एक नम्बर प्रदेशका मुख्य न्यायाधीवक्ता भन्छन्, ‘काम गर्न जटिल छ’

रंगेली, २० मंसिर । एक नम्बर प्रदेशका मुख्य न्यायाधीवक्ता चुडामणि आचार्यले काम गर्न अझै जटिल अवस्था रहेको बताएका छन् । शुक्रबार प्रदेश प्रमुखलाई वार्षिक प्रतिवेदन बुझाउँदै उनले संविधानमा प्रदेशको एकल अधिकार सूचिका क्षेत्रलाई पनि व्यवस्थापन गर्न नसकिएको बताए ।

प्रदेश प्रहरी, प्रदेशको फौजदारी मुद्दालगायतका विषयलाई आफ्नो क्षेत्राधिकारभित्र ल्याउन नसकिएको उनले बताए । प्रदेश सरकारले अहिले सर्वोच्च र उच्च अदालतमा ५० वटा मुद्दा खेपिरहेको उनले बताए । कानून कार्यान्वयनको शिलशिलामा मुद्दा खेप्नु परेको उनको भनाइ छ । यसले प्रदेश १ सरकारको सक्रियतालाई देखाउने उनले बताए । एक नम्बर प्रदेशको तुलनामा अन्य प्रदेशले कम मुद्दा खेपिरहेको उनले बताए ।

प्रदेश १ सरकारले खेपेको मुद्दामा प्रदेशको कानूनलाई मात्र लिएर नभएर संघ र स्थानीय तह पनि मुछिएका छन् । उनले संघीय सरकारले गरेका निर्णयमा पनि प्रदेशलाई जोडेर मुद्दा परेको बताए । गत असार मसान्तसम्मको तथ्याङकमा प्रदेश एक सरकारलाई परेका मुद्दामा १३ वटा संघसँग जोडिएको छ । ९ वटा स्थानीय तहसँग जोडिएको छ । प्रदेश १ सरकारसँग मात्र सम्बन्धित १४ वटा मुद्दा छन् ।

वार्षीक प्रतिवेदनमा कानूनको अभाव, संरचनाको समस्या, जनशक्तिको अभावलागायतको अवस्थालाई पनि उल्लेख गरिएको उनले बताए । संवैधानिक व्यवस्थाअनुसार मुख्य न्यायाधीवक्ताले प्रदेश प्रमुखलाई वार्षिक प्रतिवेदन पेश गर्नुभएको प्रदेश प्रमुख कार्यालयका निमित्त सचिव गोपी घिमिरेले बताए । प्रतिवेदन प्रदेश मन्त्रिपरिषद्को कार्यालय र त्यसपछि प्रदेशसभामा पेश हुनेछ ।

Loading...