visit-nepal

साग : पुरुष क्रिकेटमा नेपालद्वारा माल्दिभ्स पराजित, फाइनल पुग्ने सम्भावना कायमै

काठमाडौं, २० मंसिर । नेपालमा तेस्रो पटक आयोजना भएको दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत पुरुष क्रिकेटमा नेपालले दोस्रो जित निकालेको छ । शुक्रबार आफ्नो तेस्रो खेल खेलेको नेपालले माल्दिभ्सलाई ८४ रनले पराजित गरेको हो ।

किर्तिपुरस्थित त्रिवि मैदानमा १ सय ६४ रनको लक्ष्य पछ्याएको माल्दिभ्सले २० ओभारमा ६ विकेट गुमाएर ७९ रन मात्र बनयो । माल्दिभ्सका मोहमद आजमले १७ रन बनाउँदा मोहमद रिस्वानले १३ रन बनाए । यस्तै अलि इभानले ११ रन बनाउँदा अन्य खेलाडीले दोहोरो अंक बनाउन सकेनन् ।

माल्दिभ्सलाई सस्तैमा समेट्न नेपालका सुशन भारी र ललित राजवंशीले समान २–२ विकेट लिए भने पवन सर्राफले १ विकेट झारे ।

त्यसअघि टस जितेर पहिलो ब्याटिङ रोजेको नेपालले निर्धारित २० ओभरमा सात विकेट गुमाउँदै १ सय ६३ रनको योगफल बनायो । नेपालका लागि करण केसीले सर्वाधिक ४० रनको योगदान दिए । कुल १६ बल खेलेका उनले छ चक्का र दुई चौका प्रहार गर्दै अविजित ४० रनको योगदान दिएका हुन् ।

त्यसैगरी दीपेन्द्र सिंह ऐरीले ३९ रन बनाए । उनले ३६ बल खेल्दै दुई चौकाको मद्दतमा ३९ रन जोडेका हुन् । राष्ट्रिय टोलीका कप्तान ज्ञानेन्द्र मल्ल र विनोद भण्डारीले समान १९–१९ रन जोड्दा आरिफ शेखले १७, पारस खड्काले ११ तथा रोहित पौडेलले १० रन जोडे । बलिङतर्फ माल्दिभ्सका लिम शफिगले तीन तथा अमिल मौरुफले दुई विकेट हात पारे ।

यस जितसँगै साग पुरुष क्रिकेटको फाइनल पुग्ने सम्भावनालाई कायमै राखेको छ । यसअघि खेलेका दुई खेलमा नेपालले एक खेलमा जीत तथा एक खेलमा हार व्यहोरेको थियो । पहिलो खेलमा नेपाल श्रीलंकासँग पराजित भएको थियो भने दोस्रो खेलमा नेपालले भूटानलाई पराजित गरेको थियो ।

Loading...