भुटानले भन्यो : ‘नेपालसँग फाइनलमा खेल्न गाह्रो हुन्छ’

काठमाडौं, २२ मंसिर । भुटानका प्रशिक्षक पेमाले नेपालसँग फाइनल खेल्न गाह्रो हुने बताएका छन् । शनिबार दशरथ रंगशालामा श्रीलंकाविरुद्व प्रभावशाली जित निकालेपछि पत्रकारसँग कुरा गर्दै भुटानी राष्ट्रिय यू–२३ टिमका प्रशिक्षक पेमाले यस्तो बताएका हुन् ।

१३औं दक्षिण एशियाली खेलकूद (साग)अन्तर्गत भुटान श्रीलंकालाई ३–० गोलले हराउँदै फाइनल नजिक पुगेको हो । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा शनिबार भएको दोस्रो खेलमा जित निकाल्दै भूटान स्वर्ण पदक नजिक पुगेको हो ।

भूटान पहिलोपटक साग फुटबलको फाइनलमा पुगेको हो । यसअघिका सागमा भूटान समूह चरणबाटै बाहिरिँदै आएको थियो । आइतबार हुने नेपाल र बंगलादेशबीचको खेलको विजेतासँग भूटानले स्वर्ण पदकका लागि फाइनल खेल्नेछ । चार खेलमा नौ अंक जोड्दै भूटान शीर्षस्थानमा रहेको छ ।

आज फाइनल प्रवेशका लागि नेपाल र बंगलादेशले खेल्दैछन् । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने समूह चरणको खेलमा नेपाल र बंगलादेशले प्रतिस्पर्धा गर्दैछन् । नेपाल र बंगलादेशबीचको खेल साढे ५ बजे सुरु हुनेछ ।

यस खेलमा नेपाल साग फुटबलको फाइनल प्रवेश गर्ने दाउमा छ । नेपाललाई फाइनल पुग्न बराबरी नै पर्याप्त हुनेछ । यता, नेपालको प्रतिद्वन्द्वी बंगलादेशलाई भने फाइनल पुग्न जितको विकल्प छैन । यद्यपि, बंगलादेशले नेपाललाई हराएमा ‘हेड टू हेड’का आधारमा बंगलादेश फाइनलमा पुग्नेछ ।

नेपाल र बंगलादेश बीचको विजेताले सागको स्वर्ण पदका लागि भुटानसँग खेल्नेछन् । नेपालसँग मात्रै पराजित भुटान भने फाइनलमा पुगिसकेको छ । ऊ ४ खेलबाट ९ अंकसहित फाइनल पुग्ने पहिलो टोली बनेको हो । नेपालको ७ अंक छ भने बंगलादेशको ४ अंक रहेको छ ।

श्रीलंकाविरुद्ध जित निकालेपछि सञ्चारकर्मीसंग मुख्य प्रशिक्षक पेमाले नेपालसँग फाइनलमा नपरे आफूहरूको दिन सुखद् हुने सुनाए । उनले भने, ‘नेपालसँग फाइनल खेल्न चाहदैनौं । मेरो विचारमा बंगलादेश फाइनल पुगोस् । नेपालसँग फाइनल खेल्न गाह्रो हुन्छ । यदि नेपाल फाइनल पुगेन भने नेपालीहरूले हामीलाई समर्थन गर्नुहुन्छ । त्यसैले हामी चाहन्छौं, बंगलादेश फाइनल पुगोस् ।’

उनले थपे, ‘पहिलो पटक फुटबल इतिहासमा फाइनलमा पुग्दा खुसी भयौँ । केटाहरूले राम्रो खेले । फाइनल पुग्दा खुसीनै लाग्छ । भुटानको फुटबलको सबैभन्दा राम्रो क्षण हो । केटाहरू पनि रोइरहेका थिए ।’

भूटानका लागि खेलको १९औँ मिनेटमा छिमी दोर्जीले पहिलो गोल गरेका थिए । यस्तै खेलको ६१औँ मिनेटमा दावा छिरिङले दोस्रो गोल गरे । खेलको ८०औँ मिनेटमा एशी दोर्जीले गोल गर्दै भूटानलाई ३–० को स्थितिमा पु¥याए ।

Loading...