visit-nepal

युभेन्टसको अपराजित यात्रामा पूर्ण विराम

विराटनगर, २२ मंसिर । इटालियन क्लब युभेन्टसको अपराजित यात्रामा पूर्ण विराम लागेको छ । शनिबार राति भएको सिरी ‘ए’ अन्तर्गतको खेलमा लाजियोसँग पराजित भएपछि युभेन्टसको अपराजित यात्रामा पूर्ण विराम लागेको हो ।

यसअघि युरोपका शीर्ष पाँच लिगमा एक मात्र अपराजित टोलीको रूपमा युभेन्टस थियो । सिजनको लगभग बीचसम्म आइपुग्दासम्म उसले हार ब्यहोरेको थिएन । तर, शनिबार उसले लाजियोसँग ३–१ गोलको हार ब्यहोरेको हो ।

लाजियोकै घरेलु मैदानमा भएको उक्त खेलमा युभेन्टसले स्टार खेलाडी क्रिस्टियानो रोनाल्डोको गोलमा सुरुआती अग्रता बनाएको थियो । रोनाल्डोले खेलको २५औं मिनेटमा गोल गर्दै पाहुना टोलीलाई अग्रता दिलाए । तर, पहिलो हाफको इन्जुरी समयमा लाजियोका लुइज फेलिपे रामोस मार्चिले गोल गदै खेल बराबरीमा ल्याए ।

खेलको ६९औं मिनेटबाट युभेन्टस १० खेलाडीमा सीमित बन्यो । उसका जुआन क्वाड्राडोले रातो कार्ड खाँदै मैदानबाट बिदा लिएपछि यसको प्रत्यक्ष फाइदा लाजियोले लियो । उसले खेलको ७४औं मिनेटमा गोल गर्दै २–१ गोलको अग्रता बनायो । सर्गेज मिलिन्कोभिक–सेभिकले गोल गर्दै उसलाई अग्रता दिलाएका थिए । फेरि खेलको इन्जुरी समयमा फेलिपे काइसेडोले गोल गर्दै लाजियोलाई ३–१ गोलान्तरले जिताए ।

यससँगै लाजियो तेस्रो स्थानमा चढेको छ भने युभेन्टस दोस्रो स्थानमा छ । युभेन्टससँग ३६ अंक हुँदा लाजियोसँग ३३ अंक छ । शीर्ष स्थानमा रहेको इन्टर मिलानसँग भने ३८ अंक छ ।

Loading...