visit-nepal

भोजपुर टक्सार सडक समय अघि नै बन्ने

भोजपुर २२ मंसिर । भोजपुर–टक्सार सडक कालोपत्रको काम समय अघि नै सम्पन्न हुने भएको छ । सुरु भएको ७ महिनामा ५० प्रतिशतभन्दा बढी काम भएपछि छिटै बन्ने आशा बढेको हो ।

भोजपुर सदरमुकामबाट टक्सार विमानस्थलसम्मको यो सडकखण्ड कालोपत्र १८ महिनामा सक्नुपर्ने सम्झौता भएको थियो । सात महिनामै ५० प्रतिशतभन्दा बढी काम सम्पन्न भएको पूर्वाधार विकास कार्यालय भोजपुरले जानकारी दिएको छ । कार्यालयका अनुसार बाटो चौडा गर्ने काम सम्पन्न भइसकेको छ ।

कार्यालय प्रमुख राजनराज रेड्डीले यसलाई निर्धारित समयभन्दा अगाडि सक्ने तयारीका साथ काम गरिरहेको बताए । प्रदेश सरकारअन्तर्गत पूर्वाधार विकास कार्यालयले १३ करोड ५३ लाख ५८ हजार २ सय २७ रुपैयाँमा ५किलोमिटर सडक कालोपत्रको काम सुरु भएको हो ।
निर्माणको जिम्मा ठेकेदार कम्पनी रायमाझी–जगदम्बा–मार्सेली जेभीले पाएको छ । भोजपुरको एक मात्र टक्सार विमानस्थलबाट सदरमुकामसम्म आवतजावत गर्न कच्ची सडकले निकै सास्ती हुँदै आएको छ ।
सडक कालोपत्रको शिलान्यास प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले गत वैशाखमा गरेका थिए ।

Loading...