नेपाल र बंगलादेश भिड्दै, फाइनल पुग्नका बराबरी नै पर्याप्त

काठमाडौं, २२ मंसिर । नेपालमा तेस्रो पटक भइरहेको दक्षिण एसियाली खेलकुद (साग)को पुरुष फुटबलअन्तर्गत आज नेपालले बंगलादेशसँग खेल्दैछ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने समूह चरणको खेलमा नेपाल र बंगलादेशले प्रतिस्पर्धा गर्दैछन् ।

नेपाल र बंगलादेशबीचको खेल साढे ५ बजे सुरु हुनेछ । यस खेलमा नेपाल साग फुटबलको फाइनल प्रवेश गर्ने दाउमा छ । नेपाललाई फाइनल पुग्न बराबरी नै पर्याप्त हुनेछ । यता, नेपालको प्रतिद्वन्द्वी बंगलादेशलाई भने फाइनल पुग्न जितको विकल्प छैन ।

यद्यपि, बंगलादेशले नेपाललाई हराएमा ‘हेड टू हेड’का आधारमा बंगलादेश फाइनलमा पुग्नेछ । नेपाल र बंगलादेश बीचको विजेताले सागको स्वर्ण पदका लागि भुटानसँग खेल्नेछन् ।
नेपालसँग मात्रै पराजित भुटान भने फाइनलमा पुगिसकेको छ । ऊ ४ खेलबाट ९ अंकसहित फाइनल पुग्ने पहिलो टोली बनेको हो । नेपालको ७ अंक छ भने बंगलादेशको ४ अंक रहेको छ । श्रीलंका र माल्दिभ्ससँग भने समान २–२ अंक रहेको छ ।

माल्दिभ्सको स्वर्ण पदक जित्ने सम्भावना भने समाप्त भएको छ । शनिबार भएको खेलमा नेपालले माल्दिभ्सलाई पराजित गरेको थियो । नेपालले माल्दिभ्सलाई २–१ गोल अन्तरले पराजित गर्दै फाइनलमा पुग्ने सम्भावनालाई कायमै राखेको थियो ।

Loading...