visit-nepal

साग महिला फुटबलमा नेपाल पराजित

काठमाडौं २१ मंसिर । १३औँ दक्षिण एशियाली खेलकूद (साग) अन्तर्गत महिला फुटबलमा आयोजक नेपाल चीरपरिचित प्रतिष्पर्धी भारतसँग पराजित भएको छ । पोखरा रङ्गशालाको फुटबल मैदानमा आज लिग चरणको अन्तिम खेलमा नेपाल भारतसँग १–० गोलअन्तरले पराजित भएको हो ।

लिगको अन्तिम खेलमा स्पर्धा गरेका दुवै टोलीले एक खेलअगावै फाइनलमा स्थान बनाइसकेकाले शनिबारको खेल औपचारिकताका लागि मात्र थियो ।

समूह चरणका तीन खेल जितेको भारत नौ अङ्कसहित समूह विजेता बनेको छ । नेपाल दुई खेलमा जित र एकमा हारसँगै छ अङ्कका साथ समूह उपविजेता बन्यो । नेपाल र भारतले पुनः आगामी मङ्सिर २३ गते स्वर्ण पदकका लागि स्पर्धा गर्नेछन् ।

खेलपछिको पत्रकार सम्मेलनमा नेपाली टोलीका मुख्य प्रशिक्षक हरि खड्काले फाइनल खेलमा गल्ती कम गर्दै स्वर्णका लागि खेल्ने बताए ।

महिला फुटबलमा तेस्रो स्थानका लागि आज भएको स्पर्धामा माल्दिभ्सले २–१ गोलअन्तरले श्रीलङ्कालाई पराजित गर्दै कास्य पदक जितेको छ ।

Loading...