ला लिगामा मेस्सीले तोडे रोनाल्डोको रेकर्ड

एजेन्सी, २२ मंसिर । बार्सिलोनाका कप्तान तथा स्टार खेलाडी लियोनल मेस्सीले आफ्ना खास प्रतिद्वन्द्वी क्रिस्टियानो रोनाल्डोको ला लिगाको रेकर्ड तोडेका छन् । शनिबार राति भएको खेलमा ह्याट्रिक गर्दै अर्जेन्टिनी स्टार मेस्सीले रोनाल्डो रेकर्ड तोडेका हुन् ।

स्पेनिस ला लिगाअन्तर्गत साबिकको विजेता बार्सिलेनाले शानदार जित निकाल्दा मेस्सीले ह्याट्रिक गरेका थिए । शनिबार राति भएको खेलमा आरसीडी मल्लोर्काविरुद्ध ५–२ गोलान्तरको जित निकाल्दा मेस्सीले ला लिगा करिअरमा ३५औं ह्याट्रिक गरे ।

मेस्सीले खेलको १७औं मिनेटमा, ४१औं मिनेटमा र ८३औं मिनेटमा गोल गरी आफ्नो ह्याट्रिक पूरा गरे । यस ह्याट्रिकसँगै मेस्सीले रियल मड्रिडका पूर्वस्टार रोनाल्डोको ला लिगा ह्याट्रिक रेकर्ड आफ्नो नाममा गरे । रोनाल्डोले रियलबाट ९ वर्ष खेल्दा ३४औं ह्याट्रिक गरी सर्वाधिक ह्याट्रिक गर्ने खेलाडीको रेकर्ड आफ्नो नाममा राखेर युभेन्टस गएका थिए ।

तर, करिअरको सुरुआतदेखि नै ला लिगा खेलेका मेस्सीले १६ वर्षमा रोनाल्डोको बराबरी गरे । सन् २००४ देखि बार्सिलोनाबाट खेलिरहेका मेस्सीले २०१९ को अन्त्यतिर आएर रोनाल्डोको सर्वाधिक ह्याट्रिकको रेकर्ड तोड्न सफल भए । अब ला लिगाको इतिहासमा सर्वाधिक ह्याट्रिक गर्ने खेलाडीका रूपमा मेस्सी रहेका छन् । मेस्सीले ला लिगाको इतिहासमा ३५ ह्याट्रिक गरेका छन् ।

बार्सिलोनाको घरेलु मैदान क्याप नोउमा भएको उक्त खेलमा घरेलु टोलीलाई जिताउन मेस्सीबाहेक एन्टोइन ग्रिजम्यान र लुइस स्वारेजले समान एक–एक गोल गरेका थिए । बार्सिलोनाले ग्रिजम्यानको गोलबाट सुरुआती अग्रता बनाएको थियो । ग्रिजम्यानले सातौँ मिनेटमा गोल गरी बार्सालाई अग्रता दिलाउँदा ४१ औं मिनेटमा मेस्सीले गोल गरी अग्रता दोब्बर बनाए । तर, खेलको ३५औं मिनेटमा पाहुना टोलीका बुडिमिरले गोल गर्दै खेल २–१ को अवस्थामा ल्याए ।

फेरि कप्तान मेस्सीले खेलको गोल गर्दै बार्सिलोनालाई ३–१ गोलको अग्रता दिलाउँदा स्वारेजले ४३औं मिनेटमा गोल गर्दै पहिलो हाफभरि ४–१ गोलको अग्रता बनाए । यसैगरी खेलको ६४औं मिनेटमा मल्लोर्काका लागि पुनः बुडिमिरले गोल गर्दै खेलको अस्था ४–२ गोलको बनाए । तर, मेस्सीले खेलको ८३औं गोल गरेपछि बार्सिलोनाले ५–२ गोलान्तरले उक्त खेल जित्यो ।

यस जितसँगै बार्सिलोना पुनः शीर्ष स्थानमा उक्लिएको । उसले १५ खेलबाट ३४ अंक बनाएको छ । समान अंकसहित रियल मड्रिड दोस्रो स्थानमा छ । समान ३४ अंक भएको रियल गोलान्तरको आधारमा दोस्रो स्थानमा छ ।

Loading...