लघुकथा: प्रेमको तराजु


लेखक: रामप्रसाद पौडेल
“उसले मलाई रत्ति पनि माया गर्दैनथ्यो, जहिले पनि ढिलो घर आउने सँधै ‘तिमिहरुकै लागि मरिमेटेर काम गर्छु’ भन्ने !”
“तिमी मेरो जिन्दगीमा आएदेखि त बहारै बहार छ, मेरो आँखाबाट कहिल्यै ओझेल भएका छैनौ । तिम्रो सामिप्यता, तिम्रो अंगालो ! तिमी मलाई कति धेरै माया गर्छौ है ?” अटलको कुममा टाउको अड्याएर भावनामा बग्दै थिई सुजता !
अचानक उनीहरु सवार बस त्रिसुलीमा खस्यो । सबै यात्रीहरु त्रिसुलीमा बग्दै थिए । अटल धेर थोर पौडन जान्ने बाहिर निस्कन खोज्दैथ्यो । सुजताले समाउन अटलको खुट्टा भेटी । अटलले झट्कारेर सुजतालाई छुट्यायो र आफू बल्लतल्ल बाँच्यो ।
अर्को बसका यात्रीहरु आइपुगे । डुबेकाहरुलाई बचाउन थाले । सुरेशले पानीमा छट्पटाइरहेको चिनेको अनुहार ठम्याउन सकेन । पानीमा हामफालेर तानेर बाहिर ल्यायो । १५ दिन अगाडि पोइल गएकी आफ्नै श्रीमती पो रहिछ !
दैब पल्लो कुनामा बसेर सुजताप्रति अटल र सुरेशको प्रेम जोखिरहेका थिए ।
हाँडिखोला २ मकवानपुर
हाल: विराटनगर

Loading...