visit-nepal

औषधि व्यवसायी संघ मोरङमा लक्ष्मीप्रसादको नेतृत्त्व

विराटनगर, २२ मंसिर । नेपाल औषधि व्यवसायी संघ मोरङको अध्यक्षमा लक्ष्मीप्रसाद तिम्सिना समूहले नेतृत्त्व पाएको छ । शुक्रबार सम्पन्न प्रथम जिल्ला अधिवेशनको शनिवार सार्वजनिक मत परिणामअनुसार तिम्सिनाले प्रतिस्पर्धी निवर्तमान कोशी शाखाका महासचिव हरिमोहन श्रेष्ठलाई २८ मतान्तरले पराजित गर्दै मोरङको अध्यक्ष पदको नेतृत्व पाएका हुन् ।

विजयी अध्यक्ष तिम्सिनाले १ सय ८६ मत प्राप्त गरे । निकटतम प्रतिद्वन्द्वी श्रेष्ठले १ सय ५८ मत पाए । अध्यक्ष पदमा स्वतन्त्र उम्मेदवार दिएका यतिश श्रीवास्तवले ८६ मत प्राप्त गरेका छन् । जिल्ला कार्य समितिको नौ पदका लागि भएको निर्वाचनमा तिम्सिना र श्रेष्ठले आ–आफ्नो प्यानल बनाएर उम्मेदवारी दिएका थिए ।

तिम्सिना समूहबाट उपाध्यक्षमा नेपाल औषधि संचालक संघ, केन्द्रीय तदर्थ समितिका संयोजक देशबन्धु ढकाल महासचिवमा दिनेश ठाकुर, सचिवमा हरिराज रेग्मी, सह–कोषाध्यक्षमा पुष्पराज पोखरेल र सदस्यहरूमा अनिलकुमार चौधरी, प्रकाश धिमाल विजयी भए । श्रेष्ठ समूहबाट कोषाध्यक्षमा विजयकुमार राजवंशी र सदस्य सरिता चौधरी विजयी भए ।

मोरङका कूल ५ सय २१ जना औषधि व्यवसायी मतदाताहरूमध्ये ४ सय ६२ जनाले मतदानमा भाग लिएका थिए ।

Loading...