालाई आग्रह गरेको तर प्राप्त भइनसकेको शिक्षिका फुलमाया प्रसाइँले बताइन् ।

व्यवस्थापन समिति नहुँदा हेरचाहमा समस्या

विद्यालयमा व्यवस्थापन समिति नहुँदा रेखदेख र संरक्षणमा समस्या भइरहेको छ । पहिले विद्यालयलाई बाल सुधारगृह व्यवस्थापनको जिम्मा लिएको युसेफ नेपाल नामको गैरसरकारी संस्थाले जेनेतेन सञ्चालन गराउँदै आएको थियो । हाल विद्यालयलाई सरकारले स्वीकृति दिइसकेकोले उसले संरक्षण गर्न छाडिदिएको छ । युसेफको विराटनगर सुधारगृह इन्र्चाज मिलन चौहानले अझै पनि एक जना शिक्षक र केही शैक्षिक सामग्री सहयोग गरिेरहेको बताए ।

विद्यालयमा पढाइ गुणस्तरीय बनाए बाल कैदीबन्दीमा सुधार

बाल सुधारगृहभित्र बालबिज्याइ (बाल अपराध) गरेर पूर्पक्षका लागि र सजाय भुक्तान गर्न आएका बालकहरू मात्र बस्दछन् । बाहिर जान नपाउने र अन्य कुनै सीपमूलक तालिम पनि नभएकोले उनीहरू दिनभरि विद्यालयवरिपरि नै हुन्छन् । तर विद्यालयको अवस्था दयनीय हुँदा उनीहरूको आवश्यकताअनुसार गुणस्तरीय पठनपाठन हुन पाएको छैन । तर विद्यालयलाई सम्पन्न बनाएर गुणस्तरीय पठनपाठन गराउन सके सुधारगृहका बालकहरूको शैक्षिकस्तर राम्रो हुने र उनीहरूको आँचरण व्यवहारमा पनि साँच्चै सुधार आउन सक्ने शिक्षकहरू बताउँछन् ।

कक्षा ११ को परीक्षा दिनबाट बञ्चित

विद्यालयमा कम्तीमा ७ दिन हाजिर नभएमा परीक्षा दिन नपाउने नीति लागू भएपछि विराटनगरस्थित बालसुधार गृहका २० जना विद्यार्थीले गत वर्ष कक्षा ११ को परीक्षा दिन पाएनन् । सुधारगृहमा रहेका विद्यार्थीहरूले परीक्षा फर्म र रजिष्ट्रेशन फारम तोकिएको शुल्क बुझाएर भरेपनि स्वीकृतिप्राप्त विद्यालयमा ७० दिन हाजिर भएको प्रमाण बुझाउन नसक्दा कक्षा ११ को परीक्षा दिनबाट बञ्चित भएका हुन् । सुधारगृहभित्र रहेको विद्यालय २०७० सालदेखि स्वीकृतिबिनै युसेफ नेपालको संरक्षणमा सञ्चालन हुँदै आइरहेको थियो ।

Loading...