visit-nepal

अमेरिका–तालिबान वार्ता फेरी सुरु

दोहा २१ मङ्सिर । संयुक्त राज्य अमेरिका र अफगानिस्तानको विद्रोही समूह तालिबानबीच कतारको राजधानी दोहामा शुक्रबारदेखि फेरी वार्ता सुरु भएको छ ।

टोलो न्यूजले दोहामा वार्ता सुरु भएको जनाएको छ । अफगानिस्तानमा जारी हिंसा न्यूनीकरण गर्ने तथा युद्धविरामको वातावरण तयार गर्नेतर्फ वार्ता केन्द्रीत भएको छ ।

अफगानिस्तानका लागि अमेरिकी विशेषदूत जाल्मे खलिलजादले काबुलको दुई दिने भ्रमण गरेका थिए । उनले अफगान अधिकारीहरु र प्रमुख राजनीतिक नेताहरुसँग भेटघाट र छलफल गरेका थिए । उनले पूर्व राष्ट्रपति हमिद कारजाईसँग समेत भेट गर्नुभएको थियो ।

अमेरिका र तालिबानबीच दोहामा यसअघि ९ चरणमा वार्ता भएका थिए र एउटा सम्झौतामा हस्ताक्षर हुनेक्रममा एकाएक वार्ता रद्द गरिएको थियो ।

काबुलमा तालिबान समूहले गरेको आत्मघाती आक्रमणमा एक अमेरिकी सैनिक समेत केही विदेशी र अफगानीहरुको मृत्यु भएपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दुई देशबीच जारी वार्ता रद्द गरेका थिए ।

Loading...