visit-nepal

मनमोहन पोलिटेक्निक बन्यो प्राविधिक विश्वविद्यालय

विराटनगर २० मंसिर । मोरङको बुढीगंगा गाउँपालिका ४ मा रहेको मनमोहन पोलिटेक्निक इन्स्टिच्यूट अब प्रदेश सरकार मातहतको पहिलो प्राविधिक विश्वविद्यालय बनेको छ ।

एक नम्बर प्रदेश सरकारले प्रदेश सभाबाट कानून निर्माण गरेर सबै सम्पत्ती र सञ्चालनको दायित्व जिम्मा लिएपछि मनमोहन पोलिटेक्निक अब देशकै पहिलो प्रादेशिक प्राविधिक विश्वविद्यालय बन्न पुगेको हो ।

स्वर्गीय पुर्वप्रधानमन्त्री मनमोहन अधिकारी स्मृति प्रतिष्ठानमार्फत सञ्चालन हुँदै आएको मनमोहन पोलिटेक्निक अब प्राविधिक विश्वविद्यालय बनेर एक नम्बर प्रदेश सरकार मातहत  सञ्चालन हुनेछ ।

शुक्रबार मनमोहन स्मृति प्रतिष्ठानका अध्यक्ष तथा उपप्रधानमन्त्री ईश्वर पोखरेलले औपचारिक रुपमा मनमोहन पोलीटेक्निकको सम्पत्ति र सञ्चालनको दायित्व एक नम्बर प्रदेश सरकारका समाजिक विकासमन्त्री तथा विश्वविद्यालयका सहकुलपति जीवन घिमिरलाई हस्तान्तरण गरे ।
शुक्रबार मनमोहन पोलिटेक्निक परिसरमा सम्पन्न सम्पत्ति र दायित्व हस्तान्तरण कार्यक्रममा बोल्दै मनमोहन स्मृति प्रतिष्ठानका अध्यक्ष एवं उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले मनमोहन पोलिटेक्निक अब देशकै पहिलो संघीय कानुन अनुसार सञ्चालन हुने पहिलो प्राविधिक विश्वविद्यालय भएको घोषणा गरे ।

उनले एक नम्बर प्रदेशमा झै सातवटै प्रदेशमा प्राविधिक विश्वविद्यालय खोल्ने सरकारको अभियान रहेको र थालनी भएको बताए ।
एक नम्बर प्रदेशका मुख्यमन्त्री तथा मनमोहन प्राविधिक विश्वविद्यालयका कुलपति शेरधन राईले पोलिटेक्निकलाई विश्वविद्यालयमा स्तरोन्नती गरेर आफुहरुले स्वर्गीय मनमोहन र भरतमोहन अधिकारीको सपनालाई सकार बनाउन सफल भएको बताए ।

उनका अनुसार कानुन निर्माण गरेर विश्वविद्यालय स्थापना गर्ने एक नम्बर प्रदेश नै पहिलो भएको दाबी गरे । उनले पाठ्यक्रम निर्माण गरेर अब एक बर्ष भित्रै मनमोहन विश्वविद्यालयले सार्वजनिक निजी लगानीको साझेदारीबाट प्रदेशभर प्राविधिक शिक्षाको पठनपाठन गराउन थाल्ने छ ।

मनमोहन विश्वविद्यालयका सहकुलपति तथा प्रदेश सरकारका समाजिक विकासमन्त्री जीवन घिमिरेले ७० बर्षको संघर्षपछि प्राप्त भएको संघीय गणतन्त्र नेपालको संबिधान अनुसार प्रदेश सरकारले कानुन बनाएर विश्वविद्यालय सञ्चालन गर्नु ऐतिहासिक भएको बताए ।

उनले मनमोहन पोलिटेक्निकलाई प्राविधिक विश्वविद्यालय बनाएर लोकतन्त्रमा समर्पित नेताहरु स्वर्गीय मनमोहन र भरतमोहनको नामलाई फैलाउने अवसर प्राप्त भएकोमा भन्दै खुसी व्यक्त गरे ।

२ अर्ब ६५ करोड बराबरको भौतिक सम्पत्ति एक नम्बर प्रदेश सरकारको जिम्मा

मनमोहन स्मृति प्रतिष्ठानले मोरङको बुढीगंगा गाप ४ मा रहेको मनमोहन पोलिटेक्निकको २ अर्ब ६५ करोड बराबरको भौतिक सम्पत्ति एक नम्बर प्रदेश सरकारलाई सञ्चालनको दायित्वसहित हस्तान्तरण गरेको छ ।

जसमध्ये १ अर्ब ५ करोड मुल्य बराबरको २० बिघा जमिन, ३३ करोड बराबरको ३१ वटा भवन, ७ करोड ५१ लाखको उपकरण, ३ करोड १५ लाखको फर्निचर, १ करोड ३ लाख ३२ हजारको सवारी साधन, ४७ लाखको पुस्तक, ३ करोडको पार्टपुर्जाहरु ८ करोड रुपैयाँ बराबरको नगद छ । यसैगरि हाल कार्यरत रहेका १ सय ३ जना शिक्षकपनि हस्तान्तरण भए ।

अब मनमोहन पोलिटेक्निकका नाममा रहेको बाँकी बक्यौता उठाउने र ऋण तिर्ने सम्पुर्ण जिम्मेबारी प्रदेश सरकारमा गएको छ ।
१६ असार २०६० मा भारत सरकारसँग सम्झौता भएर २०६२ देखि औपचारिक रुपमा प्राविधिक बिषय पठनपाठन हुन थालेको मनमोहन पोलिटेक्निकले हाल सिभिल इन्जिनियरिङ, आर्किटेक, ईलेक्ट्रिक लगायत बिभिन्न ६ वटा प्राविधिक बिषयमा डिप्लोमा तह संचालन भइरहेको छ ।

प्राचार्य सुभाषश्री पोखरेलका अनुसार मनमोहन पोलिटेक्निकबाट हालसम्म १४ सय ३० जनाले डिप्लोमा उत्तीर्ण गरेका छन् । उत्तिर्णमध्ये १ हजार जनाले रोजगारी प्राप्त गरिसकेका छन् ।

यहाँबाट हालसम्म ५५ सय जनाले छुट अवधि समयको सीपमुलक बिभिन्न तालिम लिइसकेका छन् । विश्वविद्यालयमा रुपान्तरित भएपछि अब थप १३ वटा बिभिन्न प्राविधिक बिषयमा पठनपाठन गराउने र पहाडी जिल्लाहरुमा साझेदारीमा आंगिक क्याम्पस संचालन गर्ने योजना छ ।

Loading...